विश्वव्यापी ट्रेड फाइनान्स ग्याप २५ खर्ब डलर : एडिबी


एशियाली विकास बैंक(एडिबी)ले सार्वजनिक गरेको एक तथ्यांक अनुसार हाल विश्वव्यापी ट्रेड फाइनान्स ग्याप २५ खर्ब डलर रहेको छ । सन् २०२० मा १७ खर्ब डलर रहेको ट्रेड फाइनान्स ग्याप सन् २०२२ मा ८ खर्ब बढेर २५ खर्ब डलर पुगेको हो ।

एडिबीले विश्वभरिका ५० देशका १३७ बैंक र १८५ कम्पनीहरुको सर्भे गरेको हो । सर्भेमा अधिकांश देशहरुले आक्रामक शैलीमा बढेको ब्याजदर, वित्तीय बजारमा देखिएको अनिश्चितता र भूराजनीतिक तनावलाई ट्रेड फाइनान्स ग्यापको प्रमुख कारण मानेका छन् ।

भू–राजनीतिक अस्थिरता, उच्चमंहगी, बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर र अन्यौलता तर्फ लम्किँदै गरेको विश्वव्यापी अर्थतन्त्रले बैंकहरुको ट्रेड फाइनान्स गर्नसक्ने क्षमता घटाउदै गएको छ । कोभिड–१९ का कारण शिथिल भएको अर्थतन्त्रले पुरानो लय लिँदै गर्दा रुस र युक्रेन बीचको युद्धले व्यापार प्रभावित भएको छ भने आकाशिएको महंगी नियन्त्रण गर्नका लागि केन्द्रीय बैंकहरुले आक्रामक शैलीमा ब्याजदर बढाउँदा व्यवसायीहरु ऋण लिएर व्यापार गर्न सक्ने मनसायमा छैनन् ।

यस्तै कोभिड–१९ को समयमा केन्द्रीय बैंकहरुले तरलता अभाव हुन नदिन बैंकमा पठाएको रकम कोभिड–१९ पछि केन्द्रीय बैंकले फिर्ता लिँदा बैंकहरुमा तरलता अभावको समस्या बढेको थियो भने बैंकहरुको ट्रेड फाइनान्सीङ गर्न सक्ने क्षमतामा ह्रास आएको थियो । जसकारण सन् २०२२ मा ट्रेड फाइनान्सीङ ग्याप बढेर २५ खर्ब डलर पुगेको हो ।

सामान्य भाषामा ट्रेड फाइनान्स भन्नाले वस्तुको आयात र निर्यातका क्रममा बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न प्रकारका प्रतीतपत्रको प्रयोग गरी आयात तथा निर्यातको समर्थन गर्नु हो । तर बैंक तथा वित्तीय संस्थाहरुले आयात तथा निर्यातका क्रममा प्रतीतपत्र जारी गर्न ढिला सुस्ती गर्ने, आवश्यक रकमको प्रतीतपत्र जारी नगर्ने र उद्योग तथा व्यवसायीहरुले प्रतीतपत्रको ५० प्रतिशत एड्भान्स रकम बुझाउनु पर्दा उद्योगीहरुले पर्याप्त टे«ड फाइनान्स पाउन सकेका छैनन् । यसो हुँदा उद्योग व्यवसायीहरुले फाइनान्सीङका लागि बैंकलाई अनुरोध गरेको रकम र बैंकले स्वीकृत गरेको फाइनान्सीङमा ठूलो भिन्नता आउँछ जसलाई ट्रेड फाइनान्स ग्याप भनिन्छ ।

पर्याप्त ट्रेड फाइनान्स नहुुँदा वस्तु तथा सामाग्रीको निर्यात सन् २०२१ मा २६.६ प्रतिशतबाट घटेर ११.५ प्रतिशत पुगेको छ । सर्वेक्षण गरिएका बैंक तथा कम्पनीहरूले पर्याप्त वित्तपोषण, भरपर्दो रसद र डिजिटल प्रविधिको प्रयोगलाई लचिलो बनाउन नसक्दा निर्यात घटेको सर्भेले देखाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।