चिसोका कारण एक सातामा सात जना भूकम्पपीडितको मृत्यु


अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहनुभएकी खत्रीको आज विहान मृत्यु भएको हो । उनी हाल त्रिपासको साहरामा बस्दै आएकी थिइन् ।

आज विहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए । यसअघि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो ।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ ।

यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चारजना दीर्घरोगीको ज्यान गएको थियो । चिसोका कारण पछिल्ले एक सातामा सात जना वृद्धवृद्धाको ज्यान गइसकेको छ । गत कात्तिक १७ गते राति जाजरकोटमा केन्द्रविन्दु भइ गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ४ मंसिर २०८०, सोमबार  ०९ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।