रिभर्स रिपो र ट्रेजरीले बढायो अन्तर बैंक दर, बैंकिङ क्षेत्रको कुल निक्षेप ५६ खर्ब नजिक

0
Shares

बैंकिङ क्षेत्रको अन्तर बैंक दर पछिल्लो तीन दिनमा साढे २ प्रतिशत विन्दुले बढेको छ । वित्तीय क्षेत्रमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले रिभर्स रिपो र ट्रेजरी बिल्स जारी गरेपछि अन्तर बैंक दर बढेको हो ।

केन्द्रीय बैंकले आइतबार २० अर्ब रुपैयाँ बरावरको रिभर्स रिपो जारी गरेको थियो । उक्त रिभर्स रिपोमा बैंक वित्तीय संस्थाले औसत ब्याजदर बढाएर १४ अर्ब ७० करोडका लागि आवेदन दिएका थिए । तर, केन्द्रीय बैंकले भने १३ अर्ब २० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको थियो । यसमा बैंकहरुले माग गरेको औसत ब्याजदर ४.२७५३ प्रतिशत कायम भएको छ । केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्दा थोरै ब्याज माग्नेलाई प्राथमिकतामा राखेर तरलता प्रशोचन गर्छ ।

त्यसैगरी सोमबार केन्द्रीय बैंकले सरकारलाई आन्तरिक ऋण संकलनका लागि २४ अर्ब ११ करोड रुपैयाँ बरावरको ट्रेजरी बिल्सको निष्कासन गरेको थियो । सोमबारको ट्रेजरी बिल्स मध्ये २८ को औसत डिस्काउन्ट रेट एक प्रतिशत भन्दा धेरै विन्दुले बढेको छ । त्यसैगरी ३६४ दिनको डिस्काउन्ट रेट सामान्य बढेको भएपनि ९१ दिने र १८२ दिनेको भने घटेको छ ।

वित्तीय प्रणालीमा अधिक तरतला भएपछि बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक कारोबार दर घटेर २२ महिना यताकै न्यून २.६५ प्रतिशतमा झरेको थियो । तर, आइतबार र सोमबार गरेर केन्द्रीय बैंकले प्रणालीबाट करिब ३८ अर्ब रुपैयाँ प्रशोचन गरेपछि अन्तर बैंक दर पनि बढेको छ ।

राष्ट्र बैंकका अनुसार आइतबार बैंक वित्तीय संस्थाहरु बीच भएको अन्तर बैंक कारोबारको दर ३.९५ प्रतिशत थियो । सोमबार त्यो दर झनै बढेर ५.११ प्रतिशतमा पुगेको छ ।

बैंकिङ प्रणालीमा भएको पैसा रिभर्स रिपो र ट्रेजरी बिल्स मार्फत नेपाल राष्ट्र बैंकमै फर्किएपछि अन्तर बैंक दर बढको हो ।

गत जेठ २९ गते ५.७४ प्रतिशत रहेको बैंक वित्तीय संस्थाको आन्तरिक सापटको औसत ब्याजदर असार ८ गते ३.०९ प्रतिशत विन्दुले घटेर २.६५ प्रतिशतमा झरेको थियो । अन्तर बैंक दर सोमबार पुन सोही उचाइमा फर्किएको हो।

केन्द्रीय बैंकले तोकेको ७ प्रतिशतको नीतिगत दर भन्दा अन्तर बैंक दर २ प्रतिशत तलमाथि भएको खण्डमा केन्द्रीय बैंकले रिपो र रिभर्स रिपो जारी गर्छ । रिपो मार्फत बजारमा तरलता पठाउँछ भने रिभर्स रिपो मार्फत प्रणालीको पैसा खिच्छ ।

केन्द्रीय बैंकका अनुसार सोमबारसम्ममा वित्तीय प्रणलीको निक्षेप बढेर ५५ खर्ब ८३ अर्ब पुगेको छ । यो सातामा मात्रै वित्तीय प्रणालीमा ८ अर्ब निक्षेप थपिएको छ । तर यो साताका सुरुवा २ दिनमा कर्जा प्रबाह पनि बढेको छ । आइतबार र सोमबार मात्र बैंक वित्तीय संस्थाबाट ६ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।