नयाँ सरकार गठनले २ दिनमा झण्डै सवा सय अंकले बढेको बजार कति दिगो ?


नयाँ सरकार गठन भएसँगै तिब्र गतिमा उकालो लागेको बजार कति दिगो होला भन्ने चासो आम लगानीकर्तामा छ । समग्रमा बजार तल्लो विन्दुमा झरिसकेको अवस्थामा भने बजार स्थायी र अडिग हुन सक्ने पनि देखिएको छ ।

सरकार गठन भएको २ दिनमा बजार परिसुचक नेप्से ११६.७५ अंकले उकालो लागेर १९८३.९५ अंकमा अडिएको छ । मंगलबार मात्र बजार ५९.८७ अंकले बढेको हो । बजार चल्दै गर्दा २ः३० बजे ७५ अंकसम्मको वृद्धिमा १९९९ अंकसम्म पुगेको बजार फेरी सन्तुलित हुँदै ५९.८७ अंकको सुधारमा बन्द भएको हो ।

बजारमा अस्वभाविक रुपमा उतारचढावमा पुग्दा देखिएको यो ट्रेण्डले लगानीकर्ता बजार वृद्धिको टिकाउमा विश्वस्त हुन नसकेको देखिन्छ । यसले अबका दिनमा बजार के हुन्छ भन्ने चासो र डर पनि लगानीकर्तामा रहेको बुझ्न सकिन्छ ।

मंगलबार कारोबार रकम पनि ४ अर्ब नजिक पुगेको छ । यसले बजारलाई आड दिने आधार भने देखिएको छ । मंगलबार बजारवृद्धिसँगै ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २६१ कम्पनीका १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ६३ हजार ६७ पटक किनबेच भएको छ ।

सोमबार बजार ५६.८६ अंकले बजार बढ्दा २ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सोमबारको तुलनामा कारोबार रकम १ अर्ब ७९ करोड रुपैयाँले बढेको हो ।

मंगलबार सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पोज फाइनान्स, अजोड इन्स्योरेन्स, श्रजनशील लघुवित्त, धौलागिरी लघुवित्त, कालिका पावर, तह्रथुम पावर, निफ्रा, एचआईडिसीएलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । म्युचुअल फण्डसहित १९ कम्पनीको मात्र सेयर मूल्य घटेको बजारमा बाँकी सबै कम्पनीको सेयरमूल्य बढेको छ ।

आँधीखोला लघुवित्त तथा मिर्मिरे लघुवित्तको सेयर मूल्य साढे २ प्रतिशत हाराहारीमा घढेको बजारमा केही सामुहिक लगानी कोष र लघुवित्त कम्पनीहरुको सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा लक्ष्मी बैंक, नेपाल टेलिकम र हिमालयन डिष्टीलरीको सबैभन्दा धेरै कारोबार भएको बजारमा कारोबार भएको सेयर संख्याका आधारमा लक्ष्मी बैंक, हिमाल दोलखा हाइड्रो र अपि पावरको धेरै सेयर किनबेच भएको छ ।

बजार घटेर तल्लो विन्दु्मा ओर्लिएका बेला देखिएको २ दिनबो वृद्धिले लगानीकर्तालाई राहत दिलाएको छ । अर्थतन्त्रका सूचकहरु क्रमिक रुपमा सुधार हुने संकेत देखिइरहेको चर्चा चलिरहेका बेला बजार टिकाउन हुन सकेको खण्डमा नाफा कमाउने र नोक्सानको भारले थिचिएकाहरुलाई राहत मिल्ने अवस्था बन्न सक्छ ।

तर अर्थतन्त्रका सूचक कमजोर भएको अवस्थामा बजार बढेको मौका छोपी बिक्री चाप आउन थालेको खण्डमा भने फेरी बजार उस्तै सुस्त बन्न सक्छ । बैंकबाट ऋण लिएकाहरुले २ दिनको वृद्धिमा भढेको मूल्यमा सेयर बेचेर बैंकको ऋण र चर्को व्याजबाट मुक्ती पाउन खोजिरहेको अवस्थालाई पनि नकार्न सकिन्न । पुस मसान्त नजिकिँदै गरेको अवस्थाले पनि त्यस्ता ऋण लिनेहरु दवाबमा परिरहेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।