कांग्रेसको सङ्कल्पपत्रः एक घर, एक धारा अभियान सञ्चालन गरिने

0
Shares

नेपाली कांग्रेसले एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि शनिबार सार्वजनिक गरेको पार्टीको चुनावी सङ्कल्पपत्र (घोषणापत्र) मा सबै नेपालीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्य अनुरुप एक दशकभित्र एक घर, एक धारा अभियान सञ्चालन गर्ने भएको छ ।

खानेपानी संस्थानलाई सस्तोमा बिजुली उपलब्ध गराउने, सहरलाई सफा बनाउन एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू हरेक नगरपालिकामा सञ्चालन गर्ने सङ्कल्पपत्रमा उल्लेख छ । फोहर पानी प्रशोधन केन्द्र हरेक प्रमुख सहरमा सुरु गरी घर, कारखाना तथा व्यवसायका फोहर पानी बिनाप्रशोधन सिधै नदीमा नपुग्ने व्यवस्था गरिने, ठूला सहरमा जलाशयबाट पानी आपूर्ति गर्ने र त्यो आपूर्तिलाई नियमित रूपमा प्रयोगशालामा परीक्षण गर्ने पद्धति स्थापित गर्ने जनाएको छ ।

यस्तै इन्टरनेटको पहुँच अधिकांश विद्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक भवनसम्म पुर्‍याइने र शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई इन्टरनेटको माध्यमबाट रुपान्तरण गरिने बताइएको छ । कोहलपुर, खुमलटार तथा धरानमा डाटा केन्द्र तथा बुटवलमा इन्टरनेट एक्सचेन्ज केन्द्र बनाइने घोषणापत्रमा उल्लेख छ ।

साइबर सुरक्षालाई विशेष ध्यान दिई ‘डिजिटल नेपाल’ फ्रेमवर्क लागू गरिने, सबै सरकारी सेवालाई यथाशक्य अनलाइनमा उपलब्ध गराइ जनताले लाइन लागेर सरकारी सुविधा लिनुपर्ने स्थितिको अन्त्य गरिने, हुलाक सेवाको आधुनिकीकरण गर्दै सरकारी दस्तावेज ओसारपसार गर्ने र पासपोर्ट लगायतका जनसाधारणलाई अतिआवश्यक दस्तावेजलाई घरमै पुर्‍याउने काममा हुलाकलाई प्रयोग गरिने कांग्रेसको सङ्कल्पपत्रमा उल्लेख छ ।

सातै प्रदेशमा सङ्ग्रहालय स्थापना

नेपाली कांग्रेसले सबै जातजातिको कला, संस्कृति, वेषभूषा एवं जातीय पहिचान झल्कने गरी सातवटै प्रदेशमा सांस्कृतिक सङ्ग्रहालय स्थापनालाई प्राथमिकतामा राखेको छ ।

निर्वाचनका लागि सङ्कल्पपत्र सार्वजनिक गर्दै कांग्रेसले विभिन्न जातजाति, समुदाय र भूगोलको भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत एवं इतिहास झल्कने कम्तीमा प्रदेशस्तरीय एक सङ्ग्रहालय स्थापना गरिने प्रतिबद्धता जनाइएको हो । कांग्रेसले शनिबार सार्वजनिक गरेको घोषणापत्रमा नेपालका सबै जातजातिका भाषामा पठनपाठनको व्यवस्था गरिने उल्लेख छ ।

सातै प्रदेशमा भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, चलचित्र, नाटक प्रदर्शनका लागि प्रेक्षालयको स्थापना गरिने बाचा पार्टीले गरेको छ । राज्यको लगानी वृद्धि गर्दै स्रष्टा सर्जकको वृत्ति विकास र क्षमता अभिवृद्धि गरिने भएको छ । स्रष्टा, सर्जक र कलाकारलाई सम्मान, पुरस्कार र संरक्षणको व्यवस्था गरिने पनि सङ्कल्पपत्रमा उल्लेख गरिएको छ ।

‘कला र संस्कृतिको उन्नयनः समुन्नत नेपालको पहिचान’ नाराका साथ कांग्रेसले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलगायत देशका महत्वपूर्ण प्राज्ञिक संस्थालाई प्रभावकारी बनाउन पर्याप्त बजेट विनियोजन गर्ने घोषणा गरेको छ । विद्यालय तहदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा नेपाली साहित्य, कला, संस्कृति, इतिहास एवं ज्ञान विज्ञानका विषयवस्तु समाहित गरी समयसापेक्ष परिमार्जन गर्ने कांग्रेसले जनाएको छ ।

नेपाली चलचित्र र सम्बन्धित क्षेत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत राखी नियमनकारी संस्थालाई राष्ट्रिय चलचित्र आयोगको स्वरुपमा रुपान्तरण गरी पूर्ण स्वायत्त बनाइने भएको छ । स्रष्टा सर्जकको प्रतिलिपि अधिकारलाई कानुनीरूपमा थप मजबुत बनाउँदै पूर्णरूपमा कार्यान्वयन गराउन काम गर्ने कांग्रेसको प्रतिबद्धता छ ।

लोपोन्मुख लोकसङ्गीत सम्पदाको संरक्षणका लागि प्रभावकारी कार्यक्रम तर्जुमा गरिने भएको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति, चलचित्र, हस्तकला, मूर्तिकला, काष्ठकला तथा वास्तुकलाका कुनै पनि सामग्री सूचना र रचना नेपाल बाहिर निर्यात गर्दा अर्को राष्ट्रसँग समानताका आधारमा गरिनुका साथै कर छुटको व्यवस्था गरिने भएको छ ।

नाफामूलक व्यावसायिक एवं वित्तीय संस्थाले खर्च गर्दै आएको सामाजिक उत्तरदायित्व अन्तर्गतको उल्लेख्य अंश भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा खर्च गर्ने नियम ल्याउने कांग्रेसको प्रतिबद्धता छ । सर्वाङ्गीणको विकासको अवधारणामा भौतिक विकासदेखि सांस्कृतिक वैभव र पहिचानसम्मको वृहत्तर अवधारणा समावेश गरिएको पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वको घोषणापत्र निर्माण उपसमितिले उल्लेख गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार  १० : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।