सन् २०२३ मा भारतको आर्थिक वृद्धि दर ५.८ प्रतिशत रहने प्रक्षेपण

0
Shares

सन् २०२३ मा भारतको आर्थिक वृद्धि दर ५.८ प्रतिशत रहने संयुक्त राष्ट्र संघको प्रक्षेपण रहेको छ ।

सन् २०२२ मा भारतले ६.४ प्रतिशतको आर्थिक वृद्धि हासिक गर्ने अनुमान गरेको राष्ट्र संघले सन् २०२३ मा आर्थिक वृद्धि दर ५.८ प्रतिशत रहने जनाएको छ । विश्वव्यापी अर्थतन्त्र संकट उन्मुख रहेको अवस्थामा पनि भारतीय अर्थतन्त्र बलियो हुने राष्ट्र संघको दाबी छ ।

विश्वको आर्थिक अवस्था र दृष्टिकोण २०२३ सार्वजनिक गर्दै राष्ट्र संघले सन् २०२२ मा ३ प्रतिशत रहेको आर्थिक वृद्धि दर खुम्चिएर सन् २०२३ मा १.९ प्रतिशत रहने अनुमान गरेको छ ।

संघले दक्षिण एशियाको अर्थतन्त्र खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, संकुचित मौद्रिक नीति र वित्तीय क्षेत्रका कमजोरीहरुका कारण तनावग्रस्त रहने उल्लेख गरेको छ । सन् २०२२ मा ५.६ प्रतिशत रहेको दक्षिण एशियाको आर्थिक वृद्धि दर सन् २०२३ मा खुम्चिएर ४.८ प्रतिशत कायम रहने राष्ट्र संघले जनाएको छ ।

यस्तै राष्ट्र संघले जारी गरेको प्रतिवेदनमा बाङ्लादेश, पाकिस्तान र श्रीलंकाको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको घोषणा गरेको छ । यी देशहरुले अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग वित्तीय सहयोगको लागि वार्ता गरिरहेका छन्।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सन् २०२३ मा ४.८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने र सन् २०२४ मा वृद्धि दर ४.५ प्रतिशत रहने संयुक्त राष्ट्र संघले जनाएको छ ।

यस्तै अमेरिकाको आर्थिक वृद्धि दर सन् २०२३ मा ०.४ प्रतिशत रहने र सन् २०२४ मा १.७ प्रतिशत पुग्ने प्रक्षेपण प्रतिवेदनमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।