शेर्पा स्पोर्टसको ९ महिनाको आम्दानी ३८ करोड, ट्रेकिङ्गले बढायो व्यापार

0
Shares

शेर्पा आउटडोर स्र्पोट्स गुड्स इन्डष्ट्रिज प्रालिले चालु आर्थिक वर्षको ९ महिनामा ३८ करोड आम्दानी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ मा ४१ करोड ६० लाख सञ्चालन आम्दानी गरेको थियो । चालु आवको ९ महिनाको सञ्चालन आम्दानीलाई आधार मानी गत आवको सञ्चालन आम्दानीसँग तुलना गर्दा कम्पनीको आम्दानी बढ्ने देखिन्छ ।

गत आवको तुलनामा चालुआवको ९ महिनामा कम्पनीका अन्य वित्तीय सूचंकाकमा सुधार देखिएको छ । ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा चालुआवको ९ महिनामा कुल सञ्चालन आम्दानीको ३२.६ प्रतिशत रहेको छ । जुन गत आवमा १३.६ प्रतिशत थियो ।

सन् १९९४ मा स्थापना भएको कम्पनीले जर्सी, ज्याकेट, ट्राउजर, ट्रेकिङ ज्याकेट, ब्याग, टेन्ट, जुत्ता, मोजा लगायतका सामाग्रीहरुको बिक्री वितरण गर्दै आएको छ। सन् २०२१ को जुलाई महिनामा कम्पनीले नेपाल स्काउटसँग दीर्घकालीन सम्झौता गरेको छ । सम्झौता पछि कम्पनीले नेपाल स्काउटका सबै तहका पोसाक, ब्याच, ट्रयाक सुट लगायतका विभिन्न सामाग्रीहरु उत्पादन गर्ने जिम्मेवारी पाएको छ । जसकारण कम्पनीको आम्दानी आगामी दिनमा बढ्ने देखिन्छ।

हाल कम्पनीको उत्पादन युनिट काठमाडौँमा मात्रै सिमित रहेको छ । तथापि कम्पनीले झापामा दोस्रो उत्पादन युनिट निर्माण गर्ने तयारी गरेको छ । कम्पनीमा काजी शेर्पाको एकल स्वामित्व रहेको छ ।

पछिल्लो समयमा नेपालमा टे«किङ गर्नेहरुको सङ्ख्या आकर्षक रुपमा वृद्धि भएको छ । ट्रेकिङ्गका लागि आवश्यक पर्ने झोला, ज्याकेट, जुत्ता लगायतका सबै सामाग्रीहरु शेर्पा आउटडोर स्र्पोट्स कम्पनीले उत्पादन गर्दै आएको छ । यस्तै स्पोर्टसका लागि आवश्यक पर्ने जर्सीहरुको उत्पादन कम्पनीले गर्दै आएको छ ।

पछिल्लो समयमा नेपालमा खेलकुदलाई लिएर बढेको लोकप्रियताका कारण जर्सी प्रयोग गर्नेहरुको सङ्ख्या उल्लेखनयि मात्रामा बढेको छ । जसको सकरात्मक प्रभाव कम्पनीको आम्दानीमा पर्ने देखिन्छ ।

कम्पनीले १ अर्ब ३६ करोड ३३ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ५९ करोड ३३ लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ७७ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।