विकासको चरणमा पुँजीबजार -निरज गिरीको लेख

निरज गिरी
काठमाण्डौं ।
२१ कार्तिक २०८०, मङ्गलवार Nov 07, 2023 17:49:pm

पुँजीबजार भनेको व्यवसायी र बचतकर्ता तथा साना लगानीकर्तालाई जोड्ने एउटा माध्यम (पुल) हो । एकतर्फ उद्योगी एवं व्यवसायीसँग व्यवसाय गर्ने विचार हुन्छ । अर्कोतर्फ बचतकर्ता तथा लगानीकर्ताहरू हुुन्छन् । उनीहरूको दिमागमा आफ्नो बचत परिचालनबाट फाइदा कसरी लिने भन्ने प्रश्न खेलिरहन्छ । यसरी व्यवसायी र लगानीकर्तालाई जोड्ने काम पुँजीबजारले गर्छ ।

प्राथमिक निष्काशनमार्फत संगठित संस्थाहरूले शेयर निष्काशन गर्दछन् । त्यो संगठित संस्थाले निष्काशन गरेकोे शेयर लगानीकर्ताहरूले खरिद गर्दछन् । संगठित संस्थामा सञ्चालकहरू हुन्छन् । उनीहरूले संस्थाहरूलाई राम्ररी सञ्चालन गरी नाफा कमाई उक्त नाफा आफ्ना सेयरधनीहरूलाई लाभांशको रूपमा दिन्छन् ।

हामी धितोपत्रलाई तरल सम्पत्ति भन्छौं । तरल सम्पत्ति भएको हुुनाले यो शेयर स्टक एक्सचेन्जमा सूचीकृत हुुन्छ । कुनै पनि कम्पनीको शेयर सूचीकृत भएपछि मात्रै दोस्रो बजारमा किनबेच हुन्छ । यसरी दोस्रो बजारमा किनबेच हुँदा शेयर मूल्यमा हुने उतारचढावबाट पुँजीकरण वृद्धिको फाइदासमेत लगानीकर्ताले लिन्छन् ।

त्यसैले समिष्टगतमा पुँजीबजारलाई देशको औद्योगिक तथा आर्थिक उन्नतिको लागि लगानीकर्ताबाट पुँजी संकलन गरेर लगानीकर्तालाई नै पुनः फिर्ता गर्ने एउटा माध्यमको रूपमा लिन सकिन्छ ।

नेपालमा पुँजीबजारको इतिहास

नेपालमा पुँजीबजारको इतिहास त्यति पुरानो छैन । नेपालमा सर्वप्रथम १९९३ सालमा कम्पनी ऐन जारी भयो । १९९४ सालमा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले पहिलो पटक सर्वसाधारणलाई धितोपत्र निष्काशन गरे ।

१९९४ सालमा धितोपत्र निष्काशन भए पनि नेपालमा धितोपत्र कारोबारसम्बन्धी स्पष्ट कानुनी व्यवस्थाको इतिहास करिब ४० वर्षको रहेको छ । धितोपत्र कारोबार ऐन– २०४० ले धितोपत्र कारोबारको सञ्चालन र व्यवस्थापनको सम्बन्धमा कानुनी व्यवस्था ग¥यो । नेपाल सरकारले जारी गरेका धितोपत्रहरू खरिद बिक्रीका लागि आवश्यक कानुनी व्यवस्था गर्न धितोपत्र कारोबार ऐन ल्याइयो । उक्त ऐनअन्तर्गत रहेर सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना भयो ।

२०४६ सालको परिवर्तनसँगै बढेको आर्थिक क्रियाकलापलाई समेट्न तथा पुँजीबजारको प्रवर्धन एवम् विकासका लागि तत्काल रहेको कानुनी व्यवस्था पर्याप्त देखिएन । पुँजीबजारमा निजी क्षेत्रको प्रवेश भयो । सेक्युरिटी खरिद बिक्री केन्द्रले बजार व्यवस्थापन र नियमनको काम गर्दा हुन सक्ने स्वार्थको द्वन्द्वलाई ध्यानमा राखी २०४९ सालमा धितोपत्र कारोबार ऐन, २०४० मा पहिलो संशोधन भयो ।
संशोधनले सेक्युरिटी खरिद बिक्री केन्द्रलाई नेपाल धितोपत्र विनिमय बजार लिमिटेडमा परिणत ग¥यो । संगठित संस्थाले अनुमतिपत्र प्राप्त गरी धितोपत्र बजार सञ्चालन गर्न सक्ने व्यवस्था भयो । धितोपत्र बजारको नियमन निकायको रूपमा नेपाल सरकारबाट २०५० सालमा नेपाल धितोपत्र बोर्डको स्थापना भयो ।

बोर्डले लगानीकर्ताको हकहितको संरक्षणमा ध्यान दियो । धितोपत्र बजार र धितोपत्र व्यवसायीहरूको कामकारबाही नियमित र व्यवस्थित गर्ने र पुँजीबजारको विकास गर्ने काममा बोर्ड केन्द्रित छ । बोर्डले धितोपत्र व्यवसाय सञ्चालन गर्न चाहने संगठित संस्थालाई धितोपत्र व्यवसाय सञ्चालन अनुमतिपत्र दिन्छ । आवश्यक नियम, विनियम तथा निर्देशनहरू बनाउँछ ।

धितोपत्र विनिमय बजार, धितोपत्र व्यवसायी, धितोपत्र कारोबार तथा समग्र धितोपत्र बजारको सुपरीवेक्षण तथा अनुगमनको काम बोर्डको जिम्मामा छ । नियमन व्यवस्थाको पालना नगर्ने संस्थालाई नियमअनुसार कारबाही अगाडि बढाउने कार्यहरू गर्दछ । बोर्डले धितोपत्र बजारसम्बन्धमा अध्ययन, अनुसन्धान तथा चेतना अभिवृद्धि गर्ने तथा बजारसँग सम्बन्धित विषयमा नीति तथा कार्यक्रम तर्जुमा गर्न नेपाल सरकारलाई आवश्यक परामर्श दिने कार्यसमेत गर्दछ ।

बजारको वर्तमान अवस्था

प्राथमिक बजारको अवस्था हेर्दा नेपाल सरकार तथा धितोपत्र बोर्डले लिएका नीतिहरूले गर्दा विविध क्षेत्रका संगठित संस्थाहरू बिस्तारै पुँजीबजारमा प्रवेश गर्न थालेको देखिन्छ । दोस्रो बजार कारोबारमा अत्याधिक उतार चढाव देखिन्छ । दोस्रो बजारको प्रकृति भनेको माथि जाने र तल आउने हुुनुुपर्छ । सधैँ माथि जाने सधैँ तल आउने हुुँदैहुँदैन ।

आर्थिक वर्ष २०५८/०५९ तिर २९२ अंकमा झरेको नेप्से परिसूचक पछि १८ सय अंकसम्म पनि पुुग्यो । २०७५/०७६ तिर झरेर ११ सय अंकसम्म आयो । त्यसपछि फेरि बढेर १८ सयमा पनि पुुग्यो । २०७८ साल भदौतिर इन्डेक्स ३२ सयसम्म पुुगेको थियो । त्यसैले बजारमा उतारचढाव हुुन्छ । उतारचढाव भएन भने बजार एकोहोरो हुन्छ, किनबेच हुँदैन । सेयरबजारमा मानिसहरूको विश्वास मुलुकले लिएका आर्थिक नीतिहरू तथा सोको आधारमा सूचीकृत संगठित संस्थाहरूको कार्य प्रदर्शनमा निर्भर हुन्छ । अहिले बजारको दैनिक कारोबार घटे पनि एक/दुुई वर्ष अगाडि एक दिनको शेयर कारोबार २२/२३ अर्ब रूपैयाँसम्म पुगेको थियो ।

नेपालमा दोस्रो बजार कारोबार बैंकिङ प्रणालीमा तरलता बढेर सहज भएको बेला बढेको देखिन्छ । तरलता अलिक असहज हुन्छ फेरि बजार घट्न थाल्छ । हाम्रो देशको दोस्रो बजार कारोबार मुलुकको आर्थिक अवस्थाभन्दा पनि तरलता अथवा ब्याजदरसँग आश्रित देखिन्छ । ब्याजदर घट्नासाथै बजार बढ्छ । ब्याजदर बढ्नासाथै बजार घटेको देखिन्छ । अहिले ब्याजदर बढेको हुुनाले बजार घटेको अवस्थामा छ ।

औजारको विविधीकरण

वित्तीय औजार भन्नाले सेयर, बण्ड, डिबेन्चर, ऋणपत्र, सरकारी सुरक्षण बिलहरू, म्युचुअल फण्डका इकाइ, इनडेक्स, फ्युचर आदिलाई बुझिन्छ । हाम्रो बजारका समस्याहरू हेर्दै गयौँ भने लगानीकर्ताको लागि वित्तीय औजारहरूको विविधीकरण भएको छैन । धेरै जोखिम लिएर कारोबार गर्न नचाहने लगानीकर्ताहरूको लागि पनि लगानी गर्न सक्ने ठाउँ हुनुपर्छ ।

वित्तीय औजारले बजारमा विविध किसिमका लगानीकर्ताहरूलाई प्रवेश गराउने वातावरण सिर्जना गर्छ । हामी कहाँ ऋणपत्रको त्यति बिक्री छैन । ऋणपत्रको कारोबारमा त्यति जोखिम छैन । जोखिम बहन गर्न नचाहने लगानीकर्ता ऋणपत्रमा आकर्षित हुुन्छन् । जो बढी जोखिम लिन चाहन्छन्, उनीहरू साधारण सेयरतर्फ प्रेरित हुुन्छ । यस्तो किसिमको बजार हुुनका लागि बजारमा विविध किसिमका औजार हुुनुुपर्छ ।

हाम्रो बजारमा साधारण सेयरको मात्रै कारोबार भइरहेको छ । अलिअलि ऋणपत्रको कारोबार सुुरु भएको छ । त्यसले गर्दा हाम्रो बजार जोखिम लिन चाहनेहरूको लागि मात्रै भइरहेको छ । धितोपत्र बोर्ड, स्टक एक्सचेन्जलगायत पँुजीबजारसँग सम्बन्धित निकायहरूका लागि औजारको विविधीकरण चुनौतीको रूपमा रहेको छ ।

धितोपत्र बोर्डले आफ्ना वार्षिक कार्यक्रमहरूमा औजारको विविधीकरणका लागि प्रोत्साहन गर्ने नीति लिए पनि यसमा खास प्रगति हुन सकेको छैन । यद्यपि, स्टक एक्सचेन्जले इन्डेक्स (नेप्से ३०) कारोबार गर्ने भनेर पनि सुुरुवात गर्न खोजिरहेको छ । त्यसले पनि एउटा औजारमा विविधीकरण त गर्ला । यद्यपि, यो डेरिभेटिभ्स कारोबार हो । एउटा थप इन्डेक्स मात्र हो भन्ने स्पष्ट भएको छैन । त्यसैले शेयरबजारमा स्थायित्वको लागि औजारको विविधीकरण हुनु आवश्यक छ ।

वित्तीय संस्थाको बाहुल्यता

हाम्रो बजारको अर्को समस्या भनेको अझै पनि पुँजीबजारमा बैंक र वित्तीय संस्थाको बाहुुल्यता रहनु हो । त्यसले गर्दा पुँजीबजार अर्थतन्त्रसँग सिधै आबद्ध भएन अर्थात् अर्थतन्त्रको ऐना हुन सकेन । यो बैंक र वित्तीय संस्थाको ऐनाजस्तो भएको छ । बैंक र वित्तीय संस्थाका लागि नेपाल राष्ट्र बैंकले कुनै नीति परिवर्तन गर्दा त्यसले बजारमा सिधै प्रभाव पार्दछ ।

बैंक र वित्तीय संस्थाहरूको अतिरिक्त अन्य संस्थाहरू विशेषगरी उत्पादनमूलक क्षेत्रहरू बजारमा आए भने पुँजीबजारको अवस्थामा परिवर्तन हुन्छ । अर्थतन्त्रको ऐनाको रूपमा पुँजीबजारको विकास हुुन्थ्यो । हुुन त धितोपत्र बोर्डले विभिन्न कार्यहरू गरेर यसलाई चाहिने सेवा सुुविधा दिँदै आइरहेको छ । जस्तै; बुुक बिल्डिङ माध्यमबाट शेयर निष्कासन गर्न सक्ने व्यवस्था गरेको छ । प्रिमियम विधिबाट शेयर निष्काशन गर्ने व्यवस्थालाई परिवर्तन गरेको छ । यो भएर विभिन्न कम्पनीहरू, जस्तै; हाइड्रो सेक्टरको कम्पनीहरू आएका छन्, सिमेन्ट उद्योग कम्पनीहरू, औषधीजन्य कम्पनीहरू पनि त्यतिकै इच्छुक छन् ।

धितोपत्र बोर्डले लिएका नीतिहरू अतिरिक्त सरकारले पनि उत्पादनमूलक क्षेत्रका संगठित संस्थाहरूको बजार प्रवेशका लागि विभिन्न नीतिहरूमार्फत प्रोत्साहन तथा सहयोग गरिराखेको छ । जसका कारण बजारमा विविध किसिमको कम्पनीहरू आउने वातावरण बन्दै गइसकेको छ । यो आइसकेपछि भने बजारमा लगानीकर्ताहरूले विविध प्रकृतिका कम्पनीहरू छनौट गर्न पाउँछन् र यथार्थमा हाम्रो पुँजीबजार अर्थतन्त्रको ऐना हुुन्छ ।

वित्तीय साक्षरता

बजारको स्थायित्वको लागि वित्तीय साक्षरता एउटा महत्वपूर्ण पक्ष हो । शेयर बजार सम्बन्धमा लगानीकर्ताहरूलाई दिइने सचेतना कार्यक्रमले लगानीकर्तालाई सुसूचित भई विवेकपूर्णरूपमा लगानी गर्न प्रेरित गर्छ । यसले लगानीकर्ताको जोखिमलाई न्यूनीकरण गर्दछ । अहिले पनि हामीले हेर्यौँ भने लगानीकर्ताहरूले लगानी गर्दा धेरैजसो हल्लाको भरमा लगानी गरेको देख्छौँ ।

आफुले लगानी गर्न लागेको संस्था कस्तो छ, यसले नाफा दिन सक्छ कि सक्दैन, यसको भोलि मूल्य बढ्न सक्छ कि सक्दैन भन्ने कुरा नहेरी विभिन्न किसिमका हल्लाको आधारमा पनि लगानी गरेको देखिन्छ । अझ भर्खर बजार प्रवेश गरेका लगानीकर्ताहरूमा यो प्रवृत्ति बढी देखिन्छ । त्यसैले धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज तथा धितोपत्र व्यवसायीहरूले समन्वयात्मकरूपमा मुलुकभरि नै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न जरुरी छ ।

नियामकीय क्षमता

नियामक निकायले बजारमा असहज अवस्था देखिएको छ भने त्यसलाई तुरुन्त कारबाही गर्न सकेको अवस्थामा बजारप्रति लगानीकर्ताहरूको विश्वास अभिवृद्धि हुन्छ । जसले गर्दा भोलि कसैले बदमासी ग¥यो भने नियामक निकायले त्यसलाई छाड्दैन है भनेपछि त्यो बदमासी गर्ने पनि डराउँछ । लगानीकर्ता पनि विश्वस्त हुन्छन् । विद्यमान अर्थतन्त्र जेजस्तो भए पनि भोलिको भविष्य हेरेर लगानीकर्ताहरूले लगानी गरिहाल्छन् । त्यसैले यस्तो वातावरण सिर्जना गर्न नियामक निकाय पनि बलियो भएर आउनुपर्छ । यसको लागि धितोपत्र बोर्डलाई जवाफदेहितासहितको स्वायत्त संस्थाको रूपमा कार्य गर्ने वातावरण बनाउनुपर्छ ।

धितोपत्र बोर्डको संरचनालाई पनि परिवर्तन गर्नुपर्ने अवस्था देखिएको छ । यहाँ पनि बोर्डको आफ्नै संरचना परिवर्तन गरेर कन्फ्लिक्ट अफ इन्टे«स्ट नहुने किसिमको संरचना बनाउनुपर्छ । धितोपत्र बजारमा विविध क्षेत्रका कम्पनीहरू प्रवेश गर्ने र हरेक क्षेत्रको नियामक निकाय गठन गर्न नसकिने हुनाले धितोपत्र बोर्डलाई नै सूचीकृत संगठित संस्थाहरूको नियामक निकायको रूपमा विकास गर्नुपर्छ ।

नेप्सेको निजीकरण

हाल नेपाल स्टक एक्सचेन्ज सरकारको स्वामित्वमा छ । धितोपत्र बजारको सुरुवाती चरणमा सरकारको सहयोगले गर्दा हाम्रो पँुजीबजार यहाँसम्म आइपुगेको छ । तर अब अन्तर्राष्ट्रिय अभ्यास तथा बजारको वर्तमान अवस्थालाई हेरी सरकारले आफ्नो हात झिकेर निजी क्षेत्रलाई दिनुपर्छ ।

सरकारले केही न्यूनतम शेयर राखेर बाँकी निजी क्षेत्रमा दियो भने त्यसले पनि बजारको विकास गर्न मद्दत गर्दछ । सरकारले केही वर्षदेखि आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पटकपटक नेप्सेको निजीकरण गर्ने घोषणा गरे पनि यो कार्यान्वयन हुन सकेको छैन । नेप्सेलाई यसरी नै अगाडि बढाउने हो भने हाम्रो बजारको विकासका लागि निजी क्षेत्रको थप एक एक्सचेन्जको आवश्यकता भइसकेको छ ।

ऐनको समयसापेक्ष परिमार्जन

हाम्रो कानुुनहरू धेरै पुराना भइसकेका छन् । धितोपत्रसम्बन्धी ऐन २०६३ आएको १७ वर्ष भयो । यो अवधिमा बजारमा धेरै परिवर्तन भइसकेको छ । उक्त ऐनमा कुनै संशोधन भएको छैन । बजारको विकासका लागि कानुनमा समयसापेक्ष परिर्वतन गर्नुपर्ने हुन्छ ।

धितोपत्र ऐनमा हे¥र्यौँ भने कानुनको उल्लङ्घन गरेमा पचहत्तर रूपैयाँदेखि डेढ लाखसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको छ । बजारमा हुने दैनिक कारोबार रकमलाई हेर्ने हो भने सो जरिवाना ज्यादै न्यून भइसकेको छ । कसैले एक लाख पचास हजार तिरेर पचास करोडको फाइदा गर्छ भने डर हुँदैन । अहिलेको मूल एजेन्डा भनेको सरकारले कानुनलाई सुधार गरेर समयसापेक्ष बनाइदिने र धितोपत्र बोर्डलाई एउटा स्वायत्त संस्थाको रूपमा काम गर्ने वातावरण बनाउनुपर्छ ।

दोस्रो एक्सचेन्जको आवश्यकता

हाम्रो पुँजीबजार सधैँ यस्तै रहन्छ भन्ने होइन । भविष्यमा दुईवटा एक्सचेन्जबीचको प्रतिस्पर्धाबाट बजारमा नयाँनयाँ औजारको प्रवेश भई सबै प्रकारका लगानीकर्ताहरूको बजारको रूपमा विकास हुनुपर्छ । उच्च प्रविधिको विकासले लगानीकर्ताहरूले बजारबाट फाइदा लिन सक्ने अवस्थाको सिर्जना हुनुपर्छ ।

धितोपत्र ऐनमा संशोधन गरी नेपाल धितोपत्र बोर्डलाई स्वायत्त संस्थाको रूपमा विकास गरी बजारको नियमन तथा सुपरीवक्षण प्रभावकारी हुनुपर्छ । देश विकासका लागि आवश्यक पुँजी मुलुक भित्रबाट मात्र अपुग हुने हुँदा वैकल्पिक लगानीसम्बन्धी नियमावलीअनुरूप प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलमार्फत विदेशी लगानी ल्याउनु आवश्यक छ । गैरआवसीय नेपालीहरूलाई नेपालमा लगानी गर्न आवश्यक कानुनी व्यवस्थाहरू गरी उनीहरूलाई मुलुकको विकासमा सहभागी गराउनुपर्छ ।

अन्तमा, नेपालमा पुँजीबजारको भविष्य छ कि छैन भनेर हेर्ने हो भने हामी अझै पनि विकासको चरणमा छौँ । उत्पादनमूलक संस्थाहरूको बजारमा प्रवेश भएकै छैन । देशको आर्थिक विकासका लागि उत्पादनमूलक संस्थाहरूको विकास हुन जरुरी छ र यसका लागि लगानीयोग्य पुँजीको आवश्यकता हुन्छ । उक्त आवश्यकतालाई सहयोग गर्र्नको लागि पँुजीबजार पनि तयार भइसकेको छ ।

- गिरी नेपाल धितोपत्र बोर्डका पुर्व कार्यकारी निर्देशक हुन् ।
-नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को वार्षिक जर्नल अर्थचित्र 'प्लानिङ २.०' बाट साभार गरिएको हो ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 


Share on:


Comments