१५ असारसम्म २० प्रतिशत रोपाइँ, सबैभन्दा बढी सुदूरपश्चिममा


काठमाडौँ । धान दिवसको दिन (१५ असार) सम्म देशभर कुल २०.३ प्रतिशत रोपाइँ सकिएको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म देशभरि २ लाख ८१ हजार ८०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो ।

यो वर्ष सरकारले कुल १३ लाख ९१ हजार ३२१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ४९.२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । सुदूरपश्चिममा १ लाख ७६ हजार १५१ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकामा कुल ८६ हजार ६०१ हेक्टरमा रोपाइँ सकिएको छ । कृषि मन्त्रालयकी प्रवक्ता जानुका पण्डितका अनुसार गत वर्ष मध्य असारसम्म प्रदेशको ५४.२ प्रतिशतमा रोपाइँ सकिएको थियो ।

यस्तै, कर्णाली प्रदेशमा ४० हजार ८८४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकामा १६ हजार २ हेक्टरमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ हुने क्षेत्रफलको ३९.१ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । गत वर्ष १५ असारसम्म कर्णालीमा ४७.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

यो वर्ष मध्य असारसम्म गण्डकी प्रदेशमा २८.२ प्रतिशत अर्थात् २६ हजार ५६२ हेक्टरमा रोपाइँ सकिएको छ । यो वर्ष मन्त्रालयले गण्डकी प्रदेशमा ९४ हजार १८२ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष असार १६ सम्ममा २१.९ प्रतिशत रोपाइँ सकिएको थियो ।

यस्तै, लुम्बिनी प्रदेशमा ७३ हजार ७२१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । जुुन अनुमान गरिएको क्षेत्रफलको २४.३ प्रतिशत हुन आउँछ । यो वर्ष सरकारले लुम्बिनीमा ३ लाख २ हजार ८९ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्षको यही अवधिमा प्रदेशमा २२. प्रतिशत रोपाइँ सकिएको थियो ।

यसैगरी, बाग्मती प्रदेशमा २०.५ प्रतिशत अर्थात् २४ हजार ७४३ हेक्टरमा रोपाइँ सकिएको छ । यो वर्ष प्रदेशको १ लाख २० हजार ५४५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान छ । गत वर्षको यही अवधिमा प्रदेशको १९.६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

यो वर्षको धान दिवससम्म सबैभन्दा कम मधेस प्रदेशमा ३.९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । प्रदेशमा ३ लाख ८० हजार २८३ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएकामा १४ हजार ७८५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्षको यही अवधिमा प्रदेशमा कुल ८.२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

कोसी प्रदेशमा २ लाख ७६ हजार ३८७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएकामा ३९ हजार ३९० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन अनुमान गरिएको १४.३ प्रतिशत हो । गत वर्षको यही अवधिमा प्रदेशको १३.७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो ।

प्रकाशित मिति: १५ असार २०८२, आइतबार  १८ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।