बैंक विरुद्धका सडक गतिविधिबारे अन्तर्राष्ट्रियस्तरबाट समेत सोधपुछ आउन थाल्यो: बैंकर

0
Shares

उद्योगी, व्यवसायी तथा ऋणीले बैंक विरुद्ध सडकमा उत्रिएको विषयलाई लिएर अन्तर्राष्ट्रिय स्तरबाट सोधपुछ हुन थालेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । अन्तर्राष्ट्रिय रुपमा कारोबार गर्ने बैंकहरुको विरुद्ध भएका गतिविधिबारे सोधपुछ हुनुले लगानीकर्ताको विश्वास झनै कमजोर देखिएको उनको बुझाइ छ ।

हालसम्म पनि नेपालको रेटिङ हुन सकेको छैन । रेटिङ नभएको मुलुकमा पनि विदेशी लगानीकर्ताले विश्वास गरेर लगानी ल्याउने गरेको बताउँदै अध्यक्ष केसीले भने,“बैंकिङ क्षेत्र प्रति भएको चौतर्फी अट्याक र सडक प्रर्दशनले विदेशी लगानीकर्ताको मनोबल कमजोर भएको छ ।” रेटिङ भन्दा पनि विश्वासका आधारमा लगानी गर्ने लगानीकर्ताले बैंक विरुद्धका पछिल्ला गतिविधिको बारेमा बारम्बार सोधपुछ गर्ने गरेको गुनासो गरे ।

त्यसैपनि प्रत्यक्ष वैदेशिक लगानी न्यून आउने गरेको छ । बैंक वित्तीय संस्था अहिले आन्तरिक स्रोतमै निर्भर हुनुपर्ने अवस्था रहेको बताउँदै उनले भने,“अलि-अलि आएको प्रत्यक्ष वैदशिक लगानी समेत बैंक विरुद्धको आन्दोलनले प्रभावित पार्ने निश्चित छ ।”

पछिल्लो समयमा बैंक विरुद्ध भनेर गरिएका विरोध बैंकहरुलाई मात्र नभई सम्पूर्ण निक्षेपकर्तालाई प्रति पनि हो । बैंकहरुले १८ लाख ऋणी मात्र नभई ४ करोड भन्दा धेरै निक्षेपकर्तालाई पनि हेर्नुपर्ने हुन्छ । त्यसैले अहिले बैंकलाई दोष दिँदै अनावश्यक दबाब सृजना गर्नका लागि गरिएका सडक गतिविधि जति सक्दो चाडो सबै पक्ष संयम भएर रोक्नु पर्ने केसीको ठम्याइ छ ।

अहिले अर्थतन्त्रमा देखिएको समस्या बैंकिङ क्षेत्रको ब्याजदरले होइन । यसभन्दा अघि २०६९ सालमै बैंकिङ क्षेत्रको ब्याजदर अहिलेको भन्दा धेरै रहेको अध्यक्ष केसीको भनाइ छ । बजारमा भ्रम फैलाएर तथ्यलाइ बंङगाएर बैंक विरुद्ध अट्याक भएको बताउँदै केसीले भने,“अहिले अथतन्त्रमा देखिएको समस्या ब्याजदर भन्दा पनि बाह्य कारण धेरै छन । जस्तो युक्रेन रसिया वारले बढाएको महंगी, उच्च आयात तथा न्यून आन्तरिक उत्पादन र कोरोना महामारी प्रमूख कारण हुन् ।”

अहिलेको अवस्थामा साना तथा मझौला उद्योग, माइक्रो एसएमइ र निर्माण क्षेत्रमा केही समस्या देखिएको छ । त्यसले गर्दा बैंकिङ क्षेत्रमा डिफल्टर बढ्ने भन्दै उनले भने,“तर, बैंकले राइट अफ नै गर्नुपर्ने अवस्था निकै कम हुन्छ । कर्जालाई धितोले संरक्षण गरेको हुनाले त्यो डराउनुपर्ने अवस्था छैन ।” हरेक कर्जाको ६० देखि ६५ प्रतिशतसम्म धितोले नै कभर गर्ने भएकाले जटिल समस्या नआउने केसीको बुझाइ छ । त्यसैले अहिले कर्जाको सावाँ ब्याज तिर्न नसक्दा केही डिफल्टर बढ्दा खराब कजार्मा देखाउनु पर्ने हुन्छ । तर, डिफल्ट भएको सबै कर्जा राइट अफ नै गर्नुपर्ने अवस्था नहुने जानकारी उनले दिए ।

नेपालका उद्योगी, ब्यापारी तथा व्यवसायीको लगानीको आधार इक्वीटी भन्दा पनि कर्जामा आधारीत छ । आफुले लगानी नगरी अधिकासं ब्यापार व्यवसाय बैंक ऋणमा निर्भर भएपछि समस्या आउने भन्दै उनले भने,“ १८ लाख ऋणी छन उनीहरुको मात्र मुख हेर्न भएन । ब्याजदर विस्तारै घटाउने प्रयास गरिरहेका छौ ।” अहिले कर्जाको प्रिमियम घटाएका छौ भने मुद्दती र बचतको ब्याजदर पनि केही घटाएको अवस्था छ । यसले आगामी महिनाको आधारदरलाई घटाउने भएकाले बैशाख महिनामा पनि ब्याजदर केही घट्ने देखिन्छ। 

अर्थतन्त्रमा देखिएको समस्याले खराब कर्जाको प्रेसर पनि बढेको अध्यक्ष केसीको भनाई छ । “खराब कर्जाको विषयम पनि छलफल गरेका छौं,” उनले भने,“तर, बास्तविकतामा त्यस्तो समस्या नै बढाउने खालको नहुने बैंकरहरुको निष्कर्ष छ ।” सञ्चालनमा रहेका सबै बैंकहरुको सुचकहरुको विश्लेषण गर्दा सबल र सन्तोजनक नै अवस्थामा रहेको उनको दावी छ ।

अहिले वित्तीय क्षेत्रमा देखएिको समस्या ब्याजदरले भन्दा पनि बाह्य कारणले भएकाले सडकबाट समाधान खोजिनु निन्दनिय रहेको उनको भनाइ छ । “उद्योगी ब्यापारी र ऋणीले सडकबाट समाधान खोजी गरीनु दुर्भाग्यपुर्ण छ,” उनले भने,“ बैंकर्स संघ यसको घोर विरोध गर्छ ।”

बैंकहरुले कर्जा विस्तार नगरेकाले पनि तरलताको अवस्था सहज भएको संघका कार्यकारी सदस्य तथा एभरेष्ट बैंकका प्रमूख कार्यकारी अधिकृत सुदेश खालिङले बताए । बैंकहरुले डिबेञ्चर र स्थानीय सरकारको निक्षेपलाई स्रोतमा गणना गर्न पाउने व्यवस्था असार सम्म कायम छ । अहिलेको अवस्था असारसम्म नै रहेको खण्डमा सरकारले त्यो सहुलियतलाई निरन्तरता दिने आश्वासन समेत दिएको उनले जानकारी दिए । चौथो त्रैमासमा सरकारी खर्च बढ्ने भएकाले निक्षेप बढ्ने विगतको अभ्यास यस वर्ष पनि कायम रहने अपेक्षा बैंकरहरुको रहेको उनले बताए ।

“सरकारी खर्च बढेको खण्डमा केही सहज हुने देखिन्छ,” उनले भने,“ सरकारी खर्च बढेको खण्डमा समस्यामा देखिएको निर्माण क्षेत्रमा समेत केही सुधार आउने निश्चित छ ।” अहिलेको अवस्थामा बैंकहरुले रिकभरी गर्दा समेत संयमित भएर गर्दै आएको जानकारी समेत उनले दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।