चार महिनापछि सिभिल बैंकको सेयर कारोबार बुधबार खुल्दै


हिमालयन बैंकमा विलय हुने सम्झौता गरेको सिभिल बैंकको सेयर कारोबार खुल्ने भएको छ । गत असार २९ गते हिमालयन बैंकमा विलय हुने सम्झौता गरेको सिभिल बैंकको सम्झौताको भोलिपल्टदेखि सेयर कारोबार रोक्का भएको थियो ।

नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै आधारभुत बाहेकका सेयरधनीलाई सेयर कारोबार गराउने बाटो खुलेको थियो । सोही अनुसार बैंकले नेप्सेलाई आधारभूत बाहेकका सेयरधनीको कारोबार फुकुवा गरिदिन गरेको अनुरोधलाई स्वीकृत गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेले मंगलबार सूचना जारी गर्दै बैंकको आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा भएको जनाएको हो । योसँगै बुधबारदेखि बैंकको सेयर कारोबार खुल्नेछ ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा १३ ९१० बमोजिम गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा रही सेयर कारोबार रोक्का रहेका दुबै बैंकको सेयर कारोबार मंसिर ६गतेको निर्णय अनुसार फुकुवा भएको नेप्सेले जनाएको छ । विलय प्रकृयामा रहेको बैंकले केही दिन अघि सेयर कारोबार फुकुवा गरिदिनका लागि नेप्से समक्ष आवेदन दिएको थियो ।

हिमालयन बैंकमा विलय हुने सम्झौतासँगै सिभिल बैंकको सेयर कारोबार ४ महिनासम्म दोस्रो बजारमा रोक्का रहेको थियो । विलय प्रकृयाका कारण कारोबार रोक्का हुँदा लगानीकर्ता सेयर कारोबार गर्नबाट बञ्चित भएका थिए ।

सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकको ८१ कित्ता सेयर पाउने गरी भएको विलय सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ भने सञ्चालक समितिमा सिभिल बैंकको हालको सञ्चालक समितिको प्रतिनिधित्व हुने छैन । अर्थात हिमालयन बैंकको हालको सञ्चालक समिति नै प्राप्तिपछि बन्ने बैंकमा सञ्चालक समितिको रुपमा रहनेछ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओको जिम्मेवारी सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले पाउने छन् ।

हाल हिमालयन बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ र सिभिल बैंकको ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँ छ । दुई बैंक मर्जरमा गएपछि बन्ने बैंकको चुक्ता पूँजी २० अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ ।

यस अघि हिमालयनले नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जरमा जाने सहमति गरेकोमा बिचमै उक्त प्रकृया रोकिएको थियो । सो पश्चात नेपाल राष्ट्र बैंकको कार्वाहीको दवाबका कारण इन्भेष्टमेण्ट बैंकले मेगालाई मर्जर गर्ने सम्झौता गरिसकेको छ भने हिमालयनले सिभिललाई प्राप्ति गर्ने सम्झौता गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।