सगरमाथा जलविद्युतको आईपीओ बिक्रीमा


सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ चैत ८ गते (आज) देखि बिक्रीमा आएको छ । कम्पनीले आम सर्वसाधारणमा ३५ लाख ८१ हजार ७६० कित्ता सेयर बिक्री खुला गरेको हो ।

आईपीओको निष्कासन छिटोमा चैत १२ गते बन्द हुनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा चैत २२ गते सम्म बैंकिङ समय बिक्री खुला रहनेछ ।

सर्वसाधारणले न्यूनतम १० देखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइट साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सगरमाथा जलविद्युतको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ (४३ लाख ६८ हजार कित्ता) बराबरको आईपीओका सार्वजनिक निष्कासन गरेको हो ।

जसमा सर्वसाधारणमा जारी हुने सेयर संख्याको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता विदेशमा रहेका नेपाली श्रमिकका लागि, ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरिसकेको छ । सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले सार्वजनिक निष्कासन (आईपीओ) का लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपि आईआर त्रिपल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको बारेमा

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नम्बर २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ ।

९।६ मेगावाट क्षमतायुक्त सुपरमाई ए जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार ७७ रुपैयाँका आधारमा कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँ रहेको छ । आयोजनाले ३२ जेठ २०७७ देखि जलविद्युत उत्पादन सुरु गरिसकेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.०४ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.४० वर्ष रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति ३० वर्ष ७ महिना बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।