भट्टीमा समस्या आएपछि हेटौँडा सिमेन्टको उत्पादन बन्द

0
Shares

सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ ।

सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी)मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ ।

सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिए । उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनको भनाइ छ ।

विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो तर हाल कोइलाको समस्या नरहेको बताउँदै उनले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको जानकारी दिए।

सो उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको छ । साथै हेटौँडा सिमेन्ट उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्रीवितरण गर्ने काम भइरहको उद्योग व्यवस्थापनले जनाएको छ । अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ ।

उद्योगका लागि पर्याप्त मात्रामा चुनढुङ्गाको मौज्दात रहेको बताइएको छ । नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो । हाल त्यहाँ करिब तीन सय जनशक्ति रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० चैत २०७९, शुक्रबार  १३ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।