अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिँदा विश्वकै सेयर लगानीकर्ता त्रसित

0
Shares

अमेरिकाको १६ औँ ठूलो वाणिज्य बैंक, सिलिकन भ्याली बैंक टाट पल्टिएको छ । स्टाटअप तथा टेक कम्पनीहरुलाई भारी मात्रामा कर्जा प्रवाह गर्दै आएको सिलिकन भ्याली बैंक डुब्दा विश्वभरका लगानीकर्ता त्रासमा रहेका छन् ।

डर र लोभ सूचांक (फियर एन्ड ग्रीड इन्डेक्स) अनुसार हाल विश्व सेयर लगानीकर्ताहरु उच्च त्रासबाट गुज्रिरहेका छन् । अमेरिकाको क्यालिर्फोनियामा रहेको सिलिकन भ्याली बैंक डुब्दा त्यसको प्रभाव समग्र अमेरिकी बैंकिङ प्रणालीमा परेको छ ।

सिलिकन भ्याली बैंकमा आएको डुबानको असर अमेरिकाका अन्य ठूला बैंकहरुमा समेत परेको छ । मार्च १० मा सिलिकन भ्याली बैंक टाट पल्टिएपछि बैंक फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशनको नियन्त्रणमा रहेको छ । यससँगै त्रासदीपूर्ण वातावरण सिर्जना हुँदा अन्य बैंकमा लगानी गरेका लगानीकर्ताहरुले समेत सेयर बिक्री गरेका छन् । जसकारण जेपी मोर्गन, गोल्डम्यान स्याच, बैंक अफ अमेरिका लगायतका बैंकहरुको सेयर समेत ओरालो लागेको छ ।

शुक्रबार भएको कारोबारमा बैंक अफ अमेरिकाको सेयर पछिल्लो पाँच दिनमा ११.७० प्रतिशतले घटेको छ भने गोल्डम्यान स्याच ८.५८ प्रतिशत, सीटीग्रुप बैंक ७.७५ प्रतिशत, अमेरिकन एक्सप्रेस ७.३४ प्रतिशत, सिटिजन्स बैंक १६.३१ प्रतिशत ओरालो लागेका छन् ।

यस्तै सिलिकन भ्याली बैंक टाट पल्टिदा त्यसको प्रभाव आइटी कम्पनीमा पनि परेको छ । बैंकले टेक स्र्टाटअप तथा भेन्चर क्यापिटल कम्पनीहरुलाई कर्जा प्रदान गर्दै आएको थियो । अमेरिकी केन्द्रीय बैंकले आक्रामक शैलीमा ब्याजदर बढाउँदा लगानी उठाउन कसरत गरिरहेका टेक कम्पनीहरु थप मर्कामा परेका हुन् ।
अमेरिकी कर्पोरेट इतिहासमा सन् २००८को आर्थिक संकटपछिको दोस्रो ठूलो वित्तीय झड्का सिलिकन भ्याली बैंक टाट पल्टिनु रहेको छ ।

सन् १९८३ मा स्थापना भएको बैंकले सन् २०२२को अन्त्यसम्ममा पनि राम्रो प्रर्दशन गर्दै आइरहेको थियो । सन् २०२२को अन्त्यमा बैंकले २०९ अर्ब डलर बराबरको कुल सम्पत्ति रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

गत बुधबार बैंकले ब्यालेन्स सीट वृद्धि गर्नका लागि २ अर्ब २५ करोड डलर बराबरको सेयर बिक्री गर्ने सूचना सार्वजनिक गरेसँगै निक्षेपकर्ताहरुले धमाधम निक्षेप निकालेपछि बैंकले थप निक्षेप दिन नसक्ने अवस्थामा पुगेको हो ।

अमेरिकाका भेन्चर क्यापिटलमा आधारित भई स्थापना भएका स्टाटअप टेक कम्पनी तथा हेल्थकेयर कम्पनीहरु समस्यामा परेका छन् । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले विस्तारित मौद्रिक नीति अवलम्बन गर्दा राम्रो प्रर्दशन गरिरहेका कम्पनीहरुले सिलिकन भ्याली बैंकमा निक्षेप जम्मा गरेका थिए । तर बैंकले घाटामा बन्डहरु बेचेको र ब्यालेन्स सीट बढाउनका लागि थप सेयर बिक्री गर्ने घोषणा गरेपछि कम्पनीहरुले नै निक्षेप निकालेका थिए । अन्ततः बैक धरासायी बन्न पुग्यो ।

बैंक धरासायी बनेसँगै यसका अन्य बैंकिङ पार्टनर बैंकहरुको पनि सेयर मूल्य घटेको छ । वेस्टर्न अलायन्स ब्यानकर्पको सेयरमूल्य शुक्रबार मात्रै २० प्रतिशत बढीले घटेको छ भने न्युवर्कको सिग्नेचर बैंकको पनि सेयर मूल्यमा २३ प्रतिशतको गिरावट आएको छ । यस्तै २४ अन्य बैंकहरुको सेयर मूल्यमा कमी आएको छ जसकारण अमेरिकी बैंकिङ सूचांक केबीडब्लु एकै दिनमा १५ प्रतिशतले ओरालो लागेको छ ।

शुक्रबार सिलिकन भ्याली बैंक टाट पल्टिँदा लगानीकर्ताहरुले सन् २००८ को दृश्य परिकल्पना गरी त्रासमा अन्य बैंकहरुको सेयर समेत बिक्री गरेका छन् । विश्व अर्थतन्त्र मन्दी उन्मुख भएको अवस्थामा अमेरिकाको १६ औँ ठूलो वाणिज्य बैंक नै टाट पल्टिनुले अमेरिका जस्तो विकसीत देशमा समेत बैकिङ सुरक्षा संयन्त्र कमजोर रहेको पुष्टि हुन्छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।