पुँजीबजारको आयमा लाग्ने कर हिजो कै यथावत छ, पुँजीगत लाभकर नै अन्तिम हो

0
Shares

धितोपत्र बजारमा लगानी गर्ने व्यक्तिगत र संस्थागत लगानीकर्ताकाले तिर्ने करको विषयमा आयकर ऐनमा कुनै पनि संशोधन गरीएको छैन । आयकर ऐन अनुसार सेयर बजारको आयमा हिजो जस्तो शिर्षकमा कर लाग्थ्यो आज पनि त्यहि नै लाग्छ ।

पुँजीबजारमा खासगरी सेयर बजारको व्यवसायिक रुपमा कारोबार गर्नेहरुले अहिले ठूलो घाटा बोकेर हिडिँरहेका छन् । किनकि एउटा सेयर बिक्री गर्दा लगानीकर्ताले मुनाफा गरेको हुन्छ र अर्कोमा घाटा भइरहेको हुन्छ । जुन घाटा उसले व्यहोरिरहेको छ, त्यसलाई त उसले समायोजन गर्न पाएको छैन् । आर्थिक ऐन २०८० मा गरिएको व्यवस्थाले पुरानोलाई राफसाफ गरेर जुन लगानीकर्ताले ऋण लिएर लगानी गरेको छन्, बैंकलाई ब्याज तिरेका छन्, घाटा बेहोरिरहेका छन् त्यसलाई राफसाफ गर्नका लागि छुट सहितको मौका प्रदान गरिएको हो । त्यसमा पनि संस्थागत रुपमा लगानी गर्दै आएका लगानीकर्ताको हकमा यो व्यवस्था ल्याइएको हो ।

व्यक्तिगत लगानीकर्ताको हकमा पुँजीगत लाभकर नै अन्तिम कर हो । कुनै एक व्यक्तिले सेयरबजारमा लगानी गरेर पुँजीगत लाभकर तिरेर आम्दानी गरेको अवस्था छ भने त्यो आय व्यक्तिको करयोग्य आयमा जोडिदैन । उसले त्यसरी गरेको बाहेकको आम्दानीमा व्यक्तिगत आयकरको सीमाका आधारमा कर लाग्छ ।

आयकरको सिद्धान्त अनुसार कुनै मानिसले गरेको आम्दानीमा कर लाग्ने हो, सामान्य भाषामा आयमा कर लाग्ने हो । कुनै एक कारोबारमा कर लाग्ने र अर्कोमा घाटा भयो भने त्यसमा नलाग्ने भन्ने त हुँदैन । समग्रमा उसले आफ्नो कुल आम्दानीमा नाफा भयो वा घाटा भयो भने उसले फर्वाड गर्न पाउँछ । र एड्भान्समा तिरेको कर चाहिँ उसले पछि तिर्ने करमा मिलान गर्न पाउँछ वा फिर्ता नै पाउँछ भन्ने हो । आयकरको सिद्धान्तलाई पुँजीबजारमा पालना गरेर लगानीकर्ताको सुरक्षा गर्न सरकारले खोजेको हो । 

कसैले अग्रिम १० लाख रुपैयाँ जम्मा गरेको छ र वर्षको अन्तिममा उसले ५० लाख रुपैयाँ घाटा भइरहेको छ भनेपछि त एकातिर ऊ घाटामा छ र अर्कोतिर कर तिरिरहेको छ । यो व्यवस्था अन्त्य गर्न र आयकरको सिद्धान्त पालना गर्न र लगानीकर्ताको हितमा ल्याइएको व्यवस्था हो । यो व्यवस्था कर लिनका लागि भन्दा पनि लगानीकर्ताको हित होस् भन्ने उद्देश्य र आयकरको सिद्धान्त अनुरुप काम अगाडि बढाउने उद्देश्यले अघिल्लो शुल्कलाई मिनाहा गरिदिएको हो ।

हाल हरेक कारोबारमा हुने नाफामा मात्रै कर लाग्ने होइन, घाटामा समेत कर लाग्छ । अग्रिम कर भनेको त अग्रिम हो नि त, अरु व्यवसायमा चाहिँ लगानीकर्ताले घाटा राफसाफ गर्न पाउने, कर फिर्ता पाउने प्रणाली छ तर यसमा नहुँदा हामीले यसमा पनि यो व्यवस्था होस् र लगानीकर्ताले घाटा व्यहोरिरहेको छ र पछि नाफा गर्यो भने त्यो घाटा राफसाफमा मदत पुगोस् भन्ने हो । आयकर तिरिरहँदा लगानीकर्ताले खुद आम्दानीमा कर तिरोस् भन्ने हो ।

पहिलेको व्यवस्था चाहिँ कुनै व्यक्तिले गैरव्यवसाय सम्पत्तिको रुपमा, व्यवसाय नभईकन गरेको कामहरुको लागि हो । पछिल्लो समयमा धेरैले यसलाई व्यवसायको रुपमा नै अघि बढाए र घाटा पनि बेहोरिरहेका छन् । त्यो घाटामा सरकारले कम्तिमा पनि कर लिएको छ भने अलिकति सहुलियत होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरीएको हो । पहिलेको आयकर व्यवस्थालाई संरचनागत बनाउन खोजिएको हो ।

घरजग्गाको विषयमा पनि समस्या उही हो । कसैले कार्यालय खोलेर कर्मचारी राखेर व्यवसायीक रुपमा घरजग्गाको खरिद बिक्री गरिरहेको छ भने पनि त्यसलाइ व्यवस्थीत गर्न खोजीएको हो । कुनै बेला मूल्य बढेर नाफा कमाएको छ र कुनै बेला मूल्य सस्तिँदा घाटा बेहोरिरहेको छ भने त्यो राफसाफ गर्न पाउनु पर्यो । अब कुनैबेला पैसा थियो, कारोबार गरेको छ, सम्पत्ति छ भने सम्पत्ति शुद्धिकरणमा विवरण देखाउँदा उनीहरुले केही रकम तिर्नुपर्ने रहेछ भने त्यो तिर्न र त्यसलाई वैधानिक माध्यममा लैजानका लागि घरजग्गा कारोबारमा यो व्यवस्था ल्याइएको हो ।

आर्थिक विधेयक २०८० को दफा २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायीक कारोबार गर्नेलाइ छुट सम्बनधी व्यवस्था गरेको छ । सो अनुसार प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिला गर्न बाँकीहरुले आर्थिक वर्ष २०७६/६६ देखि २०६९/८० सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन २०५८ बमोजमको करको ५० प्रतिशत रकम २०८० चैत मसान्तभित्र दाखिला गरेमा सो भन्दा अघिल्ला आर्थिक वर्षहरुको कर, शुल्क तथा व्याज मिनाहा हुनेछ छ ।

सेयर बजारबाट आय गर्दा पुँजीगत लाभकरको रुपमा ५ र ७.५ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ । अब त्यसमा पनि नाफा नोक्सान के हुन्छ, अरु खर्चहरु होला, विकास लागत (डेभलपमेन्ट कस्ट) होला, त्यो सबै हेरेर छुट गरेको र पहिले तिरेको टिडिएस कटाएर आयकर तिर्नुपर्ने हो भने तिर्छ र नोक्सान सार्नु पर्ने हो भने सार्छ । बढी भएको पैसा क्लेम गर्छ पछि फिर्ता पाउँछ र त्यहि सम्बन्धमा आयकरको सिद्धान्तमा आधारित भएर जानु पर्यो भन्ने हो ।

पछिल्लो समयमा सेयर कारोबारको आयमा लाग्ने कर बढेको भनेर हल्ला बजारमा फैलाएर त्रास उत्पन्न गराइयो । करको विषय जोडेर बजार घटाउन चलखेल गरी घटेको मूल्यमा सेयर खरिद गर्ने काम भयो । यस सन्दर्भमा धितोपत्र बोर्डले बजेट आएपछिका दिन सेयर खरिद गर्ने लगानीकर्ताको विषयमा छानवीन गर्न आवश्यक छ । बुधबार विभाग र लगानीकर्ताका संघ संस्थाका प्रतिनिधीबीच छलफल भएको छ । सो छलफलमा लगानीकर्ताहरुले विगतको व्यवस्थालाई परिवर्तन नगरिएको स्पष्ट भएर फर्किएको अवस्था छ ।

प्रिमियम आम्दानी बापत लाभांस वितरण गर्दा र मर्जरको लाभमा कर

बारगेन पर्चेज गेनको विषयमा अकाउन्टिङको सिद्धान्त र आयकर ऐनले कर तिर्नुपर्छ भन्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मर्जरको स्वीकृति दिँदा नै कर तिर्नुपर्छ भन्ने सहमति भएर नै स्वीकृति दिएको हुन्छ । अन्योलता बढाउन कम्पनीहरुले केही पनि नतिरी बसे । त्यसलाई सहजीकरण गरेर प्रिन्सिपल ट्याक्स मात्रै बुझाए भने अन्य शुल्क मिनाहा गर्ने व्यवस्था गरिएको हो । पहिले नबुझाएको करलाई जरिवाना गर्दा १०० प्रतिशत नै तिर्नुपर्ने हुन्छ र त्यो गाह्रो पर्न सक्छ । तसर्थ हामीले यो व्यवस्था गरेका हौँ ।

यस विषयमा महालेखा परिक्षकको कार्यालयबाट पनि असन्तुष्टि रहेको छ । तसर्थ हामीले प्रिन्सिपल ट्याक्स चाहिँ बुझाउनु होस् बाँकी मिनाहा भनेर भनिरहेका छौँ । पहिलेको अन्योलतालाई हटाएर फ्रेस सुरुवात गर्ने उद्देश्यले यो सुविधा दिएको हो ।

अब यसमा यो नियम पालना गर्दिन पहिले अनुसार नै गर्छु भन्न पनि पाउनुहुन्छ । म मुद्दामा जान्छु भन्न पनि पाउनुहुन्छ । सबै वैधानिक अधिकार त करदातासंगै छ । यो व्यवस्था जबरजस्ती मान्नु नै पर्छ भन्ने त होइन । आउनुस् भनेर रेड कार्पेट बिछ्याइरहेका छौँ, आउने नआउने करदाताको इच्छा हो । आउन पनि सक्नुहुन्छ, नआउन पनि सक्नुहुन्छ । म यो सुविधा लिन्न, कानुन बमोजिम जान्छु भन्नु हुन्छ भने त्यो पनि पाइयो । यो व्यवस्था बाध्यात्मक होइन, स्वऐच्छिक हो । समस्या नै समस्या बनाएर त हामीले पनि राख्नु भएन नि । दुवैलाई न्यायोचित हुने अवस्था बनोस् भनेर यो व्यवस्था अघि सारिएको हो ।

प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा कर तिर्नुपर्ने आयकर ऐनमा स्पष्ट व्यवस्था छ, आयकर ऐनको दफा ५६ (३) मा स्पष्ट उल्लेख भएता पनि केही कारणले अन्योलता रहेको छ । अहिले चाहिँ यसलाई निकासा दिऊ भन्ने उद्देश्यले यो व्यवस्था गरेको हो । कर कस्ले तिर्ने भन्ने विषयमा संस्थाले आफ्नो अकाउन्टिङ कसरी राखेको छ भन्नेमा पनि निर्भर हुन्छ । जस्तै १०० रुपैयाँको सेयर ५०० रुपैया तिरेर खरिद गरेको छ । ४०० रुपैयाँ कम्पनीलाई नाफा भयो र त्यो ४०० रुपैयाँ कम्पनीले अरु सेयर सदस्यलाई निशुल्क वितरण गर्यो । विद्यमान व्यवस्थामा ४०० रुपैयाँको ३० प्रतिशत कर तिर र बाँकी लाभांश वितरण गर भनेको हो ।

तर यसरी गर्दा त अरु सदस्यले एक रुपैयाँ नतिरी सो रकम फ्रीमा पाउँछ भन्ने बुझाइ जुन छ । त्यसलाई आयकर एनेको दफा ५६ले स्पष्ट व्याख्या गरेता पनि अलमल भएपछि हामीले यो समस्या समाधान गर्ने उद्देश्यका साथ व्यवस्था गरेका हौँ । यो व्यवस्था ऐच्छिक हो । गर्नु नै पर्छ भनेको पनि त छैन । हिजो पनि उहाँहरुसंग विकल्प थियो आज पनि छ । हिजो ब्याज, जरिवाना तिर्नु पथ्र्यो अहिले हामीले ब्याज, जरिवाना सबै मिनाह गरेर साँवा आयकर मात्रै बुझाउन भनिरहेका छौँ । हामीले यो सुविधा दिन्छौँ भनेपछि यो कुरा संसदमा गएको हो ।

यहाँ त संसदले किन छुट दियो भनेर प्रश्न गर्ने अवस्था समेत आउँछ । सामान्य रुपमा पनि, लेम्यान धारणाबाट जाँदा पनि त हामीले ६ लाख रुपैयाँ आम्दानी गर्यौं भने १ प्रतिशत आयकर तिर्नुपर्छ । १ रुपैयाँ नतिरी सबै करोडौँ आम्दानी गर्दा कर लगाउनु हुन्न भन्नु त सिद्धान्त नै गलत भयो नि । यो त समता, सामाजिक न्यायको हिसाबले पनि मिल्दैन नि । आम्दानी गर्नेसँग आयकर नलिने, नगर्नेसँग आयकर लिने भन्ने सिद्धान्त कहिँ हुन्छ ? त्यो मात्रै होइन सुन्दैछु, एनसेलले २३ हजारमा प्रिमियम मूल्यमा सेयर जारी गर्दै छ । कोही मान्छेले २३ हजार तिरेर १०० रुपैयाँको सेयर पाउँछ भने सो हालका लगानीकर्ताले २२ हजार ९०० रुपैयाँ कर नतिरीकन लैजान पाउनु पर्ने अवस्था रहन्छ ।

तर्सथ भविष्यमा पनि आयकरको व्यवस्था चाहिँ यो हो है भनेर हामीले स्पष्ट पार्न खोजिएको हो । विगतका कुरा लिएर बस्नुहुन्न, अड्किनु हुन्न भनेर यो व्यवस्था गरेका हौँ । पुँजीबजारलाई अहिलेको आयकर नीतिले फरक पार्ने भन्ने विषय नै होइन । हामी यसलाई प्रक्रियागत रुपमा अगाडि बढाउन प्रणालीबद्ध रुपमा अगाडि बढ्छौँ, फर्मको विकास गर्छौ, छलफल गर्छौँ, कसरी गर्ने, के गर्ने, लगानीकर्तालाई सहजीकरण हुने गरी, लगानीमा असर नपर्ने गरी र क्यास फ्लो व्यवस्थित हुनेगरी प्रक्रिया अगाडि बढाउँछौँ ।

(आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीसँग गरिएको कुराकानीमा आधारित)

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १७ जेठ २०८०, बुधबार  १९ : ४७ बजे