सगरमाथा जलविद्युत कम्पनीको आजदेखि साढे १५ करोडको आईपीओ खुल्यो

0
Shares

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज (माघ ५ गते) देखि १५ करोड ५६ लाख ८० हजार रुपैयाँ बराबरको १५ लाख ५६ हजार ८०० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत सेयर स्थानीय बासिन्दा र सर्वसाधारणमा जारी हुने सेयरको १० प्रतिशत नेपाली श्रमिकहरुका लागि बिक्री गरेको छ । यसअनुसार कम्पनीले इलाम जिल्लाका स्थानीय बासिन्दाका लागि ११ करोड २० लाख रुपैयाँ मूल्यको ११ लाख २० हजार कित्ता जारी गरेको हो ।

यस्तै कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीहरुका लागि ४ करोड ४६ लाख ८० हजार मूल्यको ४ लाख ३६ हजार ८०० कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको ४३ लाख ६८ हजार कित्ताको १० प्रतिशत सेयर जारी गरेको हो ।

स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतममा १० हजार कित्तासम्म आईपीओ खरिद माग गर्न सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुले न्यूनतम १० देखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

माघ १९ गतेभित्र आवेदन दिनुपर्ने, कहाँ–कहाँबाट भर्न सकिन्छ ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माघ १९ गतेभित्र आवेदन दिनुपर्नेछ भने स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ १९ गते हुनेछ भने उक्त अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा फागुन ५ गतेसम्म भर्न सक्नेछन् ।

स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

साथै प्रभु क्यापिटलले तयार पारेको अनलाईन सम्बन्धी व्यवस्थाबाट समेत प्रति दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुका सि आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

प्रति मेगावाट लागत १९ करोड ८४ लाख

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सुपरमाई ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । ९.६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजारका दरले कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.०४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.४० वर्ष रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति ३० वर्ष ७ महिना बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।