प्रभुको चुक्ता पुँजी सेञ्चुरी बैंकलाई प्राप्तिपछि साढे २३ अर्ब रुपैयाँ पुग्ने

0
Shares

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले एक आपसमा मर्जर तथा प्राप्तीमा जान अन्तिम स्वीकृति पाएका छन् ।

नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पुस १८ गते सोमबार सम्पन्न भएको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । यससँगै प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रक्रिया पूरा भएको छ । दुबै बैंकले मंगलबार नै राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पत्र पाइसकेका छन् ।

राष्ट्र बैंकको स्वीकृतिसँगै दुई बैंकबीच एकीकृत कारोबारका लागि बाटो खुलेको छ । दुवै बैंकले पुस २९ गतेदेखि एकीकृत कारोबार कारोबार सुरु गर्ने तयारी थालेका छन् । अब कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृति लिनुपर्ने छ ।

प्रभु बैंक र सेञ्चुरी एक बराबर उक अनुपातको समान हैसियतको सेयर आदान प्रदान अनुपात (स्वाप) का आधारमा प्राप्ति प्रकृयामा जान लागेका हुन् । यसअनुसार सेञ्चुरी बैंकको १० कित्ता सेयर बराबर प्रभु बैंकको पनि १० कित्ता सेयर नै कायम हुनेछ ।

प्राप्तिपछि बन्ने एकीकृत बैंकको नाम ‘प्रभु बैंक’ नै रहनेछ । बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पनि प्रभु बैंककै तर्फबाट हुनेछ । अशोक शेरचन प्रमुख कार्यकारी अधिकृत रहनेछन् भने सेञ्चुरीका सीईओ मनोज न्यौपाने डेपुटी सीईओमा रहने सहमति छ ।

त्यस्तै मर्जपछि बन्ने सञ्चालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहने मर्जर सम्झौतामा उल्लेख छ । प्राप्तिपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुग्नेछ ।

हाल प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार रुपैयाँ र सेञ्चुरी बैंकको ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रूपैयाँ छ । गत आवको नाफाबाट प्रभु बैंकले साढे ६ प्रतिशत बोनस र सेञ्चुरी बैंकले पौने ५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेका छन् । बोनस वितरणपछि प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार रुपैयाँ र सेञ्चुरी बैंकको १० अर्ब ७७ लाख १९ हजार रूपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।