सेञ्चुरीको अस्तित्व मेटिँदा प्रभु बन्यो अझै सबल र सुदृढ, पुँजी २३ अर्ब नाघ्यो


सेञ्चुरी कर्मसियल बैंकलाई विलय गरी प्रभु बैंकले एकीकृत कारोबार सुरु गरेको छ । मंगलबार बबरमहलस्थित प्रभु बैंकको मुख्यालयमा आयोजित एक कार्यक्रमका बिच एकीकृत कारोबार सुरु भएको हो । प्रतिनिधिसभा सदस्य बनेका प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनले एकीकृत कारोबारको सुरुवात गरेका हुन् ।

योसँगै सेञ्चुरी बैंक औपचारिक रुपमा प्रभुमा विलय हुँदा उसको अस्तित्व सकिएको छ । प्रभु बैंक लिमिटेडकै नामबाट नयाँ बैंकको एकीकृत कारोबार सुरु भएको हो भने बैंकको अध्यक्षमा प्रभुका लिलाप्रकाश सिटौलाले निरन्तरता पाएका छन् । प्रमुख कार्यकारी अधिकृतमा पनि प्रभुका अशोक शेरचनले निरन्तरता पाएका छन् ।

बराबरी हैसियतमा भएको प्राप्तिपछि प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब रुपैयाँ नाघेको छ भने निक्षेप २ खर्ब ४८ अर्ब र कर्जा प्रवाह २ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । संयुक्त ग्राहक संख्या ३० लाख नाघेको बैंकको शाखा संख्या ३ सय ६५, एटीएम संख्या ३ सय ९ र एक्स्टेन्सन काउन्टर संख्या ७२ पुगेको छ ।

एकीकृत कारोबारको सुरुवात गर्दै बैंकका पुर्वअध्यक्ष भट्टचनले बैंक वित्तीय संस्थाको सबलीकरणबाट मात्र अर्थतन्त्र सबल हुने बताएका थिए ।

सेञ्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले प्रभुमा गाभिने साहसिक निर्णयले नयाँ नतिजा निकालेको बताएका थिए । प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौला विलयसँगै बैंकको आकार बढ्दा सेवा प्रवाहमा विशिष्टता थपिएको बताएका थिए ।

सेञ्चुरी बैंक गाभिएपछि नेपालको बैकिङ इतिहासमा अर्को इँटा थपिएको बताउँदै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले आगामी दुई वर्षमा बैंक सबै पक्षबाट अझ सबल र सुदृढ हुने बताए ।

आगामी दिनमा बैंकलाई नयाँ उचाइमा पुर्याउन प्रभावकारी सेवा प्रवाह गर्न, अर्थतन्त्रमा योगदान पुर्याउन तथा लगानीकर्तालाई उचित प्रतिफल दिन बैंकले प्रभावकारी रुपमा सेवा प्रवाह तथा व्यवसायिक कृयाकलाप गर्दै जाने उनको भनाई थियो ।

एकीकृत कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले पुस २१ गते सेन्चुरीको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्रभु बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।त्यसभन्दा अघि पुस १७ गते आइतबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकको मर्जरलाई स्वीकृति प्रदान गरेको थियो । दुबै बैंकको पुस १४ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।