अम्बे ग्रुपले डेढ अर्बको मोवाइल बिक्री गर्यो, स्मार्ट फोनको व्यापार विस्तारले आम्दानी झनै बढ्ने

0
Shares

ब्यवसायीक घराना अम्बे समुहको लगानीमा रहेको अम्बे मोबाइल्स प्राइभेट लिमिटेडले एक वर्षमा करिब डेढ अर्बको कारोबार गरेको छ । कम्पनीले लाभा ब्रान्डका फिचर र बजेट स्मार्ट फोनको बिक्रीबाट उक्त आम्दानी गरेको हो ।

नेपालका लागि लाभाको एक मात्र आधिकारिक बिक्रेता रहेको अम्बे मोबाइलले सन २०२२ मा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीका अनुसार यो लेखापरीक्षण हुन भन्दा अघिको हो । कम्पनीले सन् २०२१ मा भने लेखापरिक्षण पछि पनि एक अर्ब ६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी सन २०२२ को तुलनामा धेरै हो । कोरोना महामारी र लकडाउनका कारण २०२० मा कम्पनीले ७३ करोड २० लाख रुपैयाँ मात्र सञ्चालन आम्दानी गरेको थियो ।

अम्बे मोबाइलले लाभा ब्रान्डका फिचर तथा बजेट स्मार्ट फोनको आयात तथा बिक्री वितरण गर्छ । कम्पनीको कुल सञ्चालन आम्दानीमा फिचर फोनको योगदान ५६ प्रतिशत रहेको छ । तर, फिचर फोनको प्रयोग र लोकप्रियतामा कमी हुँदै जाँदा अम्बे मोबाइलको आम्दानी खासै प्रभावित भएको छैन । नेपालमा लाभा फोनका प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य रहेको हुनाले निरन्तर नाफा गर्न सफल भएको कम्पनीको दावी छ ।

देशभरी उपलब्ध इन्टरनेट सेवा तथा कोरोना महामारीमा भएको लकडाउनका कारण बर्क फ्रम होम र अनलाइन क्लासका कारण स्मार्ट फोनको प्रयोग उल्लेख्य बढेको छ । यसलाई मोबाइल आयातको तथ्याङ्कले पनि पुष्टि गर्छ । सन २०२० १८ अर्बको मोबाइल आयात भएकोमा सन् २०२१ मा शतप्रतिशतले बढेर ३६ अर्ब पुगेको थियो । उपभोक्ता स्मार्ट फोनमा रूपान्तरण हुँदै गर्दा अम्बे मोबाइल कम्पनीका लागि चासोको विषय हो ।

पछिल्लो ५ वर्षमा कम्पनीको औसत सञ्चालन आम्दानी एक अर्ब भन्दा माथि रहेको छ । सन २०१८ पछि कम्पनीको नाफामा केही कमी आएको छ । सरकारले भ्याट फिर्ता दिने सुविधा बन्द गरेपछि कम्पनीको नाफामा कमी आउन थालेको कम्पनीले जनाएको छ । पछिल्लो समयमा बढेको स्मार्ट फोनको प्रतिस्पर्धा र अवैधानिक रुपमा मोबाइलले ल्याउने क्रमले पनि कम्पनीलाई चुनौति थपेको छ ।

सन् २०१५ मा स्थापना भएको अम्बे मोबाइल सुरुवाती समयदेखि नै लाभा फोनको आधिकारिक बिक्रेता हुँदै आएको छ । अहिले अम्बे मोबाइलले नेपाल भर ४७ वटा लाभा फोनको डिलर र आधिकारिक मर्मत केन्द्र स्थापना गरेको छ ।

यसैगरी ४जी/५जी टेक्नोलोजी विस्तार हुँदै जाँदा किप्याड फोनको प्रयोग घट्दै जानु, बजारमा विभिन्न ब्रान्डका फोनहरुले स्थायित्व कायम गर्दै जानु, सानो स्केलमा सञ्चालन हुनु र नाफाको मार्जिन कम राख्नु, तरलता अभाव हुनु कम्पनीका दुर्बल पक्ष रहेका छन् । तर, पछिल्लो समयमा कम्पनी पनि बजेट स्मार्ट फोनको व्यापार लागेको हुनाले आगामी दिनको आम्दानी झनै बढेर जाने देखिन्छ।

तरपनि कम्पनीको आम्दानीबाट कर्जाको ब्याज तिर्ने क्षमता करिब ३ गुणा रहेको छ । कम्पनीको चालु पुँजी भने घटेर सञ्चालन आम्दानीको १४ प्रतिशतमा झरेको छ । त्यसैगरी कम्पनीको कर्जा पनि सञ्चालन आम्दानीको करिब ३ गुणा रहेको कम्पनीले जनाएको छ।

अम्बे मोबाइलको सम्पूर्ण इक्युुटी अम्बे ग्रुपका संस्थापक तथा अध्यक्ष शोभाकर न्यौपानेको रहेको छ । अम्बे मोबाइलले यसवर्षको लागि अल्पकालीन फन्ड बेस्ड तथा नन्–फन्ड बेस्ड कर्जाको लागि क्रेडिट रेटिङ एजेन्सी इक्राबाट ए४ प्लस रेटिङ पाएको छ । कुल ५७ करोड ऋणको लागि इक्राले उक्त रेटिङ गरेको हो ।

रेटिङ गर्ने क्रममा अम्बे मोबाइलका सबल तथा दुर्बल पक्ष दुवैलाई रेटिङ एजेन्सीले केलाएको छ । अनुभवी टीम तथा व्यवसायिक घराना प्रमोटर हुनु, नेपालका लागि लाभा फोनको एकाधिकार वितरण तथा लाभाको ब्रान्ड पहिचान पाउनु, कर्जा पुँजी र सेयर मूल्यको अनुपात कम रहेता पनि चालु पुँजीले सर्पोट गर्नु जस्ता पक्षहरु अम्बे मोबाइलका सबल पक्ष रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।