हिमालयन बैंकले सिभिललाई ८१ को स्वापमा प्राप्ति गर्ने, प्रारम्भिक सम्झौतामा हस्ताक्षर


हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने भएको छ । लामो समयसम्म चलेको छलफल र तयारीका बिच बुधबार दुई बैंकका बिचमा प्राप्तिसम्बन्धि प्रारम्भिक सम्झौता भएको हो । हिमालयनले सिभिललाई ८१ प्रतिशत स्वापमा प्राप्ति गर्ने सम्झैतामा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन् ।

गत शुक्रबार नै प्रारम्भिक सम्झौता गर्ने तयारी दुवै बैंकले गरे पनि अन्तिम समयमा सम्झौताको कार्यक्रम स्थगित भएको थियो ।

सम्झौता अनुसार सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकको ८१ कित्ता सेयर पाउने छन् । स्वापभन्दा बोहकका सबै विषयमा हिमालयन बैंकको दवदबा रहनेछ । सिभिल बैंकका एक सञ्चालकका अनुसार व्यापारमा पद, नाम महत्वपूण नहुने भएकाले सेयरधनीलाई धेरै हिस्सा दिलाउनका लागि पद तथा नाममा सिभिल बैंकले कुनै दाबी नगरेको हो ।

सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ भने सञ्चालक समितिमा सिभिल बैंकको हालको सञ्चालक समितिको प्रतिनिधित्व हुने छैन ।

अर्थात हिमालयन बैंकको हालको सञ्चालक समिति नै प्राप्तिपछि बन्ने बैंकमा सञ्चालक समितिको रुपमा रहनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओको जिम्मेवारी सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले पाउने छन् ।

हाल हिमालयन बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार रुपैयाँ र सिभिल बैंकको ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार ८९० रुपैयाँ छ । दुई बैंक मर्जरमा गएपछि बन्ने बैंकको चुक्ता पूँजी २० अर्ब ३२ करोड रुपैयाँ पुग्नेछ ।

यस अघि हिमालयनले नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जरमा जाने सहमति गरेकोमा बिचमै उक्त प्रकृया रोकिएको थियो । सो पश्चात नेपाल राष्ट्र बैंकको कार्वाहीको दवाबका कारण इन्भेष्टमेण्ट बैंकले मेगालाई मर्जर गर्ने सम्झौता गरिसकेको छ भने हिमालयनले सिभिललाई प्राप्ति गर्ने सम्झौता गरेको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।