राष्ट्र बैंकले पौने २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले र्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

केन्द्रिय बैंकले उक्त निक्षेप २०८० असोज २ गतेदेखि २०८१ असोज ३ गतेसम्म ३६७ दिन अवधिको लागि राख्न लागेको हो ।

केन्द्रिय बैंकका अनुसार मुद्दती निक्षेपमा राखिने कुल १ अर्ब ७८ करोड रुपैयाँ मध्ये १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकहरुमा, २६ करोड ७० लाख रुपैयाँ विकास बैंकहरुमा र ८ करोड ९० लाख रुपैयाँ फाइनान्स कम्पनीहरुमा राखिने जनाइएको छ ।

मुद्दती निक्षेप लिन राख्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले भदौ २४ गते बेलुका ७ बजेभित्र केन्द्रीय बैंकले तोकेको इमेल ठेगानामा ब्याजदर प्रस्ताव गरिसक्नुपर्नेछ ।

उक्त रकम राख्न राष्ट्र बैंकले केही शर्त समेत राखेको छ । जसमा संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने, न्यूनतम पूँजी कोष कायम गरेको हुनुपर्ने, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने रहेका छन् ।

यसैगरी समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरिसकेको हुनुपर्ने र कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने लगायतका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।