सिप नै नसिकी वैदेशिक रोजगारीमा पुग्छन् अधिकांश नेपाली युवा

0
Shares

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपाली युवाको शिक्षा तथा हातमा सिप नहुने गरेको पाइएको छ । अदक्ष कामदारलाई मुलुक भित्र उपयुक्त रोजगारी तथा उद्यमी बनाउने सरकारी नीतिको अभावमा अन्तिम विकल्पको रुपमा वैदेशिक रोजगारीलाई लिने गरेको पाईएको छ ।

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले प्रकाशन गरेको नेपाल श्रम, आप्रवासन २०२२ प्रतिवेदनका अनुसार गत आर्थिक बर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमध्ये ५४.२ प्रतिशत कामदार अदक्ष रहेको पाइएको छ ।

त्यस्तै, दक्ष कामदारको हिस्सा ३८.३३ प्रतिशत छ भने अर्धदक्ष कामदारको हिस्सा ७.४ प्रतिशत रहेको पाइएको छ । साथै उच्च दक्षता भएका ०.०१ प्रतिशत र व्यवसायिक कामदारका लागि जानेको हिस्सा ०.०६ प्रतिशत रहेको पाइएको छ

प्रतिवेदनका अनुसार आव २०७७/७८ मा ५६.२ प्रतिशत अदक्ष कामदार वैदेशिक रोजगारीमा गए । दक्ष कामदारको हिस्सा ३६.४ प्रतिशत थियो भने अर्धदक्ष ७.३, उच्च दक्षता भएका ०.०२ प्रतिशत र व्यावसायिक पेसाका लागि ०.१ प्रतिशत नेपाली वैदेशिक रोजगारीमा गएको प्रतिवेदनको तथ्यांक छ ।

आव २०७६/७७ मा ५७.८ प्रतिशत अदक्ष कामदार वैदेशिक रोजगारीमा गए । त्यतिबेला दक्ष कामदारको हिस्सा ३२.६ प्रतिशत मात्रै थियो । अर्धदक्ष ९.५ प्रतिशत, व्यावसायिक श्रमिक ०.०९ प्रतिशत, उच्च दक्षता भएका श्रमिक ०.०१ प्रतिशत रहेको थियो ।

प्रतिवेदनअनुसार ४० प्रतिशत पुरुष अवर्गीकृत क्षेत्रमा काम गर्छन् । निर्माण क्षेत्रमा ६.१, सवारी चालक ८ प्रतिशत र औद्योगिक उत्पादनमा ८.९ प्रतिशत पुरुष संलग्न हुने गरेका छन् ।

त्यस्तै ३९.९ प्रतिशत महिला सरसफाइमा संलग्न हुने गरेको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार सेवा क्षेत्र पेसामा महिला २५.६ प्रतिशत सहभागी हुने गरेका छन् । सेवा क्षेत्रअन्तर्गत हेरचाहजन्य सेवा क्षेत्रमा २.८ प्रतिशत संलग्न हुने गरेको पाइएको छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई सिप सिकाएर पठाउने भन्दै तालिम केन्द्र सञ्चालनमा ल्याए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन ।

वैदेशिक रोजगारीमा अधिकांश नेपाली कामदार अदक्ष भएकोले नै बढी जोखिममा पर्ने गरेको श्रम विज्ञहरु बताउँछन् । त्यस्तै, यसले रेमिट्यान्स आप्रवाहमा पनि नकरात्मक असर पर्ने उनीहरुको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।