‘लक्ष्मी सनराइज बैंक’ ले थाल्यो एकीकृत कारोबार

0
Shares

लक्ष्मी बैंक र सनराइज बैंकले आज शुक्रबारदेखि १ः१ अनुपातमा मर्जर भई संयुक्त कारोबार थालेका छन् । तत्कालीन लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड मर्ज भएर लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

लक्ष्मी बैंक र सनराइज बैंकबीच विसं २०७९ पुस २५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका थिए । दुई बैंकलाई मर्ज भएर एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार २२ गते शुक्रबार र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते आइतबार अन्तिम स्वीकृति दिएको थियो । दुई बैंकबीच मर्जरमा जाने अन्तिम सहमति असार ३ गते स्वीकृत भएको थियो । सनराइज बैंकको १०० कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् लक्ष्मी बैंकको १०० कित्ता सेयर प्राप्त गर्नेछन् ।

१ः१ को बराबरी हैसियतमा मर्जरपछि एकीकृत बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड २ लाख रुपैयाँ कायम भएको छ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ छ । मर्जपछि बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड, निक्षेप संकलन २ खर्ब ८७ अर्ब र कर्जा लगानी २ खर्ब ५९ अर्ब रुपैयाँ बढी पुगेको छ ।

मर्जरपछि लक्ष्मी सनराइज बैंकको केन्द्रीय कार्यालय हाल लक्ष्मी बैंक भएकै हात्तीसार स्थित भवनमा रहेको छ । मर्जरपछि बनेको बैंकको अध्यक्षमा हाल लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल रहेका छन् । बैंकमा लक्ष्मी बैंकको तर्फबाट चार जना र सनराइज बैंकको तर्फबाट ३ जना सञ्चालक चयन भएका छन् । लक्ष्मी बैंकबाट डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक चयन भएका छन् । यस्तै, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड सहित इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड लक्ष्मी सनराइज बैंकको सञ्चालक चयन भएका छन् ।

यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाहले निरन्तरता पाएका छन् । मर्जरपछि शाखा संख्या २८४ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।