सुनको भाउले लगातार तोड्दै छ रेकर्ड, यस्तो छ कारण


सुनको मूल्यले मंगलबार पनि रेकर्ड तोडेको छ । सोमबार १ लाख १७ हजार ४०० पुगेर रेकर्ड बनाएको सुनको भाउ मंगलबार पुनः ३०० रुपैयाँले बढेर अर्को रेकर्ड कायम गरेको हो । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १७ हजार ७०० रुपैयाँ पुगेको छ ।

इजरायल र प्यालेस्टाइन युद्धका कारण सुनको भाउमा वृद्धि भएको सुन चाँदी– व्यवसायी महासंघका पूर्व अध्यक्ष तेज रत्न शाक्य बताउँछन् । यस्तै सेयर बजार फस्टाउन नसक्दा ठूला लगानीकर्ताहरु सुनमा आकर्षित भएकोले पनि सुनको मूल्य बढिरहेको उनको तर्क छ ।

“अहिलेको अवस्थामा वैकल्पिक लगानी सुनमा भइरहेको छ, लगानीकर्तासँग अरु विकल्प नै छैन । यता चीनले पनि रिजर्भ बढाएको छ” उनले भने, “अरुले पनि रिजर्भ बढाउनु पर्नेबारे सोचिरहेका छन्, त्यसैले सुनको भाउ १ लाख २२ हजारसम्म पुग्न सक्छ ।” उनका अनुसार मुद्रास्फितीमा भइरहेको तीव्र बढोत्तरीले पनि सुनको भाउ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले समग्र विश्वको वित्तिय प्रणालीले सुनको भाउलाई असर गरिरहेकोले अझै भाउ बढ्न सक्ने बताए । उनले भने, “अन्तर्राष्ट्रिय बजारमा सन् २०२४ सम्ममा प्रतिऔंस सुनको भाउ ३ हजार डलरसम्म पुग्न सक्छ । ” विश्व बजारमा प्रचलनमा रहेको मुद्रा अमेरिकी डलरको विकल्पमा ब्रिक्स मुलुकहरुले ‘गोल्ड ब्याक करेन्सी’ प्रचलनमा ल्याउने तयारी गरिरहँदा विश्व बजारमा सुनको माग बढिरहेको छ । यसरी विभिन्न कारणले विश्व बजारका लगानीकर्ताहरु सुनतर्फ आकर्षित हुँदा सुनको भाउ बढेको हो । 

मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १७ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १६ हजार ८५० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला चाँदी १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ०१४ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ भने  प्रतिऔंस चाँदी २४ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ मंसिर २०८०, मंगलबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।