नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार फुकुवा

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ । कम्पनीले प्राविधिक त्रुटीले त्यस्तो हुन गएको र यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएपछि नेप्सेले सेयर कारोबार फुकुवा गरेको हो । 

लघुवित्तले लाभांश घोषणाको जानकारी कारोबार समयअघि नगराएपछि नेप्सेले कम्पनीको सेयर कारोबार रोक्दै तीन कारोबार दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो । कम्पनीले सोमबार कारोबार समयमा लाभांश घोषणा सम्बन्धी निर्णय नेप्सेमा पठाएको थियो ।

मंगलबारको निर्णयबाट लघुवित्तको सेयर कारोबार फुकुवा भएसँगै कम्पनीको बुधबारदेखि नै दोस्रो बजारमा कारोबार सुचारु हुनेछ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ बाट सेयरधनीहरुलाई चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३८.५० प्रतिशतले हुन आउने २२ करोड ५८ लाख ६९ हजार ८६४  रुपैयाँ ८० पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लघुवित्तले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेका कारण सो मितिभन्दा अगाडि कायम सेयरधनीहरुलाई प्राप्ति मितिदेखि दुई आर्थिक वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्थाका कारण लाभांश कर प्रयोजनार्थ रकम प्रस्ताव गरेको छैन ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदनपछि सेयरधनीहरुले पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।