आइतबार नेप्से ४४.६२ अंकले बढ्यो

0
Shares

दसैं पछिको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक सूचक नेप्से ४४.६२ अंक बढेको छ । वृद्धिसँगै नेप्से १८९८.३८ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ८.७८ अंक बढेर ३७२.२१ बिन्दुमा पुगेको छ ।

आज २२४ कम्पनीको ८३ करोड ६८ लाख ७३ हजार १४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन १४ हजार ९९१ वटा संख्यामा भएको कारोबारबाट २५ लाख ३३ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आइतबारको कारोबारपछि कूल पूँजीकरण २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार २२२ रुपैयाँ कायम भएको छ । 

चुनावी माहोलले दसैंपछि खुलेको सेयर बजारले लगानीकर्तामा उत्साह ल्याएको हो । दसैं अघिदेखि सकारात्मक भएर बन्द भएको बजारमा आइतबार थप वृद्धिको संकेत देखिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारहरुले आइतबार मनोनयन दर्ता गराएर चुनावी माहोलमा होमिसकेका छन् । यससँगै चुनावी सरगर्मी सुरु भएको छ ।

चुनावी माहोलसँगै बजारमा पैसाको आपूर्ति बढ्ने हुँदा वित्तीय प्रणालीमा तरलता सहज हुने आंकलनका कारण पनि सेयर बजारमा वृद्धि देखिएको हो । अर्कोतर्फ गत आवको नाफाबाट धेरै कम्पनीको लाभांश घोषणा हुन बाँकी छ । धमाधम कम्पनीहरुले लाभांश घोषणा गर्दा बजारमा थप रौनकता छाउनेछ ।

आइतबार कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये सबै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये फाइनान्स सर्वाधिक ४.६९ प्रतिशत बढ्दा विकास बैंक ४.५० प्रतिशत बढेको छ । यस्तै जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य पनि २ प्रतिशतभन्दा धेरै बढेको छ ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ९.९५ प्रतिशत बढेको छ। यस्तै उपकार लघुवित्त ९.८४,गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ८.७०, मितेरी डेभलपमेन्ट बैंक ८.२३ प्रतिशत बढेको छ । एक्सेल डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, पन्चकन्या माई हाइड्रोपावर र गोर्खाज फाइनान्सको सेयरमूल्य यस दिन ७ प्रतिशतभन्दा बढी बढेको छ ।

आजको बजारमा मूल्य घटेका शीर्ष १० स्टकमध्ये ६ वटा म्युचुअल फण्ड रहेका छन् । ग्लोबल आइएमई ब्यालेस्ड फण्ड –२ को सर्वाधिक ४.४८ प्रतिशतले घटेको छ । यस्तै आरबीबी म्युचुअल फण्ड एक एक दशमलब ९७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १.९६, सिटिजन म्युचुअल फण्ड १.८३ र नबिल ब्यालेन्स फण्ड-२ का लगानीकर्ताले २.८० प्रतिशतले गुमाएका छन् । 

नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २२ करोड ६९ लाख ८१ हजार ७४४ रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । त्यस्तै नबिल बैंकको ३ करोड ५२ लाख र हिमालयन डिष्टिलरीको २ करोड ३१ लाखको सेयर कारोबार भएको छ ।

अपि पावर कम्पनी १ करोड ८९ लाख १७ हजार र शिवम् सिमेन्टको १ करोड ७७ लाख ८४ हजार २५४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार  १८ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।