अठार अर्बको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले मौद्रिक उपकरण परिचालन गरेर आज १८ अर्ब २० करोड रुपैयाँ उठाउने भएको छ ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋणको स्रोत जुटाउनका लागि केन्द्रीय बैंकले ट्रेजरी बिल प्रयोग गर्न लागेको हो । बैंकले यसअघि नै जारी गरेको ट्रेजरीको म्याद समाप्त भएकाले पुनः नवीकरण गर्न लागेको हो ।

राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको २८ दिने, ५ अर्ब २० करोड रुपैयाँको ९१ दिने, ५ अर्ब रुपैयाँको १८२ दिने र ६ अर्ब रुपैयाँ बराबरको ३६४ दिन अवधिको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । केन्द्रीय बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी कात्तिक २९ गते, ९१ दिन अवधिको माघ ३ गते, १८२ दिन अवधिको विसं २०८० बैशाख ५ गते र एक वर्ष अवधिको ट्रेजरी २०८० असोज ३० गते परिपक्व हुनेछ ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकले समेत सोमबार दिउँसो ३ बजेभित्र बोलकबोलमा सहभागि हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

यसअघि असोज २४ गते जारी ट्रेजरी बिल्समा औषतमा ९.५४७९ देखि १०.०५५७ बट्टादर (डिस्काउन्ट रेट) कायम भएको थियो । सो समयमा ५ अर्बको २८ दिन अवधिको ट्रेजरीमा बट्टादर ९.५४७९, ९१ दिन अवधिको ८ अर्बमा १०.१४२०, १८२ दिन अवधिको ४६ करोडमा १०.०६९९ र एक वर्ष अवधिको ट्रेजरीमा १०.०५५७ बट्टादर कायम भएको थियो ।

ट्रेजरी बिल एक वर्ष वा सो भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी यस बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ ।

ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्र ऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।