भारतको पुँजीगत खर्चको लक्ष्य भन्दा धेरैले घट्यो अडानीको सम्पत्ति

0
Shares

विश्वका धनाढ्यका व्यक्तिहरुको सूचीमा दोस्रोबाट २४औँ स्थानमा झरेका गौतम अडानीको सम्पत्ति पछिल्लो एक महिनामा ११ लाख करोड भारुले घटेको छ । जुन भारतले सन् २०२३।२४ मा लिएको पुँजीगत खर्चको लक्ष्य भन्दा धेरै हो ।

सन् २०२३/२४ मा अर्थमन्त्री निर्मला सितारमणले सार्वजनिक गरेको ४५ लाख करोडको युनियन बजेटमा पुँजीगत खर्च ३७.४० प्रतिशतले वृद्धि गर्दै १० लाख करोड गर्ने लक्ष्य छ । यसको तुलनामा अडानी ग्रुपको सम्पत्तिमा आएको गिरावट १ लाख करोड बढी हो ।

भारतले पुँजीगत खर्च ३७.४० प्रतिशतले बढाउने

सन् २०२३ जनवरी २४ मा अमेरिकन रिर्सच संस्था–हिडनबर्गले अडानी ग्रुपका कम्पनीहरु स्टक म्यानीपुलेशन, कर छली र अकाउन्टीङ फ्रडमा संलग्न रहेको सार्वजनिक गर्यो । त्यस पछिका दिनहरुमा अडानी ग्रुपद्धारा सञ्चालित कम्पनीहरुको सेयरमा धारी गिरावट आएको छ ।

हाल अडानी ग्रुपको लगानीमा नौ ठूला कम्पनीहरु सञ्चालनमा रहेका छन् । अडानी ग्रुपले अडानी इन्टरप्राइजेज, अडानी ग्रीन इनर्जी, अडानी पोर्टस्, अडानी पावर, अडानी ट्रान्समिसन, अडानी टोटल ग्यास, अडानी वीलमार, अम्बुजा सिमेन्ट र एसीसी सिमेन्ट कम्पनीमा लगानी गरेको छ । हिडनबर्गको प्रतिवेदन सार्वजनिक भए यता कम्पनीहरुको सेयर मूल्य ५८ प्रतिशतले घटेको छ ।

अडानी ग्रुपको लगानी रहेको एसीसी सिमेन्ट कम्पनीको सेयर मूल्य प्रतिवेदन सार्वजनिक भएको दिन देखि फेब्रुअरी २१ सम्ममा २१ प्रतिशतले घटेको छ । यस्तै अडानी इन्टरप्राइजेजको सेयरमूल्यमा ५४.४४ प्रतिशतको गिरावट देखिएको छ भने अडानी ग्रीन इनर्जीको सेयर मूल्य ७० प्रतिशतले घटेको छ ।

यस्तै अडानी पोर्टस्को सेयरमूल्य २३.३४ प्रतिशत, अडानी पावरको सेयरमूल्य ३७.७२, अडानी टोटल ग्यासको ७७.३८ प्रतिशत, अडानी वीलमारको २८.३२ प्रतिशत र अम्बुजा सिमेन्टको सेयरमूल्य ५७.८८ प्रतिशतले घटेको छ ।

हिडनबर्गले सार्वजनिक गरेको प्रतिवेदनमा गत तीन वर्षमा यी कम्पनीहरुको सेयर मूल्य ३ हजार ६३५ प्रतिशतले बढेको थियो । उक्त प्रतिवेदन सार्वजनिक भएसँगै अडानी ग्रुपका कम्पनीहरुको सेयर मूल्य घट्दा बजार पुँजीकरणमा भारी गिरावट आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।