कोभिड–१९ बाट धरासायी बनेका विकसित, विकासशील तथा विकासोन्मुख राष्ट्रहरुको पुनरुत्थान हुन नपाउँदै रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व अर्थतन्त्र थप अनिश्चितता तर्फ लम्किएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), वर्ल्ड बैंक लगायतका विभिन्न संस्थाहरुले विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको र सन् २०२३ मा विकसित राष्ट्रहरुमा नै मन्दी हुने जनाएका छन् । आइएमएफले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२१ मा ६ प्रतिशत रहेको आर्थिक वृद्धिदर २०२२ मा खुम्चिएर ३.२ प्रतिशत रहने उल्लेख छ । विकसित राष्ट्रहरु जस्तै अमेरिका, चीन, बेलायतको आर्थिक वृद्धिदरमा पनि भारी गिरावट देखिएको छ ।
आखिर किन खुम्चियो विकसित राष्ट्रहरुको आर्थिक वृद्धिदर ?
कोभिड–१९ संक्रमण फैलिँदै गएपछि केन्द्रीय बैंकहरुले अर्थतन्त्र चलायमान बनाउन ब्याजदर कटौती र बैंकिङ प्रणालीमा मनि सप्लाई बढाएका थिए । विश्वको सबैभन्दा सबल मानिएको अमेरिकी अर्थतन्त्रमा समेत फेडरल रिजर्भले (अमेरिकी केन्द्रीय बैंक) ले कोभिड–१९ संक्रमण फैलिँदै गएपछि मार्च २०२० मा १.५ प्रतिशत रहेको ब्याजदर शून्यमा झारेको थियो । यसका साथै अमेरिकी केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुन नदिन क्वान्टिटेटिभ इजिङ मार्फत ९ ट्रिलियन डलर बजारमा सञ्चार गरेको थियो । जसकारण मानिसहरुले सहज र सस्तो ब्याजमा कर्जा लिइरहेका थिए ।
सस्तो ब्याजदरमा कर्जा पाएपछि ‘इजी मनी फर्मेशन’ तर्फ आम मानिसको ध्यान केन्द्रीत भयो । त्यसले अनुउत्पादक क्षेत्रमा लगानी बढ्दै गयो । कोभिड–१९ संक्रमणकै समयमा विश्वमा मूख्य सेयर बजारहरु एतिहासीक उच्च विन्दुमा पुगे । क्रिप्टो बजार आकाशियो । घरजग्गाको मूल्य बढ्यो । सहज र सस्तो दरमा उपलब्ध कर्जाले उत्पादन भन्दा पनि सम्पत्तिको मूल्य बढाउन तथा ‘इजी मनि फर्मेसन’ लाई प्रोत्साहन गर्यो । ‘इजी मनि’ तथा सम्पत्तीको मूल्यमा आएको सुधारले बजारमा माग बढाएपछि विश्वव्यापी रुपमा मुद्रास्फीतिदर आकाशियो ।

यस्तै कोभिड–१९ का कारण विश्वभर लकडाउन हुँदा अधिकासं कामहरु अनलाइन मार्फत भएका थिए । विश्वका ठूला भनिएका प्रविधि कम्पनीहरुले ‘वर्क फ्रम होम’ लाइ अवसरमा परिणत गर्दै जूम, गुगल मीट, माइक्रोसफ्ट टिम्स लगायतका एपहरु विकास गरे । यी एपहरुले प्रविधिक कम्पनीको आम्दानी बढाउनुका साथै अफ्ट्यारो अवस्थामा पनि काम गर्न सकिने वातावरण बन्यो । आइटी कम्पनीको भुमिका मूख्य हुँदै गएपछि सफ्टवेयर इन्जिनियरहरु माग समेत बढ्न थाल्यो । सोही अनुसार कम्पनीहरुले भर्ना पनि गरे । जसकारण कोरोनाका कारणले रोजगार गुमाएका मानिसहरुले पनि रोजगारी पाउन थाले ।
कोरोना माहामारीको असर कम वित्तीय प्रणालीमा पठाएको अधिक पैसाले बढाएको मुद्रास्फीतिदर नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले संकुचित मौद्रिक नीति अपनाउन थाले । मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक-फेड, बेलायती केन्द्रीय बैंक–बैंक अफ इङ्गल्यान्ड, यूरोपियन केन्द्रीय बैंकहरुले एकैसाथ आक्रामक शैलीमा ब्याजदर बढाए ।
अमेरिकी केन्द्रीय बैंक–फेडले क्वान्टिटेटिभ इजिङ मार्फत बजारमा पठाएको रकम क्वान्टिटेटिभ टाइटानिङ मार्फत फिर्ता लिन सुरु गर्यो । जसकारण बजारमा सहजै रकम सञ्चार हुँदा खुशी भएका लगानीकर्ताहरु प्यानिक अवस्थामा पुगे । सेयर बजारमा मास ‘सेल अफ’ को श्रृङ्खला नै चल्यो । क्रिप्टोको मूल्यमा भारी ह्रास आयो । चीन लगायतका विभिन्न देशहरुको रियल स्टेट व्यवसया धरासायी अवस्था पुग्यो ।
कोभिड–१९ संक्रमण नियन्त्रणमा आएपछि अनलाइन प्रणालीबाट सञ्चालन भइरहेका कार्यालयहरु भौतिक रुपमै सञ्चालनमा आए । जूम, गूगल मीट र माइक्रोसफ्ट टिम लगायतका एपहरुको प्रयोग घट्दै गयो । प्रयोगकर्ताहरुको सङ्ख्यामा कमी आउदै गएपछि ठूला आइटी कम्पनी गुगल, माइक्रोसफ्ट, मेटा लगायतका कम्पनीहरुले भारी मात्रामा कर्मचारी कटौती गर्दै गए । यसैबीच रुसले युक्रेनमा विशेष सैनिक अप्रेशन सञ्चालन गरेपछि कोभिड–१९ ले सिर्जना गरेको माग तथा आपूर्ति सृखला प्रभावित भयो । विश्वव्यापी रुपमा इन्धन तथा खाद्यान्न अभावको समस्या गहिरिँदै गयो । जसकारण तीव्र गति लिँदै गरेको मुद्रास्फीति दर आकासियो ।
मुद्रास्फीति नियन्त्रण गर्न फेडका अध्यक्ष जेरोम पावेलले आफूहरु दृढ रहेको अभिव्यक्ति दिँदै आएका छन् । पावेल भन्छन्, ‘मूल्यवृद्धि नियन्त्रणको प्रक्रिया सहज हुँदैन । आक्रामक शैलीमा ब्याजदर बढाउदा त्यसले जनमानसलाई पीडा दिने हामीले बुझेका छौं तर भविष्यमा थप दुख नपाउनका लागि अहिलेको कष्टबाट गुज्रिनु नै पर्छ ।’ यस्तै बेलायती केन्द्रीय बैंकका गर्भनर एन्ड्रीउ बेलीले पनि पावेलकै भाषामा आफूहरु मुद्रास्फीतिसँगको संघर्ष जुनसुकै हालतमा जारी राख्ने बताएका छन् ।
फेडले ब्याजदर बढाउँदा अन्तराष्ट्रिय विनिमय बजारमा डलर शक्तिशाली बनेको छ । संकटको समयमा अन्तराष्ट्रिय लगानीकर्ताले जोखिम न्यूनीकरणका लागि डलमा लगानी केन्द्रीय गर्ने गर्छन । फलस्वरुप अन्य मुद्राको तुलनामा डलर झनै बलियो भयो । जापानी येन, नेपाली रुपैयाँ, भारु, यूरो, स्ट्रलीङ, युवान डलरको विरुद्धमा कमजोर हुँदै गएका छन् । कमजोर भएको स्वदेशी मुद्रा जोगाउन चीन, भारतले विदेशी मुद्रा सञ्चिति मार्फत डलर बजारमा पठाएका छन् ।
विकासोन्मुख राष्ट्रहरुका लागि सन् २०२२ अत्यन्त दुःखद
सन् २०२२ मा दक्षिण एशियाली राष्ट्र श्रीलंकाले टाट पल्टिएको घोषणा गरेको थियो । अर्थतन्त्रमा विगत देखिए एकिृत भएका समस्याहरु कोरोनाका कारण प्रस्फुटीत हुदाँ श्रीलंकको अर्थतन्त्र नै धरासायी बन्न पुग्यो । कोभिड–१९ को समयमा उद्योग तथा कर्पोरेट हाउसहरुलाई श्रीलंकाले कर नलिने व्यवस्था गरेको थियो ।
राजापाक्ष परिवारको जहानिया शासन, असीमित भ्रष्टाचार र समष्टिगत अर्थतन्त्रको व्यवस्थापन गर्न नसक्दाको नतिजा पनि हो । यस्तै विदेशी सञ्चिति कमी हुँदै गएपछि आयात बन्द गर्ने अवस्थामा पाकिस्तान पुग्यो । श्रीलंकाको भन्दा केही सानो रहेको नेपालको अर्थतन्त्रमा पनि श्रीलंका उन्मुख भएको होकि भन्ने प्रश्नहरु उब्जिए । आइएमएफको सहयोगमा पाकिस्तान र श्रीलंकाको अर्थतन्त्र चलायमान हुँदै गएको छ ।
केही उदीयमान राष्ट्रहरुका लागि वरदान
विश्व अर्थतन्त्रमन्दी उन्मुख रहँदा पनि भारतले सन् २०२२ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने प्रक्षेपण आइएमएफले गरेको छ ।
यस्तै विकसित राष्ट्रहरुको वृद्धि दरको ग्राफ ओरालो लागिरहँदा भारतको वृद्धि दरमा स्थीरता छाएको छ । रुस–युक्रेन युद्धका कारण यूरोप, बेलायत, जापान लगायतका देशहरुमा इन्धन अभावको समस्या बढिरहँदा भारतमा इन्धन सहजै उपलब्ध छ ।
रुसलाई युद्ध जारी गर्नबाट रोक्न यूरोप, अमेरिका लगायतका देशहरुले रुसी कच्चा तेल तथा प्राकृतिक ग्यासलाई इन्कार गर्दै प्रतिबन्ध लगाउँदै आएका छन् । अमेरिका, बेलायत र यूरोपियन युनियनले रुसी केन्द्रीय बैंकको डलर जफत गर्ने गरी कठोर नियम रुसमाथि अवलम्बन गरिरहेका छन् ।
प्रतिरोधमा रुसी सरकारले रुससँग गर्ने व्यापारिक कारोबार रुबलमा नै गर्न आदेश दिएको छ । भारत र चीन भने रुबलमै व्यपारिक कारोबार गर्न सहमत भएका छन् । जसकारण विश्व अर्थतन्त्र मन्दी उन्मुख रहँदा पनि भारतले सहज आर्थिक गतिविधिहरुलाई निरन्तरता दिइरहेको छ ।
समस्यामा चीन
पछिल्लो समयमा चीन कोभिड–१९ को चौंथो लहरबाट गुज्रिरहेको छ । कोभिड संक्रमण नियन्त्रण गर्न चीनले शून्य कोभिड नीति अपनाएका कारण औद्योगिक गतिविधिहरु सुस्ताएका छन् भने आपूर्ति श्रृङ्खला अवरुद्ध छ । कोभिड संक्रमणका कारण मुख्य औद्योगिक सहरहरुमा लकडाउन हुँदा चीनको आर्थिक वृद्धि दरमा भारी गिरावट आएको छ । सन् २०२१ मा ८.१ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गरेको चिनियाँ अर्थतन्त्र खुम्चिएर सन् २०२२ मा २.७ प्रतिशतमा पुग्ने अनुमान वर्ल्ड बैंकले गरेको छ ।
विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको आइएमएफ तथा वर्ल्ड बैंकले जनाउँदै आएका छन् । तर मन्दीको प्रभाव भने देखिएको छैन । सामान्यतः मन्दीको समयमा मानिसहरुले रोजगारी गुमाउने र बेरोजगारी दर बढ्नुपथ्र्यो । तर, अमेरिकी श्रम बजारको अवस्था भने बलियो देखिँदै आएको छ । सन् २०२० मा ८.०५ प्रतिशत रहेको बेरोजगारी दर सन् २०२१ मा घटेर ५.४६ प्रतिशत हुँदै सन् २०२२ को नोभेम्बर महिनामा ३.७ प्रतिशत पुगेको छ ।
समान्यत आर्थिक मन्दीमा रोजगार कटौती, महङ्गी तथा उत्पादन वितरणको संयन्त्र प्रभावित हुने लगायतका समस्याहरु देखा पर्छन । तर, मन्दी उन्मूख भनिएको विश्व अर्थतन्त्रमा रोजगारी बढेको छ भने मुद्रास्फीति घट्दो क्रममा देखिएको छ । आर्थिक वृद्धि भने घट्ने अवस्थामा छ । यस्तो विश्व आर्थिक अवस्थाले कस्तो प्रकृतिको आर्थिक मन्दी निम्त्याउने हो भन्ने कुरा हेर्न सन् २०२३ नै पर्खनु पर्ने हुन्छ । आर्थिक वृद्धिदरको ग्राफ ओरालो लागेकै कारणले विश्व अर्थतन्त्र मन्दी उन्मुख भनिएको पो हो कि भन्ने प्रश्न सहित सन् २०२२ ले बिट मारेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया