फागुनमा ६१ हजार बढीले लिए श्रम स्वीकृती, मलेसिया पहिलो रोजाईमा

नोटबजार संवाददाता
काठमाण्डौं ।
६चैत्र, २०७९, सोमबार / Mar 20, 2023 11:56:am

एक महिनाको अवधिमा वैदेशिक रोजगार विभागबाट ६१ हजार ८४५ जनाले श्रम स्वीकृती लिएका छन् ।

यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिने समेतको संख्या हो । श्रम स्वीकृती लिने संख्या माघ महिनाको तुलनामा केही कम रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

माघमा ६४ हजार २८४ जना युवाले श्रम स्वीकृती लिएका थिए । फागुनमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृती लिने मध्ये ५६ हजार ७१९ जना पुरुष र ५ हजार १२६ जना महिला रहेका छन् । यस अवधिमा म्यानपावर एजेन्सीमार्पmत २९ हजार २८८ जनाले स्वीकृति लिएका छन् । व्यक्तिगत रुपमा स्वीकृति लिने नयाँ कामदारको संख्या ५ हजार ५३६ छ । व्यक्तिगत रुपमा पुनः श्रम स्वीकृति लिनेको संख्या भने २४ हजार ८५१ जना रहेको छ । जीटूजीमार्फत २ हजार १७० जना युवाले श्रम स्वीकृती लिएका छन् ।

श्रम स्वीकृति लिने कुन जिल्लाका कति ?

श्रम स्वीकृति लिनेमध्ये नँया दर्ता बाहेक सबैभन्दा धेरै धनुषाबाट श्रम स्वीकृति लिएका छन् । धनुषाबाट १ हजार २४१ जनाले श्रम स्वीकृती लिएका हुन् । यस्तै धनुषाबाहेक श्रम स्वीकृती धेरै लिने अर्को जिल्ला मोरङ रहेको छ । मोरङबाट एक महिनाको अवधिमा १ हजार ३ सय २३ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै श्रम स्वीकृति लिने तेस्रो जिल्ला सिराहा हो । सिराहाबाट ९२९ जनाले श्रम स्वीकृति लिएका छन् । सबैभन्दा कम श्रम स्वीकृती लिने जिल्ला मुस्ताङ हो । मुस्ताङबाट २१ जनाले श्रम स्वीकृती लिएका छन् ।

कुन देशमा कतिले लिए श्रम स्वीकृती

फागुनमा मलेसिया, फ्रान्स, जापान, फिनल्याण्ड, बहराइन, इजरायल, लगायत ९० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्। फागुन महिनामा सबैभन्दा धेरै मलेसियाका लागि १९ हजार ८२४ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै दोस्रो धेरै श्रम स्वीकृती लिने देश कतार हो । कतारका लागि ११ हजार ३०३ जनाले श्रम स्वीकृति लिएका छन् । युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ७९५ जनाले श्रम स्वीकृति लिएका छन्। साउदी अरबमा ९ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

कुवेतका लागि २ हजार ४६२ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ । दक्षिण कोरियामा २ हजार २२७ जनाले स्वीकृति लिएका छन् । रोमानियामा १ हजार ७० जनाको स्वीकृति जारी भएको छ । जापानमा ८७१ जना, पोल्याण्डमा ६ सय र बहराइनमा ५९५ जनाले स्वीकृति लिएको विभागको तथ्यांक छ ।

यस्तै अष्टेलियाको लागी ३६ जनाले श्रम स्वीकृती लिएका छन् भने अमेरिकाका लागि २८ जना दक्ष कामदारले श्रम स्वीकृती लिएका छन् ।

विदेशीनेले हासील गरेको शैक्षिक योग्यता

उच्च दक्षता हासिल गरेका महिला र पुरुष गरी ३० जनाले वैदेशिक रोजगारीमा श्रम स्वीकृती लिएका छन् भने प्रोफेसनल योग्यताका ६८ जना छन् । यस्तै अर्ध दक्षता हासिल गरेका ५ हजार ४४९ जना युवाले श्रम स्वीकृति लिएका छन् । फागुनमा विदेशिने मध्ये ४२ हजार ७१८ जना ‘दक्ष’ छन् भने १३ हजार ५८० जना अर्धदक्ष श्रम स्वकृती लिएका छन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments