एक कप चिया नखाएर भएपनि बीमा गर्न आग्रह

0
Shares

धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले एक कप चिया नखाएर भए पनि जीवन तथा निर्जीवन बीमा गर्न आग्रह गरेका छन् ।

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आयोजनामा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा माघ १९ गते आयोजना गरिएको बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्रले बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण हुने भएकाले सबैलाई बीम गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष मिश्रले समय अनुसार सबै कुरा परिवर्तनशील भएकाले रकम बचत गरेर घर, कृषिबाली र पशुको बीमा गर्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा सहभागीहरुले पशुबीमा दाबी भुक्तानी ढिलो हुने गरेको, बीमाशुल्क बुझाए अनुसारको दाबी भुक्तानी नपाएको, चैतेधान, आँप, माछा लगायतको बीमाबारे स्पष्ट नभएको लगायतका गुनासा गरेका थिए ।

यसैगरी नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा सिरहा जिल्लाको नवराजपुर गाउँपालिकामा माघ १८ गते बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उद्गार यादवले सबै वडाअध्यक्षहरुलाई आ–आफ्ना वडाका गाउँ गाउँ, टोल–टोलमा गएर बीमाका बारेमा प्रचार प्रसार गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले कृषि बीमाका लागि बीमा अभिकर्ता वडा वडामा जानुपर्ने, बीमाका बारेमा जानकारी अभावका कारण बीमा गरेपछि भुक्तानी पाइँदैन भन्ने सोचाई रहेको, दाबी भुक्तानी प्रक्रिया झण्झटिलो रहेको लगायतका धारणा राखेका थियो ।

ती कार्यक्रमहरुमा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले पालिकाका कर्मचारी र भवनको बीमा गर्न, बीमालाई कार्यक्रममा नै समावेश गर्न, न्यून आय भएका वर्ग पहिचान गरी नमूनाका रुपमा बीमा गर्न गाउँपालिकाहरुलाई आग्रह गरेकी थिइन् । साथै, उनले एउटा गाई, एउटा भैंसीको मात्र पनि बीमा गर्न सकिने भएकाले गाई, भैंसी, बाख्राको बीमा गर्न र बीमा गरेपछि दाबी भुक्तानी पाइनेमा ढुक्क हुन सबैलाई आग्रह गरेकी थिइन् ।

कार्यक्रममा सम्बन्धित गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य तथा कर्मचारी, नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक अनिश तिमिल्सिना, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, अगुवा कृषक, बीमा अभिकर्ताहरु लगायतको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।