सेयर बजार ओरालो लाग्दा चिन्तित हुनुहुन्छ ? एसआइपीमा गर्न सकिन्छ सुरक्षित लगानी


चियापसलमा होस् या सभाहल, मानिसहरु अक्सर आफ्नो मोबाइल फोनमा नेप्से सूचांकको ग्राफ हेरिरहेका हुन्छन् । ग्राफ ओरालो लागिरहँदा उनीहरुको मुहारमा उदासीनता प्रस्ट देखिन्छ । उनीहरुलाई देख्दा धितोपत्र बजारमा लगानीको एउटै माध्यम सूचीकृत कम्पनीहरुको सेयर मात्र भएजस्तो लाग्छ ।

सुरक्षित लगानी गर्नका लागि सूचीकृत कम्पनीहरुको सेयरभन्दा अरु प्रभावकारी उपकरणहरु पनि हुन्छन् । अल्पकालीन लगानी र नाफाका हिसाबले सूचीकृत कम्पनीको सेयर उचित मानिए पनि त्यसमा जोखिम पनि उत्तिकै हुन्छ । त्यही उच्च जोखिमका कारण नै कुनै बेला धेरै कमाई गर्नेहरु अहिले धेरै नोक्सानीको अवस्थामा छन् ।

तर सेयर बाहेकका अन्य उपकरणहरुमा जोखिम कम हुने भएकाले औषतमा राम्रो प्रतिफल पाइरहने अवस्था बन्छ । यसका लागि बजारमा विभिन्न उपायहरु छन्, जसले जोखिम बिना नै राम्रो प्रतिफल दिइरहेका हुन्छन् । त्यस्तै सुरक्षित लगानीका धेरै टूलहरु मध्येको एक हो सिष्टमेटिक इन्भेष्टमेण्ट प्लान (एसआइपी) अर्थात् प्रणालीबद्ध लगानी योजना ।

के हो एसआईपी ?

एसआइपी लगानीको एउटा माध्यम हो, जसमा लगानीकर्ताहरुले आफ्नो आम्दानीबाट खर्च कटौती गरी इच्छाएको रकम मासिक, त्रैमासिक, अर्ध–वार्षिक वा वार्षिक रुपमा लगानी गर्न सक्छन् । एसआइपी खुलामुखी सामूहिक लगानी कोषको एक औजार नभई लगानी बढाउने योजना हो ।

सानो सानो रकमलाई मासिक रुपमा संकलन गरी लगानी गर्न धितोपत्र बजारमा चाख राख्नेहरुलाई प्रेरित गर्नु नै एसआइपीको उद्देश्य हुन्छ । यस्तो योजनाबाट लगानी सुरु गर्न ठुलो रकमको आवश्यक्ता पनि पर्दैन भने क्रमिक रुपमा लगानीको आकारलाई आम्दानी भएको रकम परिचालन गरी बढाउन सकिन्छ । लगानीकर्ताले न्युनतम १ हजार रुपैयाँदेखि आफ्नो क्षमताले भ्याएसम्मको रकम एसआइपीमा लगानी गर्न सक्छन् ।

उदाहरणका लागि, नियमित आम्दानीको स्रोत नभएको एक विद्यार्थीलाई उसको परिवारले सिमित खर्च उपलब्ध गराउँछ । नियमित खर्चका लागि परिवारबाट पाउने उक्त रकममध्ये उसले मासिक रुपमा १ हजार रुपैयाँ बचत गर्छ । बचत गरेको उक्त रकम राखेर मात्र त्यसको मूल्य वा आकारमा वृद्धि हुँदैन भन्ने उसले बुझ्छ र त्यही १ हजार रुपैयाँको मासिक एसआइपी गर्छ भने वर्षको अन्त्यमा के हुन्छ भन्ने लाग्छ ? वर्षको अन्त्यमा उक्त विद्यार्थीले लगानी गरेको १ हजार रुपैयाँ कम्पाउन्डीङ गरेर एसआइपी व्यवस्थापकहरुले प्रदान गर्ने वार्षिक कम्पाउन्डिङ दर र लाभांशका आधारमा १० देखि १५ प्रतिशतले बढ्न सक्छ । व्यवस्थापकले लाभांश ५ प्रतिशत वितरण गरेको छ र वार्षिक कम्पाउन्डिङ दर १० प्रतिशत छ भने वर्षको अन्त्यमा उक्त विद्यार्थीले गरेको १ हजारको लगानी १५ प्रतिशतले बढ्छ । अर्थात अब उसको कुल लगानी रकम १ हजार १५० रुपैयाँ हुन पुग्छ(पहिलो किस्ताका आधारमा मात्र गरिएको गणना हो । वर्षभरी गरिने लगानीमा यो रकम धेरै हुन आउँछ) । यही क्रममा प्रत्येक वर्ष उसको लगानी रकमको आकार वृद्धि हुँदै जान्छ ।

नेपालमा एसआइपीको अवधारणा नौलो भएता पनि विभिन्न मर्चेन्ट बैंकहरुले खुलामुखी सामूहिक कोष मार्फत एसआइपी सुविधा सञ्चालनमा ल्याइरहेका छन् । जसमध्येको एक हो एनआइसी एशिया डाइनामिक डेब्ट फन्ड ।

एनआइसी एशिया डाइनामिक डेब्ट फन्ड

एनआईसी एशिया बैंकको भगिनी संस्था एनआइसी एशिया क्यापिटलले सन् २०२० नोभेम्बर २७ मा ५० करोड रुपैयाँको बिज आकार भएको खुलामुखी सामूहिक लगानी कोष – एनआइसी एशिया डाइनामिक डेब्ट फन्ड लन्च गरेको थियो । यो फन्डको उद्देश्य धितोपत्र बजारमा सुरक्षित लगानी गर्न चाहने हरेक लगानीकर्तालाई क्षमता अनुसारको रकम लगानी गर्न प्रेरित गर्नु रहेको छ ।

एनआइसी एशिया डाइनामिक डेब्ट फन्ड अन्तर्गत लगानी गर्नका लागि ग्राहकहरुले एसआइपी गर्न सक्छन् । खुलामुखी सामूहिक कोषको निश्चित आकार हुँदैन र लगानीमा भएको वृद्धिसँगै निरन्तर रुपमा कोषको आकार बढिरहन्छ । बन्दमुखी सामूहिक लगानी कोष जस्तो खुलामुखी सामूहिक लगानी कोषको निश्चित परिपक्व अवधि पनि हुँदैन । र यो दोस्रो बजारमा सूचीकरण नहुने भएकाले यसको किनबेच पनि आन्तरिक रुपमा नै हुन्छ ।

सन् २०२० नोभेम्बर देखि सञ्चालनमा आएको एनआइसी एशिया डाइनामिक डेब्ट फन्डको आकार सन् २०२३ को मार्च महिनासम्ममा १ अर्ब पुर्याउने तयारी भईरहेको र धितोपत्र बोर्डबाट अनुमति लिइसकेको एनआइसी एशिया क्यापिटलका प्रमुख कार्यकारी सञ्चालक प्रज्ञारत्न शाक्यले बताए ।

एनआइसी एशिया डाइनामिक डेब्ट फन्ड खुलामुखी सामूहिक लगानी कोष हो, जस अन्तर्गत लगानीकर्ताहरुले एसआइपी गर्न सक्छन् । खुलामुखी सामूहिक लगानी कोषमा लगानीकर्ताहरुले आफूले इच्छाएको रकम, इच्छाएको समयावधिका लागि लगानी गर्न सक्छन् । लगानीकर्ताहरुले एकमुष्ट लगानी नभई त्यसलाई विभाजन गरी सानो सानो अंशमा आफूले इच्छाएको समयसम्म लगानी गर्न सक्ने शाक्य बताउँछन् । न्युन जोखिममा लगानीकर्तालाई राम्रो प्रतिफल दिने र समयानूकुल आम्दानी वृद्धि भएसँगै लगानीको आकार समेत बढाउँदै जान मिल्ने सुविधा यो लगानी कोषमा छ ।

एनआइसी एशिया डाइनामिक डेब्ट फन्डका विशेषताहरु

एनआइसी एशिया डाइनामिक डेब्ट फन्ड न्युनतम जोखिम भएको सुरक्षित खुल्लामुखी सामूहिक लगानी कोष हो । जस अन्तर्गत धितोपत्र बजारको जानकारी नै नभएका जो कोहीले पनि लगानी गरी उच्च प्रतिफल हासिल गर्न सक्छन् । यस फन्डलाई एनआइसी एशिया क्यापिटलले नै व्यवस्थापन गर्ने गरेको छ । दोस्रो बजारमा सूचीकरण नहुने भएकाले आन्तरिक रुपमा किनबेच हुने भएकाले यस्ता फण्डमा लगानी गर्न ब्रोकरकोमा जानु पर्दैन ।

एनआइसी एशिया डाइनामिक डेब्ट फन्डको प्रमुख विशेषता नै एसआइपी हो । यस फन्डमा लगानीकर्ताहरुले एसआइपी मार्फत लगानी गर्न सक्छन् । यसमा लगानी गर्दा उमेरको पाउवन्दी नभएका कारण भर्खर जन्मिएको शिशुको नाममा पनि अभिभावकले एसआइपी गर्न सक्छन् । आम्दानीको स्रोत बढेसँगै लागनीकर्ताहरुले एसआइपीको आकार समेत वृद्धि गर्न सक्छन् ।

एसआइपीका साथै यस फन्डमा एसआइपी बुस्टरको समेत प्रावधान रहेको शाक्यले बताए । जसमा लगानीकर्ताले आफ्नो आम्दानी बढेको समयमा एसआइपीमा पनि लगानी बढाउन सक्छन् । जस्तै एक जनाले महिनाको ४० हजार आम्दानी गर्छ र उसले मासिक ४ हजार रुपैयाँको एसआइपी गरेको छ र दशैंको समयमा उसको बोनस आयो र बोनस सहित उसको उक्त महिनाको आम्दानी ६० हजार पुग्यो । यस्तो समयमा उक्त व्यक्तिले लगानी बढाउन खोज्यो भने एसआइपी बुस्टर सेवा लिन सक्छ । जसमा सिमित महिनाको लागि एसआइपी बुस्ट हुन्छ र बुस्टर अवधि समाप्तपछि पुरानो शैलीमा लगानीलाई निरन्तरता दिन सकिन्छ ।

यो फन्डको अर्को विशेषता भनेको स्यालरीभ्यान्टेज हो । स्यालरीभ्यान्टेज अन्तर्गत कुनै एक कम्पनीले आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीहरुमा लगानी गर्ने बानी विकास गर्न चाहेमा वा सबै कर्मचारीहरुको लगानी गर्ने इच्छा भएमा कम्पनीले नै व्यवस्थापककोमा गई कर्मचारीहरको एसआइपी गरिदिन सक्छ । जुन कर्मचारीको तलब या स्यालरी मार्फत कटौती हुन्छ ।
एसआइपीका साथै फन्डले एसडब्लुपी अर्थात् सिस्टमेटिक वीथड्रल प्लानको सुविधा समेत सञ्चालन गरेको छ । जसमा लगानीकर्ताहरुले आफुले इच्छाएको समयपछि कोषबाट रकम निकाल्न चाहेमा प्रणालीबद्ध रुपमा रकम निकाशी गर्न सक्छन् । लगानीकर्ताहरुले एकमुष्ट अथवा मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा आफ्नो इकाइहरु बिक्री गरी रकम हासिल गर्न सक्छन् ।

एनआईसी एशिया डाइनामिक डेब्ट फन्डमा दर्ता हुनका लागि यहाँ क्लिक गर्नुहोस् वा उल्लेखित पेब ठेगानामा जानुहोस् : https://nicddf.nicasiacapital.com/Modules/MainPage/SIPRegistration.aspx

लगानीकर्तालाई के फाइदा हुन्छ ?

एसआइपी गर्दा लगानीकर्ताहरुमा सबैभन्दा पहिले बचत गर्ने बानीको विकास हुन्छ । बचतसँगै लगानी गर्ने बानीको विकास हुनुका साथै लगानी गरेको रकम निरन्तर कम्पाउन्ड भइरहेको हुन्छ ।

एनआइसी एशिया डाइनामिक डेब्ट फन्ड नेपालको पहिलो डेब्ट फन्ड हो । यो कोषको ८० प्रतिशत रकम व्यवस्थापकले आम्दानी सुरक्षित भएका औजारहरु (डिभेन्चर, फिक्स्ड डिपोजिट) मा लगानी गरेको छ भने २० प्रतिशत रकम इक्युटीमा आधारित औजारहरुमा लगानी गरिएको छ । सुरक्षित क्षेत्रमा हुने लगानीका कारण नै लगानीकर्ताले गर्ने लगानी उच्च सुरक्षित हन्छ ।

यस्तै लगानीकर्ताहरुले बजारमा हुने उतारचढावको फाइदा समेत लिन सक्छन् । बन्दमुखी सामूहिक लगानी कोषमा लगानीकर्ताहरुले एकमुष्ट लगानी गर्छन् । तर खुलामुखी अन्तर्गत लगानीकर्ताहरुले मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा निरन्तर लगानी बढाउन सक्छन् । बन्दमुखी लगानी कोषमा लगानीकर्ताले एकमुष्ट लगानी गरेपछि आगामी समयमा कोषको नेट एसेट भ्यालु (न्याभ) घट्न सक्छ । तर खुलामुखीमा लगानीकर्ताहरुले कोषको न्याभ घट्दै जाँदा पनि एकै मूल्यमा धेरै इकाइ पाउन समेत सक्छन् ।

यस्तो फन्डमा लगानी गर्नका लागि लगानीकर्ताहरुले एनआइसी एशिया क्यापिटलको वेबसाइट, क्यापिटलकै मोबाइल एप र नजिकको क्यापिटलको शाखामा गई भौतिक फारम भरी लगानी सुरु गर्न सक्छन् । नेपालमा लगानीको पहुँच विस्तार र मानिसहरुलाई दीर्घकालीन रुपमा दिगो सम्पत्ति आर्जन गर्न सघाउनु नै फन्डको मुख्य उद्देश्य रहेको शाक्यले बताए । लगानीको पहुँच वृद्धिका लागि यस फन्डको वितरकमा विभिन्न बैंक वित्तिीय संस्था तथा मर्चेण्ट बैंकरहरुलाई बितरक तोक्ने तयारी भईरहेको पनि शाक्यले जानकारी दिए ।

यो फन्डमा लगानी गर्दा लगानीकर्ताले कुनै शुल्क अर्थात् इन्ट्री लोड अन्तर्गतको रकम बुझाउनु पर्दैन । लगानीकर्ताको आफ्नो इकाइ बिक्री गर्ने समयमा एक्जीट लोड अन्तर्गतको निश्चित रकम मात्रै व्यवस्थापकलाई भुक्तानी गर्नु पर्ने हुन्छ ।

एनआइसी एशिया क्यापिटलका साथै सिदार्थ क्यापिटल, एनआइबीएल एस क्यापिटल र एनएमबी क्यापिटलले पनि खुलामुखी सामुहिक लगानी कोष सञ्चालन गरी एसआइपी योजना लागु गरिरहेका छन् । माथि उल्लेख गरिए अनुसार सबै योजनाले कम्पाउण्डिङ आधारमा लगानीकर्ताको बिज रकमको आकार बढाउने काम गर्दछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।