राजश्वमा ४० प्रतिशत सवारीकरको योगदान


रसुवा । भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ  सवारी साधनले ओगटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि यही असार १७ गतेसम्मको राजश्व असुली विश्लेषणका आधारमा करिब ४० प्रतिशत हिस्सा सवारी साधन करबाट मात्र प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार चालू आवको यस अवधिमा २९ अर्ब ६५ करोड ९३ लाख रुपैयाँ असुली भएको छ भने गत वर्षको साही अवधिमा  २० अर्ब २१ करोड रुपैयाँ मात्र राजश्व सङ्कलन भएको थियो ।

रसुवागढी नाकाबाट विशेषगरी जुत्ता–चप्पल, तयारी पोशाक, र नेपालमा सञ्चालित जलविद्युत् आयोजनाका सामग्री आयात हुने गरेको भन्साल कार्यालयले जनाएको छ ।

चालुआवको यस अवधिमा साना ठूला गरी ६ हजार ५०० भन्दा बढी सवाारी साधन आयात भइसकेको र चीनतर्फ ३ अर्ब रुपैयाँभन्दा बढीको सामग्री निर्यात भएको  भन्सार कार्यालयले स्पष्ट गरेको छ । भन्सार शुल्क बुझाए पनि कतिपय आयातकर्ताले सवारी साधन अहिलेसम्म नलगिदिँदा भन्सार कार्यालयको हातभित्र लामबद्धरुपमा थन्क्याएर राखिएका छन् । ठूलो लगानी गरी छिमेकी मित्रराष्ट्र चीनतर्फबाट आयात गरिएका ती सवारी साधन समयमै लगिदिन भन्सार कार्यालयले सम्बद्ध व्यवसायीसँग अनुरोध गरेको छ । यसअघिजस्तै वर्षा लागेसँगै सम्भावित बाढीपहिराका कारण रसुवागढी नाका आसपासका वस्ती जोखिमको अवस्थामा रहेको स्थानीयबासीको भनाइ छ ।

प्रकाशित मिति: १९ असार २०८२, बिहिबार  १३ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।