एकपछि अर्को बैंक टाट पल्टिँदै, क्रेडिट स्वीस बैंकको अवस्था समेत गम्भीर

0
Shares

हालै अमेरिकाका दुई ठूला बैंक–सिलिकन भ्याली र सिंग्नेचर बैंक टाट पल्टिए लगत्तै स्वीजरल्याण्डको अर्को एउटा बैंक पनि संकटग्रस्त बनेको छ ।

‘टू बिग टू फेल’ को मान्यता बमोजिम उत्पन्न भएको वित्तीय समस्याका कारण अमेरिकी बैंकिङ क्षेत्र मात्रै नभई यूरोपेली बैंकिङ क्षेत्र समेत प्रभावित बनेको हो । स्वीजरल्यान्डको पाँचौ ठूलो बैंक–क्रेडिट स्वीसले फाइनान्सियल रिर्पोटिङमा गडबडी भएको सार्वजनिक गरेपछि बैंकको सेयरमूल्य गत पाँच दिनमा २५ प्रतिशतले घटेको छ ।

बैंक धरासायी हुने अवस्थामा पुगेपछि स्वीजरल्यान्डको केन्द्रीय बैंक–स्वीस नेशनल बैंकले क्रेडिट सुस्सेइलाई आपत्कालीन ५४ अर्ब डलर सहयोग गरेको थियो । तथापी केन्द्रीय बैंकको उक्त सहयोग पर्याप्त नभएपछि बैंकको सेयरमूल्यमा निरन्तर गिरावट आएको थियो भने यूरोपेली सेयरबजारमा ब्यापक सेल–अफको श्रृङ्खला चलेको थियो ।

स्वीरजरल्यान्डले ‘टू बिग टू फेल’ अन्तर्गत सूचीत गरेको बैंक धरासायी हुने अवस्थामा पुगेपछि स्वीस सरकारले शनिबार राति आपत्कालीन बैठक घोषणा गरेको थियो । केन्द्रीय बैंकले दिएको आपत्कालीन सहयोगले पनि क्रेडिट स्वीसका लगानीकर्तामा विश्वास दिलाउन नसकेपछि, क्रेडिट स्वीसलाई स्वीजरल्यान्डको सबैभन्दा ठूलो बैंक युबीएसले सहयोग गर्ने भएको छ ।

कुनै समयमा क्रेडिट स्वीसकै प्रतिस्पर्धी रहेको युबीएस बैंक अहिले स्वीजरल्यान्डको सबैभन्दा ठूलो बैंक रहेको छ भने क्रेडिट स्वीस पटक-पटक विवादमा आउँदा पतनको अवस्थामा पुगेको छ । क्रेडिट स्वीस जस्तो बैंक धरासायी अवस्थामा पुगेपछि विश्वभरको बैंकिङ क्षेत्र प्रभावित हुन पुगेको छ ।

युएसबी बैंकले क्रेडिट स्वीसको सेयर मात्रै खरिद गर्ने वा बैंक नै अधिग्रहण गर्ने भन्ने विषय युरोपमा चर्चाको विषय रहेको छ । क्रेडिट स्वीस अधिग्रहण गर्ने अवस्था सिर्जना भएमा स्वीस सरकारले ६ अर्ब डलर सहयोग गर्नुपर्ने युएसबीले जनाएको छ ।

सन् १८५६ मा स्थापना भएको क्रेडिट सुस्सेई बैंक मनी लाउन्डरिङको मुद्दामा मुछिँदै आएको छ । सन् २०२२ मा मात्रै बैंकले ७ अर्ब ३० करोड स्वीस फ्रान्क अर्थात् ७ अर्ब ९० करोड डलर गुमाएको छ । बैंकको यो घाटा सन् २००८ को आर्थिक मन्दी यताकै सबैभन्दा ठूलो क्षति रहेको छ ।
क्रेडिट स्वीसले घाटा भोगिरहेको समयमा युएसबी बैंकले ७ अर्ब ६० करोड डलर बराबरको नाफा कमाएको छ ।

अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा ठूलो महत्व राख्ने र विश्वका ३० ‘टू बिग टू फेल’ कम्पनीहरुको सूचीमा पर्ने क्रेडिट स्वीसको खस्किँदो अवस्थाले विश्वव्यापी बैंकिङ प्रणालीमा नै गम्भीर असर पुर्‍याएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।