काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले गण्डकी प्रदेशमा आजदेखि यातायातका साधन ठप्प पारेका छन् ।
विभिन्न माग राख्दै माग पूरा नहुन्जेलसम्म गाडी नचलाउने बताएका हुन् । उनीहरूले १९ गतेसम्म पनि आफ्नो माग पूरा नभए देशैभर यातायात ठप्प पर्ने चेतानी दिएका छाँै ।
३ प्रश्नको आजको अंकमा हामीले यातायात व्यवसायीको आन्दोलनका विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रियका अध्यक्ष विजयबहादुर स्वाँरसँग कुरा गरेका छौँ ।
-
तपाईंहरूको आन्दोलन केका लागि ?
प्रदेश सरकारले निजी नम्बर प्लेटका सवारीसाधनलाई एप प्रयोग गरेर सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्ने कानुन ल्याएको छ, त्यसमा हाम्रो आपत्ति छ ।
रातो नम्बर प्लेटका गाडीले सेवा दिने हो भने हामीले कसलाई सेवा दिने ? त्यसमाथि पनि यो ऐनको खिलापमा भएको कुरा हो ।
प्रदेश सरकारले आफ्नो ऐन–नियम बनाउन पाउने अधिकार छ । तर, संघीय ऐनसँग नबाझिने गरेर ऐन नियम बनाउनुपर्छ ।
नभए त रातो नम्बर प्लेट छुट्टै, कालो नम्बर प्लेट छुट्टै, हरियो नम्बर प्लेट छुट्टै, सरकारी गाडीको नम्बर प्लेट छुट्टै, मन्त्रीको छुट्दै बनाउन आवश्यक नै छैन नि ! एउटै बनाए भइहाल्यो नि !
सबैको आ–आफ्नो काम गर्ने दायरा भएकाले त्यो दायरा मिच्नु भएन । यस्तै, विभिन्न पटक सर्वोच्च अदालतले गरेका निर्णयहरू कार्यावन्यन भएका छैनन् । यसमा पनि हाम्रो विरोध छ ।
ढुवानीमा भारवहन क्षमता बढी हुँदा पुलहरू भाँच्चिइरहेका छन् । यसले राज्यलाई नै नोक्सान भइरहेको अवस्था छ । जनताले दुःख पाएका छन् ।
स्वदेशी वा विदेशी जुन गाडी भए पनि भारवहन क्षमताको मापदण्ड कार्यान्वयन गर्नुपर्छ । यसलाई कानुनी रूपमा नै कडाइ गर्नुपर्छ ।
भारतीयसँगै विदेशी नम्बर प्लेटका गाडीहरूले प्यासेन्जर तथा मालसामान बोकेर जाने जुन प्रवृत्ति छ, त्यो अन्त्य हुनुपर्यो ।
बिमा पनि पुरानो भइरहेको छ । यसलाई पनि समय सापेक्ष सुधार गरेर ५ लाखलाई ७ लाखसम्म कायम गर्ने र उपचार खर्चलाई ३ लाखबाट ५ लाख पुर्याउन माग गरेका छौँ ।
गण्डकी प्रदेशमा आजबाट बन्द भएको छ भने १९ गतेबाट देशव्यापी आन्दोलन गर्छौं । र पनि हाम्रो कुरा सुनिएन भने सम्पूर्ण गाडी सरकारलाई जिम्मा दिन्छौँ ।
-
राइड सेयरिङ कम्पनीहरूले नम्बर प्लेट नै फेरेर काम गरे भने ?
हामी आफैँ पनि राइड सेयरिङ एप बनाइरहेका छौँ । हाम्रो विरोध टेक्नोलोजीको होइन । हामीले भनेको के हो भने एउटा प्रयोजनका लागि दर्ता भएको गाडीलाई अर्को प्रयोजनमा ल्याउनु भएन ।
हामीले मान्छे बोक्ने बसमा मालसामान बोक्न त पाउँदैनौँ नि ! प्रयोजनविपरीत काम गर्नु भएन । रातो नम्बर प्लेटका सवारीसाधन भनेको निजी प्रयोजनका लागि हो । यसलाई भाडामा प्रयोग गर्न पाइँदैन ।
पठाओ, इनड्राइभका नाममा २ पांग्रे सवारीसाधन चलेका छन् । ऐनमा २ पांग्रेलाई व्यावसायिक प्रयोजनका लागि चल्न नपाउने व्यवस्था छ । २ पांग्रेमा यात्रु बोक्न कार्यविधि, ऐन त चाहियो नि !
यसमा शान्ति सुरक्षाको कुरा आउला, अधिकारको कुरा आउला, दुर्घटनाको कुरा आउला । त्यसलाई नियमन गर्न सक्ने गरी ऐन–नियम ल्याउनुपर्यो । त्यो बनाउन विभाग तयार भइसकेको छ ।
तर, रातो नम्बर प्लेटका सवारीलाई राइड गर्न अनुमति दिनुभएन भन्ने मात्र हाम्रो कुरा हो ।
-
आन्दोलनको सार्थकता कति ?
हाम्रो यो आन्दोलन भनेको कि मर कि बाँच हो । रातो नम्बर प्लेटलाई राइड अनुमति दिने हो भने हामी मर्यौँ । हामी काम गर्न सक्दैनौँ ।
कानुन भनेको सबै हिसाबले मिल्ने बनाउनुपर्छ । व्यापारीको प्रभावमा परेर सेटिङ र बिचौलियाका आधारमा सरकारले गैरजिम्मेवार काम गर्नु हुँदैन ।
गण्डकी प्रदेशले संविधान र कानुनको खिलाप हुने गरेर ऐन ल्याउने कुचेष्टा गर्यो, जसले संघीयताको झन् मजाक उठाइरहेको छ ।
सार्थकता भन्दा पनि यसमा १३ खर्ब लगानी, १५ लाख प्रत्यक्ष श्रमिक, ४ लाख सवारीसाधन, ४० लाख आश्रित घर परिवारको गाँस, बास, कपास र जीवनको कुरामा जोडिएको आन्दोलन हो यो ।
हामीले अधिकार खोज्दा निम्न आय भएका जनतालाई केही दिन दुःख पर्छ । त्यसका लागि हामी क्षमा माग्छौँ । हामी आफैँ मर्ने भएकाले यो आन्दोलन गर्ने तयारीमा जुटेका हौँ ।
प्रतिक्रिया