नेपालका लागि मेटाले तोक्यो आधिकारिक बिक्रेता, एचटीटी पूल बाइ एल्फलाई जिम्मेवारी


फेसबुकको माउ कम्पनी मेटाले नेपालका लागि आधिकारिक बिक्रेता चयन गरेको छ । मेटाले एचटीटी पूल बाइ एल्फलाई नेपालका लागि आधिकारिक बिक्रेता चयन गरेको हो ।

योसँगै सँगै एचटीटी पूल बाइ एल्फले स्थानीय विज्ञापनकर्ता तथा एजेन्सीहरूलाई आफ्नो व्यापार विस्तार, आन्तरिक सहायता, रणनीतिक निर्देशनका साथै मेटाका अन्य प्रोडक्टहरूमा विशेषज्ञता प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

मेटाको आधिकारिक बिक्रेता बन्नको लागि गरिएको चयन र स्वीकृति प्रक्रियाले नेपालमा विज्ञापनकर्ता तथा एजेन्सीहरूलाई विश्वस्तरको सहायता उपलब्ध हुने बताइएको छ ।

एचटीटी पूल बाइ एल्फको होल्डिङ कम्पनी एल्फ सन् २०१८ देखि आधिकारिक बिक्रेताको रूपमा आवद्ध भई मेटाको विकासदेखि स्थानीय विज्ञापन जगतमा एजेन्सी तथा विज्ञापनकर्ताहरू र साना तथा मध्यम व्यवसायहरुलाई डिजिटल मार्केटिङमा मद्दत पुर्याउँदै आइरहेको छ । एल्फले डिजिटल मार्केटिङमा उत्कृष्टता कायम राखेको छ भने अफ्रिका, मध्य पूर्वी यूरोप र एशिया प्रशान्त क्षेत्र सहित विश्वका धेरै क्षेत्रहरूमा स्थानीय टोलीहरूसँग सक्रिय रूपमा काम गरिरहेको छ ।

नेपालका लागि आधिकारिक बिक्रेताको रूपमा एचटीटी पूल बाइ एल्फ ले विज्ञापनकर्ताहरूको लागि आन्तरिक सहायता तथा निर्देशनमा सहयोग पुर्याउने संस्थाका प्रबन्ध निर्देशक सन्नी नागपालले बताए । “हामी विभिन्न क्षेत्रमा कार्यशालाहरू र तालिमहरू प्रदान गर्दै विज्ञापनकर्ताहरूलाई नयाँ सीप सिक्न र मेटाको प्लेटफर्महरूबाट अधिकतम लाभ लिन सक्षम बनाउन पाउँदा गर्व गर्छौँ”, उनले भनेका छन् ।

मेटा प्लेटफर्म सम्बन्धि व्यापक जानकारी र अनुभव बोकेको एचटीटी पूल बाइ एल्फ मेटाको प्रत्यक्ष प्रतिनिधि बनेर मेटाका सम्पूर्ण प्रोडक्ट तथा सेवाहरु विज्ञापनकर्ताहरुका लागि उत्कृष्टरूपमा प्रदान गर्न सक्षम रहेको कम्पनीले जनाएको छ ।

यसबाहेक, काठमाडौँमा स्थानीय उपस्थितिको साथ यस कम्पनीले स्थानीय र राष्ट्रिय भाषाहरूमा समेत रणनीतिक निर्देशन र अनुकूलन पक्षहरूमा सहायता र सुझाव प्रदान गर्नेछ । त्यसका साथै, देशको आधिकारिक मुद्रा, नेपाली रुपैयाँमा बिलिङका लागि पनि यस कम्पनीको स्थानीय उपस्थितिले सहजता प्रदान गर्दछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।