‘विश्लेषक धेरै विज्ञ कम हुँदा अर्थतन्त्र र राजनिति फस्टाउन सकेन’


विश्लेषक धेरै तर वित्र नहुँदा नेपालको अर्थतन्त्रमा सुधार हुन नसकेको सरोकारपालाहरुले बताएका छन् । पोखरामा आयोजित लथालिङ्ग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले सरकार र नीति निर्माताहरुले विज्ञतालाई प्राथमिकतामा राख्न नसकेको औंल्याएका हुन् ।

कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टि नेपालका सांसद मनिष झाले देश तदर्थवादमा अल्झिँदा समस्या भएको बताए । “हामीकहाँ विश्लेषक धेरै तर विज्ञ कम भए र राजनीतिमा पनि त्यस्तै भएको छ । हामीले तदर्थवादलाई नहटाएसम्म समस्या घट्दैन् । हामीसँग योजनाहरु धेरै छन तर रणनीतिहरु केहि छैनन,” सांसद झाले भने । उनले देशमा सँधै राजनीतिक योजनाहरु बन्ने गरेपनि अर्थतन्त्रका लागि कुनै योजनाहरु नबनेकोमा रोष समेत प्रकट गरे ।

व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष किशोर श्रेष्ठले अहिले उद्यमीहरुको मन रोएको भन्दै कसरी उद्योग व्यवसाय चलाउने भनेर रुने अवस्था बनेको बताए । उनले व्यवसायीहरुलाई आगामी २ वर्षसम्म बैंक ऋण र ब्याज तिर्न सहजता र सहुलियत दिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यापार व्यवसाय सुनसान भएको र सामान्य खर्च धान्न समेत कठिन भएको बताए । उनले बजार सुनसान भएको, उद्योगको उत्पादन घटेको रोजगारी कटौती भएको र खर्च धान्ने अवस्था नभएको बताए ।

“हामीले सामान्य खर्च धान्नै सकेका छैनौं । अझ अहिलेको अवस्थामा बैंकको ऋण र ब्याजदर तिर्ने त कल्पना भन्दा बाहिरको कुरा हो,” उपाध्यक्ष श्रेष्ठले भने । उनले अर्थतन्त्र धरासायी भएको र बजार पिडामा बाँचिरहेको गुनासो गर्दै त्यसलाई समाधान गर्न नियामक र सरकारले तत्काल योजना ल्याउनुपर्ने माग गरे ।

बेस रेट तोकिसकेपछि बैंकहरुले थप प्रिमियम ब्याज तोकेर लिने परिपाटीको अन्त्य गरिनु पर्ने बताएका श्रेष्ठले ब्याजदर १० प्रतिशत भन्दा धेरै गर्न नहुनेमा जोड दिए ।

साना तथा मझौला व्यवसायीहरुका लागि अझ तल्लो विन्दुको व्याजदर कायम गर्नुपर्ने उनको भनाई थियो । उद्योगी व्यवसायीहरुको हरेक समस्यासँग जुधेर आफू अगाडि बढिरहेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघको आगामी नेतृत्व लिनका लागि अग्रसर भएको श्रेष्ठको भनाई थियो ।

त्यस्तैगरी कार्यक्रममा पोखरा अनुसन्धान केन्द्रका सुजन रेग्मीले पूँजीगत खर्च नबढाएसम्म अर्थतन्त्र सुधार नहुने बताए । उनले पूँजीगत खर्च बढाउँदै सरकारले अर्थतन्त्र वृद्धि गर्न सुधारका कदम चाल्नुपर्ने बताए ।

उनले भने, “गण्डकी प्रदेशमा कृषि र पर्यटनको ठूलो संभावना छ । कृषिलाई पर्यटनसँग जोडेर अभियान चलाउन सके प्रदेशको आर्थिक वृद्धिमा सकारात्मक सुधार हुनेछ ।” रेग्मीले यसबाहेक प्रदेशमा जलविद्युत र पूर्वाधारमा समेत संभावना भएको भन्दै यसको लागि नीतिगत स्थीरतामा जोड दिए ।

कार्यक्रममा पूर्व गर्भनर डा चिरन्जीवी नेपालले सरकारमा बस्नेहरुले ध्यान नदिँदा अर्थतन्त्रको अवस्था यस्तो भएको भन्दै नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छः पूर्व गर्भनर नेपाल

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले अहिलेको अवस्थामा व्यापार व्यवसाय गर्न कठिन भएको भन्दै त्यसमा सरकारले हेर्नुपर्ने सुझाब दिएका थिए । व्यवसायीहरुले अहिले बजारमा नगद अभाव हुँदा भएको वस्तु तथा सेवा समेत खपत नभएको भन्दै बजारमा सहजरुपमा नगद प्रवाह गर्नुपर्ने वातावरण र नीति आवश्यक भएको बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।