शिथिल बनेको आभूषण व्यवसाय प्रवर्द्धन गर्न पुस २८ देखि चौंथो जेम एण्ड ज्वेलरी एक्स्पो आयोजना हुँदै

0
Shares

कोरोना लगायतका विभिन्न कारणले शिथिल बनेको आभूषण व्यवसाय लगायत समग्र आर्थिक गतिविधि प्रवर्द्धन गर्न चौंथो जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ आयोजना हुने भएको छ ।

नेपाल रत्न तथा आभूषण संघ (नेग्जा) ले नेपाली ज्वेलरीलाई विश्वव्यापी रूपमा चिनाउने मुख्य लक्ष्यका साथ २०७९ पुस २८ देखि साँझदेखि चार दिनसम्म होटल याक एण्ड यति दरबारमार्ग काठमाडौंमा चौंथो जेम एण्ड ज्वेलरी एक्स्पो २०२३ आयोजना गर्न लागेको हो ।

पुस २९ गते दिउँसो १२ः३० बजे विशेष समारोहका बीच उद्घाटन हुने एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चल्नेछ । पुस २९, ३० र माघ १ गते फेसन शो आयोजना गरिनेछ । माघ १ गतेसम्म चल्ने एक्स्पोले स्वदेशी स्रोत साधनको प्रवर्द्धन र निर्यात विस्तार तथा यस क्षेत्रको शक्ति र प्रमुख सम्भावनालाई उजागर गर्ने केन्द्रीय उद्देश्य राखेको छ ।

पुस २८ गते साँझ ६ बजे होटलमा सञ्चालन गरिने ‘ज्वेलरी फेशन शो’ मा विख्यात भारतीय सिने अभिनेतृ एवं सञ्चारकर्मी मलैका आरोरा नेपाली पोशाक र आभुषणमा -याम्पमा प्रस्तुती दिनेछिन् । आरबि डाइमन्ड ज्वेलर्स प्रालि, गणपति नेपाल ज्वेलर्स प्रालि, सयपत्री (मेरीगोल्ड) ज्वेलर्स, क्वीन्स ज्वेलर्स प्रालि, धनश्री ज्वेलर्स प्रालि, डाइमण्ड प्रालि आदी विभिन्न प्रमुख ज्वेलर्स कम्पनीहरुले फेशन शो गर्नेछन् । कार्यक्रमले नेपाली गहना प्रतिको आकर्षणको साथै मौलिकता, क्षमता र सम्भावनाबारे थप उजागर हुनेछ भन्ने संघले विश्वास लिएको छ ।

व्यवसायीहरुको अबौंको प्रत्यक्ष लगानी भइसकेको आभूषण व्यवसायबाट रोजगारी, राजश्व, निर्यात आदिको माध्यमबाट अति नै महत्वपूर्ण योगदान हुँदै आएको छ । आवश्यक नीति ऐन सहित समग्र रूपमा व्यवसायमैत्री वातावरण सिर्जना गरिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा थप उल्लेखनीय योगदान गर्न सक्ने नेग्जाको अध्यक्ष ज्योत्सना श्रेष्ठले बताइन् ।

कुल ३८ कम्पनीहरू सहभागी एक्स्पो सञ्चालनमा नेपाल सरकारको साथै नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संस्थाहरूको समर्थन रहेको छ । यस इभेण्टको अवलोकन गर्न भारतको जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिलको उच्चस्तरीय प्रतिनिधि मण्डल समेत आउने भएका छन् । एक्स्पो र फेशन शो समेत गरी करिव दश देखि पन्ध्र हजार व्यक्तिले अवलोकन गर्ने अनुमान गरिएको छ ।

यस्ता छन् एक्स्पोको मूलभूत उद्देश्य

क) कोभिड–१९ ले शिथिल बनेको आभुषण व्यवसायमा नयाँ उत्साह र उर्जा पैदा गराउने

ख) नेपाली बहुमूल्य आभूषण व्यवसायको विद्यमान अवस्था, क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा परिचित गराउने ।

ग) आम उपभोक्ताहरुलाई एउटै छानामुनी आफ्नो रोजाई र चाहना अनुसारको डिजाइनका नेपाली बहुमूल्य आभूषणबारे जानकारी लिने र खरिद गर्न अवसर प्रदान गर्ने ।

घ) आभूषण व्यवसायीहरुलाई आम उपभोक्ताको रुचीबारे अद्यावधिक र थप जानकारी प्राप्त गर्ने अवसर उपलब्ध गराउने।

ङ) व्यवसायीहरुलाई नयाँ प्रविधि र व्यापारिक सम्बन्ध विस्तारको अवसर प्रदान गर्ने ।

(च) यस व्यवसायसँग सम्बन्धीत कालीगढ लगायत अन्य जनशक्तिलाई आम उपभोक्ताको चाहना र बजारको अवस्थाबारे प्रत्यक्षमा जानकारी लिने अवसर प्रदान गर्नु आदी ।

छ) आभूषण क्षेत्रमा विद्यमान नवीनतम प्रविधिबारे व्यवसायी, कालिगढ, उपभोक्ता आदि सबैमा अद्यावधिक अवस्थाको जानकारी गराउने ।

ज) नेपाली बहुमूल्य आभुषणलाई अन्तर्राष्ट्रिय बजारमा निर्यातको लागि प्रोत्साहित गर्ने ।

झ) स्वदेशी रत्न पत्थरको उत्खनन, प्रशोधन, उपयोग तथा निर्यात आदीको आवश्यकता र सम्भावनालाई उजागर गर्ने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।