सरकारले आयातमा गरेको कडाई क्रमश खुकुलो पार्दै जाँदा देशको कुल विदेशी विनिमय सञ्चिति समेत घट्न थालेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार २०७९ भदौ मसान्तमा कुल विदेशी विनिमय सञ्चिति ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा झरेकाे छ ।
विसं २०७९ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेकोमा समीक्षा अवधिमा २.२ प्रतिशतले कमी आएको हो । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५१ अर्ब ५३ करोड तथा बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.७ महिनाको वस्तु तथा सेवा आयात र ९ महिनाको वस्तु आयात धान्न पर्याप्त हुनेछ ।

समीक्षा अवधिमा अमेरिकी डलरमा सञ्चिति पनि २ प्रतिशतले घटेको छ । २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड अमेरिकी डलरमा सञ्चिति रहेकोमा २०७९ भदौ मसान्तमा कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ । २०७९ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३० प्रतिशत रहेको छ ।
विसं २०७९ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनको अनुपात २४.५ प्रतिशत, कुल आयातको अनुपात ६४.६ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात २१.८ प्रतिशत रहेको छ । विसं २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया