सिएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा, स्थानीय तहका घरेलु, महिला, लघु, उद्यमीलाई निशुल्क स्टल


नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ समितिले आयोजना गर्न लागेको सिएनआई कोशी एक्स्पो २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ । माघ १९ देखि २८ गतेसम्म १ नम्बर प्रदेशको राजधानी विराटनगरमा आयोजना हुन लागेको अन्तराष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सिएनआई प्रदेश १ ले जनाएको छ ।

बिराटगरमा आयोजित पत्रकार सम्मेलनमा सिएआईले पहिलो पटक आयोजना गर्न लागिएको एक्स्पोको तयारी अतिम चरण पुगेको र ऐतिहासिक रुपमा एक्स्पो आयोजना हुन लागेको बताएको हो ।
उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तु लगायत गरी ४०० स्टलहरु रहने एक्स्पोले चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई योगदान पुर्याउने विश्वास सिएनआईको छ ।

अत्याधुनिक ह्याङ्गर (डोम) हरुमा उत्पादनका क्षेत्रहरु अनुसार अलग–अलग रुपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने एक्स्पोले आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका स्थानीय तहका उद्यमीहरुलाई एक्स्पोमा स्टल राख्ने अवसर दिएको छ । स्थानीय तहहरुबाट केही घरेलु, महिला, लघु, साना तथा कृषि क्षेत्रका उद्यमीले निशुल्क स्टल प्राप्त गरेको बताइएको छ ।

प्रदेश १ को पर्यटन प्रवद्र्धनका लागि अनेकौं सम्भावनाको खोजी गर्ने र ती क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्य एक्स्पोले लिएको छ । संसारकै अग्लो सगरमाथादेखि नेपालकै होचो क्षेत्र केचना कवलसम्मको भौगोलिकता र कोसी नदीको ऐतिहासिकतालाई आम अवलोकनकर्ताहरुमाझ उजागर गर्न एक्स्पो सफल हुने अपेक्षा गरिएको छ । जसबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट नयाँ लगानीकर्ताहरुलाई प्रोत्साहन मिल्ने र आकर्षण बढ्ने अपेक्षा आयोजकको छ ।

प्रदेश १ मा आयोजित एक्स्पोहरुमा कहिल्यै सहभागीता नजनाएका वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी लगायतका औधोगिक क्षेत्रका ठुला उद्योग र उत्पादन ब्राण्डहरु पनि यस एक्स्पोमा सहभागि हुन लागेको सिएनआई १ नम्बर प्रदेशले जनाएको छ ।

एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरुबाट पनि उद्योग व्यवसायीले सहभागिता जनाउनेछन् । पर्यटन प्रवद्र्धन गर्न र छिमेकी मुलुकका प्रविधि भित्र्याउन ब्यापक प्रचार प्रसार गरिएको एक्स्पोमा भारतको बिहार, जोगबनी, बथनाह, फारवीसगञ्ज, अररीया, रानीगञ्ज, वीरपुर, भिमनगर, बंगाल सिलगुडीबाट ५० हजार माथि अवलोकनकर्ता आउने अपेक्षा सिएनआईको छ ।

एक्स्पोलाई रोचक र ज्ञानबर्दक बनाउने उदेश्यले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि ‘प्लानेटेरियम’ स्थापना गरिने एक्स्पोमा विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने छ । विभिन्न उमेर अनुसारका दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरु र तारामण्डलको बनावट र त्यसको चक्रबारे जानकारी गराइने बताइएको छ ।

एक्स्पो अवधिभर विविध मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमका माध्यमबाट अवलोकनकर्ताहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ । थारु जातीको परम्परागत घर, सेल्फी पुल, फनपार्क समेतले वालवालिका र युवा वर्ग लगायतका सवै उमेर समुहलाई आकर्षण दिने सिएनआईले जनाएको छ ।

एक्स्पोलाई रमपम तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ भने प्रायोजकहरुमा के.एल. दुगड र म्याजिक जुत्ताचप्पल, सह–प्रायोजकहरुमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स्, चौधरी ग्रुप (सीजी), क्वालिटी बिस्कुट, रुस्लान र क्लिन कन्कृट नेपाल रहेका छन् । त्यस्तै बैंक पार्टनर सिद्धार्थ बैंक, इन्स्योरेन्स पार्टनरमा हिमालय एभरेष्ट इन्स्योरेन्स, हेल्थ पार्टनर विराट मेडिकल कलेज तथा रिसर्च सेन्टर रहेका छन् ।

एक्स्पोलाई मोरंग व्यापार संघ, सहयोगी संस्थाहरु नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल अटोमोबाइल्स एशोसिएसन, हिसान, प्याब्सन, नेपाल नर्सिङ संघ, विराटनगर नसिङ कलेज, मेडिकल एशोसिएसन कोशी, इलेक्ट्रिक्स संघ, सीएनआईवाईएफले सहयोग गरेका छन् । नेपाल सरकारका कृषि, उद्योग, पर्यटनसँग सम्बन्धित मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड र १ नं. प्रदेश सरकारअन्तरगत उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय लगायत विराटनगर महानगरपालिकासहित रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका मोरङले पनि एक्स्पोलाई सहयोग गरेका छन् ।

भुक्तानी सेवाप्रदायक खल्तीबाट एक्स्पो प्रवेशका लागि टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको सिएनआई प्रदेश १ ले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।