धितोपत्र बजारलाई सीमित व्यवसायीको घेराभित्र राख्न नयाँ ब्रोकर इजाजतको विरोधः धितोपत्र बोर्ड

नोटबजार संवाददाता
काठमाण्डौं ।
२जेष्ठ, २०८०, मंगलवार / May 16, 2023 10:53:am

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई प्रतिस्पर्धी हुन नदिई सधै सीमित व्यवसायीको घेरा भित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई बोर्डले प्रदान गरेको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र प्रकृयाको विरोध भएको जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै संस्थाहरुले धितोपत्र दलाल व्यवसायलाई प्रतिस्पर्धी हुन नदिई सधै सीमित व्यवसायीको घेरा भित्र राख्ने कुण्ठित मनसायबाट प्रेरित भई विरोध भएको बोर्डको भनाई रहेको छ । विभिन्न प्रकारका आधारहीन, कपोकल्पित आरोपहरु बोर्डलाई लगाइएकोमा गम्भिर ध्यानाकर्षण भएको समेत बोर्डले जनाएको छ । बोर्डले पछिल्लो समयमा समग्र धितोपत्र बजार विकास तथा विस्तारमा निरन्तर पहलकदमी लिइरहेको सन्दर्भमा आफ्नो न्यूनतम व्यवसायीक मर्यादालाई समेत कायम नराखी निश्चित आत्मकेन्द्रीत स्वार्थ प्रेरित विज्ञप्ति प्रकाशित गरी समग्र बजार विकासमा बाधा पुर्‍याउन भएको प्रयास भएको भन्दै बोर्डले खेद व्यक्त गरेको छ ।

इजाजत दिँदा कानूनी रुपमा नै समय सीमा तोकी, जवाफदेही पद्धतिको विकास गरी, सार्वजनिक रुपमा आह्वान गर्दै पारदर्शी प्रकृयाबाट मापदण्ड पूरा गरेका सबैलाई समान अवसर प्रदान गरिएको बोर्डको भनाई छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ नेपाल सरकार, मन्त्रिपरिषद्बाट पाँचौं संशोधन मिति २०७९ भदौ २९ मा स्वीकृत भई धितोपत्र दलाल व्यवसायीको खुला प्रवेशको नीतिगत व्यवस्था गरेको थियो । सोही व्यवस्था बमोजिम बोर्डले तीन चरणमा ४१ सीमित कार्य गर्ने धितोपत्र दलाल, ४ पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा १ धितोपत्र व्यापारी गरी कुल ४६ आवेदन प्राप्त भएकोमा ४३ वटालाई तोकिएको समयमै पूर्वाधार तयार गर्न सूचित गरिको छ । प्रकृया नपुगेका तीन वटालाई खारेज गरेको बोर्डले जनाएको छ । बोर्डले पुर्वाधार तयार गर्न अनुमति दिएकोमध्ये १४ आवेदन वित्तीय संस्थाको सहायक कम्पनीको रहेको छ ।

बाह्र वाणिज्य बैंकको सहायक कम्पनीहरु तथा ३१ अन्य संस्थाहरुलाई धितोपत्र दलाल तथा व्यापारीको रुपमा प्रवेश गराउने प्रक्रियाले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तरवृद्धिको साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने बोर्डको दाबी छ । यस कार्यले लामोसमयदेखि लगानीकर्ताबाट माग भई आएको धितोपत्र दलाल व्यवसायीको प्रवेश सम्बन्धी माग सम्बोधन भएको तथा धितोपत्र बजारमा प्रतिस्पर्धाका साथै रोजगारीको समेत सृजना भई अर्थतन्त्रमा समेत योगदान हुने बोर्डको विश्वास छ । साथै, लगानीकर्ताको हकहित संरक्षण र बजार विकास तथा विस्तारका लागि बोर्डले आगामी दिनहरुमा समेत खुला प्रगतिशिल नीतिहरु तर्जुमा गरी कार्यान्वयन गर्दे जाने प्रतिवद्धता व्यक्त गर्दछ ।

यसअघि नेपाल स्टक ब्रोकर एशोसिएसनले गत शुक्रबार विज्ञप्ती जारी गर्दै नेपाल धितोपत्र बोर्डबाट बितरण गर्न लागिएको  नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र प्रकृया तत्काल रोक्न माग गरेको थियो । एशोसिएसनले नेपाल सरकारले नयाँ स्टक एक्सचेञ्जको इजाजतपत्र दिने काम हाललाई स्थगित गरेपछि सो निर्णयको प्रशंसा गर्दै दलाल व्यवसायीको लाईसेन्स पनि तत्कालै रोकी लाइसेन्स वितरणमा भएको आर्थिक अनियमितताको छानविन गरी कारबाही गर्न सरकारसँग माग गरेको थियो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments