आर्थिक विस्तार र मुलुकको हित भन्दा अन्य उद्देश्य बजेटमा छैन : अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट आर्थिक गतिविधिको विस्तार तथा मुलुकको हितको लक्ष्य राखेको ल्याएको बताएका छन । उनले कुनै व्यक्ति वा समुदायलाई पक्षपोषण गर्ने गरी नभई समग्र अर्थतन्त्र र देश केन्द्रीत भएर बजेट ल्याएको दाबी गरेका हुन ।

‘देशको हित र व्यवसाय फैलियोस भन्ने भन्दा अर्को मोटिव राखेर बजेट निर्माण गरएिको छैन,’ मन्त्री डा. महतले भने,“”कसैलाई फेवर गरेको भन्ने पुष्टि हुन्छ भने छोडेर हिड्न तयार छु ।” आगामी आर्थिक वर्षको बजेटको आकार (१७ खर्ब ५१ अर्ब रुपैयाँ) ठूलो भयो कि भन्ने आफुलाई पनि लागेको उनले बताए । तर, समय अनुसार आर्थिक गतिविधि विस्तार गर्ने गरी खर्च बढाउने हो भने ठूलो होइन भन्ने मन्त्री महतको तर्क छ ।

आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुने तथा साढे १२ खर्बको राजस्व पनि उठ्ने उनको दाबी छ । “कर प्रणालीमा गरीएको सुधार, दायरामा गरीएको विस्तार तथा चुहावट नियन्त्रणले लक्ष्य अनुसारको राजस्व उठ्न समस्या छैन,”मन्त्री महतले थपे,“भ्याटलाई विस्तार गरिएको छ, राजस्वमा गरीएको सुधारले कर असुली बढ्छ । अहिले नउठेको राजस्व आगामी वर्षमा जसरी पनि उठ्छ ।”

वित्त नीति र मौद्रिक नीति आवश्यकता अनुसार संशोधन र परिमार्जन हुन्छ । त्यसैले आगामी बजेटका लक्ष्य हासील गर्न मद्दत पुग्ने गरी मौद्रिक नीति आउनेमा मन्त्री महत निश्चित छन् । वित्तीय नीति र मौद्रिक नीति कस्तो हुने भन्ने कुरा समय र आवश्यकताले निर्धारण गर्ने मन्त्री महतको भनाई छ ।

सरकारले आगामी आर्थिक वर्षमा वैदेशिक अनुदान पनि बढ्ने अनुमान गरेको छ । विगतका सरकारहरुले बैदेशिक सहायतालाई खर्च गर्न नसकेर पनि कम आउने गरेको उनको बुझाई छ । बैदेशिक सहायताको रकम खर्च बढाएको खण्डमा आउने आकारमा पनि वृद्धि हुने उनको बुझाई छ ।

त्यसैगरी पुँजीगत खर्चको सन्दर्भमा सरकारले खर्च गर्ने मात्र नभनेर कसरी खर्च गर्ने सन्दर्भमा समेत स्पष्ट खाका बजेटमा समावेश गरेको उनले बताए । “सरकारले खर्च गर्ने विधि र तरिका समेत बजेटमा उल्लेख गरेको हुनाले आगामी आवमा पुँजीगत खर्च नहुने भन्ने कुरै छैन,” मन्त्री महतले थपे ।

आगामी आवमा सरकारले तलब पेन्सन तथा सामाजिक सुरक्षा बापतको भुक्तानी गर्न कुनै समस्या नहुने समेत उनले स्पष्ट पारे । सरकारले हिजो पनि दिएको र आगामी दिनमा पनि यस्ता खालका दायीत्व पुरा गर्ने विषयमा आफु प्रतिवद्ध रहेको मन्त्री महतको भनाई छ ।

प्रति सासंद ५ करोडको बजेटको व्यवस्थालाई फरक तरीकाबाट ब्याख्या भएको बताउँदै मन्त्री महतले भने,“सासंद आफैले खर्च गर्न पाउदैनन, सासंदले सिफारीस गरेको योजनामा लगानी हुने व्यवस्था छ ।” यो विषयलाइ गलत तरिकाबाट नबुझ्न समेत उनले आग्रह गरे । एक करोड भन्दा माथिको योजना विडिङ मार्फत निर्माण गर्नु पर्ने भएकाले सांसद कोषको रकमलाइ झनै पारदर्शी रुपमा खर्च हुने गरी यसको व्यवस्था गरीएको उनको भनाई छ । अहिले आलोचना गरिएको भएपनि आगामी दिनमा सबैभन्दा धेरै राम्रो उपयोग सांसद कोषको हुने उनको दावी छ ।

धितोपत्र बजारमा आयकर र पुँजीगत लाभ करको विषयमा देखिएको अन्योल बारे बोल्दै अर्थमन्त्री महतले सेयर बजारलाई असर गर्ने कुनै कार्यक्रम नभएको बताए । “धितोपत्र बजारलाई निरुत्साहित पार्ने नभई लगानीकर्ताको हितमै छ,” उनले भने,“ सेयर बजारका लगानीकर्तालाई थप करको बोझ पर्ने गरी बजेट आएको छैन ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।