झन्झटिलो प्रक्रियाले सहुलियतपूर्ण कर्जामा आकर्षण कम

0
Shares

सरकारले पिछडिएको वर्ग, युवा तथा महिलालाई उद्यमसँग जोडन् सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको छ । तर, बैक तथा वित्तीय संस्थाले यस्तो कर्जा लिने प्रक्रिया भन्झटिलो बनाइदिँदा कर्जा प्रति लक्षित वर्गको आकर्षण भने कम देखिएको छ ।

बैक तथा वित्तीय संस्थाले कृषि तथा पशु कर्जा, शैक्षिक युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवालाई प्रोजेक्ट कर्जा, महिला उद्यमी कर्जा, दलित समुदायको लागि व्यवसाय विकास कर्जा, उच्च प्राविधिक तथा व्यवसायीक कर्जा, भुकम्प पिडितका लागि घरकर्जा, टेक्सटायल व्यवसाय कर्जा, सिटिइभिटिबाट तालिम लिएका व्यक्ति लागि कर्जा र स्वरोजगार युवा कर्जा शिर्षकमा सहुलियत पूर्ण कर्जा दिदै आएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७९/८० पहिलो चार महिनाको अवधिमा बैक तथा वित्तीय संस्थाले विभिन्न प्रकारका सहुलियतपूर्ण कर्जा बापत दुई खर्ब १० अर्ब १२ करोड रुपैयाँ प्रवाह गरेका छन् । यो रकम गत आवको तुलनामा झण्डै दुई प्रतिशतले कम हो । गत आवको सोही अवधिमा भने बैक तथा वित्तीय संस्थाले दुई खर्ब १३ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

बैक तथा वित्तीय संस्थाले महिला उद्यमी कर्जा बापत ६८ अर्ब ६ करोड १८ लाख रुपैयाँ प्रवाह गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशतले कम हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आवको सोही अवधिमा बैक तथा वित्तीय संस्थाले ७० अर्ब ९९ करोड रुपैयाँ महिला उद्यमी कर्जा वितरण गरेका थिए । अघिल्लो आवमा भने ५० अर्ब ९८ करोड रुपैयाँ यस्तो कर्जा वितरण भएको थियो ।

सरकारले महिलालाई उद्यमी बनाउन सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको हो । तर, कर्जा लिने समयमा बैक तथा वित्तीय संस्थाले अनावश्यक कागजपत्रको माग गर्ने महिला व्यवसायीको गुनासो छ । बैकले माग गरेको कागजपत्र जुटाउन सामान्य महिलाको लागि कठिन हुने उनीहरुको अनुभव छ ।

तथ्यांक अनुसार चालु आवमा ८५ हजार १३८ महिलाले यस्तो खालको कर्जा लिएका छन् । गत आवमा भने ८४ हजार महिलाले लिएका थिए भने अघिल्लो आवमा ५५ हजार ५५१ महिलाले महिला उद्यमी कर्जा लिएको तथ्यांक छ ।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केका कामदारका लागि बैक तथा वित्तीय संस्थाले ५१ करोड ७६ लाख रुपैयाँ कर्जा प्रदान गरेका छन् । गत आवको सोही अवधिमा भने ५६ करोड ४२ लाख रुपैयाँ यस्तो कर्जा प्रदान गरेका थिए । अघिल्लो आवमा ५९ करोड ८० लाख कर्जा प्रदान भएको केन्द्रिय बैंकको तथ्यांक छ ।

त्यस्तै, चालु आवको पहिलो चार महिनाको अवधिमा ९३९ विदेशबाट फर्केका कामदारले कर्जा लिएका छन् । गत आवको सोही अवधिमा ९५२ ले कर्जा लिएका थिए । गत आवको तुलनामा चालु आवमा यस्तो कर्जा लिनेको संख्या घटेको छ । अघिल्लो आवमो भने ८३९ कामदारले यस्तो कर्जा लिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।