महङ्गी नियन्त्रण गर्न फेड आक्रामक, पाँचौ पटक ब्याजदर बढाएर ३% पुर्‍यायो

0
Shares

अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ (फेड) ले ४० वर्ष यताकै उच्च भएको मूल्यवृद्धि नियन्त्रण गर्न आक्रामक शैलीमा ब्याजदर बढाएको छ । फेडले बिहीबार पाँचौपटक औसत ब्याजदर ०.७५ प्रतिशतले वृद्धि गरी ३ प्रतिशत पुर्‍याएको हो ।

कोभिड–१९ का कारण अर्थतन्त्रमा पुग्ने असर न्यूनिकरण गर्न र मानिसहरुलाई सहज रुपमा कर्जा उपलब्ध गराई रोजगार बढाउने लक्ष्यका साथ फेडले कोभिडको समयमा ब्याजदर घटाई शून्य प्रतिशत बनाएको थियो ।

कोभिड–१९ का कारण माग र आपूर्तिबीच सन्तुलन कायम नहुँदा मुद्रास्फीति दर ऐतिहासिक रुपमा बढ्न पुगेको थियो । यता फेडले विस्तारित मौद्रिक नीति अवलम्बन गर्दा बजारमा इजी मनि फर्मेसन भएको र अनुउत्पादक क्षेत्रमा लगानी बढ्दै गएको थियो ।

कोभिड संक्रमण कम हुँदै जाँदा अर्थतन्त्र पनि सबल हुँदै थियो भने मूल्यवृद्धि आकाशिएको थियो । मूल्यवृद्धि नियन्त्रण गर्न फेडले मार्च महिनादेखि संकुचित मौद्रिक नीति अवलम्बन गर्नुका साथै आक्रामक रुपमा ब्याजदर बढाइरहेको छ ।

मार्च महिनामा ०.२५ प्रतिशतले ब्याजदर बढाएको फेडले मे मा ०.५ प्रतिशतले बढाएको थियो । औसत ब्याजदर बढाउँदा पनि महङ्गी कम नभएपछि थप आक्रामक हुँदै गएको फेडले जुन र जुलाई महिना ०.७५ प्रतिशतले ब्याजदर बढाएको थियो ।

अगस्ट महिनाको मूल्यवृद्धि दर ८.३ प्रतिशत कायमै रहेपछि फेडले तेस्रो पटक पनि ०.७५ प्रतिशतले ब्याजदर बढाएको थियो ।

यसै सम्बन्धमा फेडका अध्यक्ष जेरोम पावेलले मुद्रास्फीति नियन्त्रण गर्नका लागि ब्याजदर बढाउँदा त्यसले आर्थिक गतिविधि सुस्ताउनुका साथै जनता तथा व्यवसायीहरु मर्कामा परेता पनि आफूहरुसँग ब्याजदर बढाउने मात्रै उपाय रहेको बताएका छन् ।

मुद्रास्फीति नियन्त्रणका लागि फेडरल रिजर्भ आक्रामक शैलीमा बढेसँगै त्यसले आर्थिक मन्दी निम्त्याउने अर्थशास्त्रीहरुको भनाइ रहेको छ । फेडले पटक पटक ब्याजदर बढाउँदा पनि त्यसको प्रभाव मूल्यवृद्धि नियन्त्रणमा नदेखिएको अर्थशास्त्री जो ब्रुसेलसको भनाइ रहेको छ ।

फेडका कदमलाई नजिकबाट नियालेका उनले मुद्रास्फीति ३ प्रतिशतमा ल्याउदा बेरोजगारी दर ४.७ प्रतिशत हुने र १७ लाख बढी मानिसहरु बेरोजगार हुने बताएका छन् । यसैगरी फेडले लिएको लक्ष्य अनुसार मूल्यवृद्धि २ प्रतिशतमा ल्याउदा बेरोजगारी दर बढी ६.७ प्रतिशत हुने र ५३ लाख भन्दा धेरै मानिसहरुले रोजगारी गुमाउने बताएका छन् ।

रुस–युक्रेनबीच लम्बिदै गर्दा इन्धनको मूल्य बढ्दै जानु, आपूर्ति श्रृङ्खला अवरोध र श्रम बजार खुम्चिदै जाँदा मूल्यवृद्धि नियन्त्रणका लागि फेडले औसत ब्याजदर मात्रै बढाइराख्नु समस्या समाधानको उचित साधन नभएको अर्थशास्त्री तथा विश्लेषकहरुको भनाइ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।