रावा इनर्जीको आईपीओ चैत २३ देखि, कसले दिन पाउँछन् आवेदन ?

0
Shares

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चैत २३ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र खोटाङका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खोटाङ्गका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो । जसअनुसार प्रतिसेयर १०० रुपैयाँ दरका २ लाख ८० हजार कित्ता आईपीओ बिक्रीमा आउनेछ ।

यसैगरी कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याएको सेयरको १० प्रतिशत अर्थात् ५६ लाख रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्नेछ । जुअनुसार वैदेशिक रोजगारीमा रहेकाले प्रति सेयर १०० रुपैयाँ अंकित दरका ५६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीयको आईपीओमा खोटाङ जिल्ला केपीलासगडी गाउँपालिका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गाविस) का सम्पूर्ण वडा बासिन्दाहरूले आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

कहाँबाट दिन आवेदन ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयरको मोबाइल एप, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्छन् ।

यस्तै स्थानीय बासिन्दाले आयोजनाको कार्यालय, सेञ्चुरी कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादीबाट पनि आवेदन दिन सक्नेछन् ।

कति र कहिलेसम्म दिने आवेदन ?

चैत २३ गतेदेखि बिक्री खुला हुने उक्त आईपीओमा दुबै तर्फका लगानीकर्ताले २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाको हकमा वैशाख ७ गतेसम्म निष्काशित सबै सेयर बिक्री नभएको खण्डमा भने बैशाख २२ गतेसम्म आवेदन समय लम्बिनेछ ।
आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम स्थानीय बासिन्दाहरूले १० हजार कित्ताका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले २ हजार ८०० कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीका बारेमा

रावा इनर्जी कम्पनी लिमिटेड कम्पनी ऐन २०६३ बमोजिम विसं २०६६ असार ३२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा रावा इनर्जी डेभलपमेन्टको नाममा प्राइभेट कम्पनीको रुपमा दर्ता भएको थियो ।

आयोजना प्रभावित क्षेत्र र स्थानीयको सहभागिता विस्तार गर्ने हेतुले कम्पनी २०७६ असार १५ गते पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको थियो । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं महानगरपालिका वडा नम्बर १० नयाँ बानेश्वरमा रहेको छ ।

कम्पनीले केपीलासगढी गाउँपालिका खोटाङ्गमा ३ मेगावाट क्षमताको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको अनुमानित लागत ६४ करोड ६५ लाखका हिसाबले प्रतिमेगावट निर्माण अवधिको ब्याज सहित २१ करोड ५५ लाख रुपैयाँ छ । आयोजनको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष ११ महिना रहेको छ । कम्पनीमा गरिएको साधारण लगानी फिर्ता हुन ८.८९ वर्ष र डिस्काउन्टमा गरिने लगानी फिर्ता हुन २४.५५ वर्ष लाग्नेछ ।

रन अफ रिभर प्रकृतिको उक्त आयोजनाले १६.८२ गिगाहर्ज विद्युत उत्पादन गर्दै आइरहेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच २०७३ साउन २४ गते भएको सम्झौता बमोजिम कम्पनीले २०७६ असोज ४ गतेदेखि व्यवसायीक रुपमा विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जडान गरि बिक्री गर्दै आइरहेको छ ।

कम्पनीको अधिकृत तथा जारी पुँजी २८ करोड र चुक्ता पुँजी १९ करोड ६० हजार रहेको छ । जारी पुँजीको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाखको आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २८ करोड पुग्नेछ ।

कुल ४१ जना संस्थापक सेयरधनी रहेका छन् । आयोजनामा उर्जा, बैंकिङ्ग, स्वास्थ्य, शैक्षिक, निर्माण परामर्श एवं ब्यापार व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समयदेखि दख्खल व्यक्तिहरु रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।