युनाइटेड छाडेकी उपासनाको हिमालयन रि मा ‘इन्ट्री’, बनिन् नायब प्रमुख कार्यकारी अधिकृत

0
Shares

हिमालयन रि-इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पौडेललाई डीसीईओमा नियुक्त गरेको हो । नेपालको बीमा क्षेत्रकै पहिलो महिला सीईओ समेत रहेका उनीसँग बीमा क्षेत्रमा एक दशकभन्दा बढीको कार्यानुभव छ ।

भारतको आइसीआइसीआई लोम्बार्ड जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेकी पौडेललाई हिमालयन रि भित्र्याएर छिमेकी मुलुक भारतबाट समेत बिजनेस÷व्यापार ल्याउन सहयोग पुग्ने विश्वासका साथ कम्पनीले उनलाई उच्च व्यवस्थापनको जिम्मेवारीमा ल्याएको हो ।

निर्जीवन बीमा क्षेत्रमा सीईओ भएर काम गरेकी पौडेल पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी हुन् । विसं २०७८ बैशाखमा युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएकी पौडेलले कार्यकाल सकिनु अघि नै राजीनामा दिएर बाहिरिएकी थिइन् । युनाईटेड इन्स्योरेन्स कम्पनीको सीईओमा नियुक्त भएकी पौडेलले डेढ वर्ष नपुग्दै राजीनामा दिएकी हुन् ।

सीईओ बन्नुअघि उनी युनाइटेडमा नै निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । उनले सो कम्पनीमा ३ वर्ष काम गरेकी हुन् । युनाइटेडमा आउनुअघि उनले सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी थिइन् ।

पौडेलले भारतको दिल्ली विश्वविद्यालयबाट फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) एमबिए गरेकी छिन् । उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले भरतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।