सेन्ट्रल केवाईसीमा सहभागिता बढ्दै, हालसम्म २० संस्थाले गरे सीडीएससीसँग सम्झौता

0
Shares

सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले सञ्चालनमा ल्याएको केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सेन्ट्रल डिजिटल केवाईसी) मा सहभागिता बढ्दै जान थालेको छ ।

साउन १ गतेदेखि सञ्चालनमा आएको उक्त प्रणाली मार्फत ग्राहकले केवाईसी दर्ता प्रतिनिधि मार्फत सेन्ट्रल केवाईसी निर्माण गर्न सकिने व्यवस्था भएपछि हालसम्म २० वटा संस्थाले उक्त प्रणाली मार्फत सेवा दिन सीडीएससीसँग सम्झौता गरिसकेका हुन् ।  भिजन सेक्युरीटिज प्रालि (ब्रोकर नम्बर ३४) ले पहिलो पटक गत साउन १२ गते शुक्रबार सेन्ट्रल केवाइसी कार्यान्वयन गर्नेगरी सम्झौता गरेको थियो । त्यसयता सेन्ट्रल केवाईसी सञ्चालन गर्न थप १९ संस्थाले सीडिएससीसँग सम्झौता गरेका हुन् ।

सीडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सेन्ट्रल केवाईसी सिस्टममा आबद्द भए वापत सर्वासाधारण लगानीकर्ताले कुनैपनि शुल्क तिर्नुपर्दैन । सेन्ट्रल केवाईसी सिस्टममा सहभागि भई उक्त सेवा प्रदान गर्ने निक्षेप सदस्यहरुहरुले भने निवेदन शुल्क वापत सीडिएससीलाई १० हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ ।

सेन्ट्रल केवाईसी सिस्टम मार्फत व्यक्तिगत पहिचान विवरण राख्ने संस्थाहरुले आफ्ना ग्राहकहरुलाई उक्त सेवा निःशुल्क प्रदान गर्नेछन् । डिजिटल केवाईसी सेवा लिन सम्बन्धीत संस्थाहरुका ग्राहकले भने कुनैपनि शुल्क तिर्नुपर्दैन । तर ग्राहकले एक ठाउँमा निर्माण गरेको सेन्ट्रल केवाईसी विवरण अर्को संस्थामा उपयोग गरेवापत भने उक्त सेन्ट्रल केवाईसी नम्बर प्रयोग गर्ने संस्था (ब्रोकर वा डिपी) ले इनिसियटर (केवाईसी निर्माण गरेको संस्था) लाई डाउनलोड गरेवापत १० रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । यसरी भुक्तानी हुने दश रुपैयाँमध्ये ५ रुपैयाँ वेवाईसी निर्माण गर्ने संस्थाले प्राप्त गर्नेछ भने ५ रुपैयाँ प्रणाली निर्माताकर्ता सीडिएससीले प्राप्त गर्नेछ ।

सीडिएससीले पहिलो चरणमा सेन्ट्रल केवाईसी सिस्टममा सबै संस्थाहरुलाई आबद्ध गराएर अगाडि बढ्ने सोच बनाएको प्रवक्ता न्यौपानले बताए । सोही अनुसार इच्छुक संस्थाहरुसँग सम्झौता गर्ने र सिस्टम उपलब्ध गराउने काम भइरहेको उनको भनाई छ । सेन्ट्रल केवाईसी सिस्टम पुरानाभन्दा नयाँ निक्षेप सदस्य (डीपी) हरुको सहभागिता धेरै रहेको उनले बताए । 

सिस्टम निर्मातासँग सम्झौता गरी सबैभन्दा पहिला ग्राहकहरुलाई सेन्ट्रल केवाईसी सिस्टममा आबद्द गराउँदै आएको भिजन सेक्युरीटिजले हालसम्म पौने ६ सय जनालाई उक्त प्रणालीमा आबद्द गराइसकेको छ ।  भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्षका रुपमा राजकुमार तिमिल्सिनाले आफ्नो ब्रोकरमा केवाईसी निर्माण गर्न आउने लगानीकर्ताबाट सकारात्मक प्रतिक्रिया आइरहेको नोटबजारलाई बताए । उनले भने, “ग्राहकहरुबाट राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ । यहाँ आएर ग्राहक पहिचान विवरण (केवाईसी) अपडेट गरेपछि अन्य ब्रोकर वा निक्षेप सदस्यकहाँ पटक पटक केवाईसी भर्न नपर्ने हुनाले अन्य ठाउँमा कारोबार गर्ने ग्राहकहरु पनि हामीकहाँ आएर अपडेट गर्ने क्रम सुरु भएको छ ।” ग्राहकहरुले सेन्ट्रल केवाइसी कार्यान्वयन गरेका ब्रोकर कम्पनीहरुबाटै सहज तरिकाले आफ्नो विवरणहरु उपलब्ध गराएर बायोमेट्रिक, डिजिटल हस्ताक्षर, फोटो खिचेर सेन्ट्रल केवाईसी निर्माण गर्न सक्ने तिमिल्सिनाले बताए ।

S.N Central KYC Agent ID AGENT NAME ADDRESS
1 13500 VISION SECURITIES PVT. LTD Anamnagar ,Kathmandu
2 11400 TRISHAKTI SECURITIES PUBLIC LIMITED Putalisadak,Kathmandu
3 17800 SUNDHARA SECURITIES LIMITED Sundhara,Kathmandu
4 19300 SUN SECURITIES PVT. LTD. Naxal,Kathmandu
5 12900 SHREE KRISHNA SECURITIES LIMITED Dillibazar,kathmandu
6 19200 SHAREPRO SECURITIES PVT.LTD Dalku,Kathmandu
7 11600 SECURED SECURITIES LIMITED PardashaniMarg,Kathmandu
8 19400 PROPERTY WIZARD LIMITED Nagpokhari,Kathmandu
9 14800 PREMIER SECURITIES COMPANY LTD NEW PLAZA,Kathmandu
10 11500 NEPAL STOCK HOUSE PRIVATE LIMITED Putalisadak,Kathmandu
11 15500 NEPAL DP LIMITED Naxal,Kathmandu
12 15700 NEPAL BANK LIMITED Dharmapath,Kathmandu
13 19700 MIYO SECURITIES PRIVATE LIMITED Hattisar,Kathmandu
14 13100 IMPERIAL SECURITIES COMPANY PRIVATE LIMITED Anamnagar ,Kathmandu
15 19600 HIMALAYAN BROKERAGE COMPANY LIMITED Dillibazar,kathmandu
16 18000 GURKHAS FINANCE LIMITED Dillibazar,kathmandu
17 13400 CRYSTAL KANCHANJUNGHA SECURITIES PVT. LTD New Plaza,Kathmandu
18 19500 CAPITAL MAX SECURITIES LIMITED Kamalpokhari,Kathmandu
19 15000 BHRIKUTI STOCK BROKING COMPANY Pvt. Ltd. Newroad,Kathmandu
20 19100 BHOLE GANESH SECURITIES LIMITED Anamnagar,Kathmandu

 

पछिल्लो समय नयाँ हितग्राही खाता खोल्ने क्रम पनि न्यून रहेकाले व्यक्तिगत रुपमा सेन्ट्रल केवाईसी नम्बर लिने सर्वसाधारणको संख्या भने बढ्दो क्रममा नै रहेको छ । आगामी दिनहरुमा यो संख्या थप बढ्दै जाने अपेक्षा गरिएको छ ।  ग्राहक तथा लगानीकर्ताले कुनै एक निकायमा एकपटक व्यक्तिगत विवरण बुझाएपछि पुँजीबजारका अन्य निकायमा पुनः व्यक्तिगत विवरण बुझाउन नपर्ने गरि केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सेन्ट्रल डिजीटल केवाईसी) लागू गरिएको हो ।

अहिले डिम्याट खाता, मेरो सेयर खाता, ब्रोकर खाता (टीएमएस) खोल्दा सम्बन्धीत ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर लागयतका निकायमा लगानीकर्ताले छुट्टा छुट्टै केवाईसी भर्नुपर्ने बाध्यता छ । एउटै ब्रोकरमा डिम्याट खाता तथा ब्रोकर खाता खोल्दा पनि दुई पटक केवाईसी भर्नुपर्ने बाध्यता छ । साथै, एउटा मर्चेन्ट बैंक तथा ब्रोकरमा डिम्याट खाता तथा ब्रोकर खाता (टीएमएस) खोलेको व्यक्तिले अर्को ब्रोकर तथा मर्चेन्ट बैंकरमा डिम्याट खाता पनि केवाईसी भर्नुपर्ने बाध्यता छ ।

यो सेवा लागू भएसँगै ग्राहकहरुले विद्युतीय माध्यमबाट आफ्नो खाता रजिष्ट्रर गर्न सक्नेछन् । ग्राहकको औंठा छाप, विद्युतीय हस्ताक्षर तथा फोटो समेत प्रणालीमा अध्यावधिक हुनेछ । यसरी रजिष्ट्रर प्रकृया पुरा गरे पश्चात ग्राहकलाई प्राप्त हुने सेन्ट्रल केवाईसी नम्बर लिए पश्चात सिडिएस एण्ड क्लियरिङ्गबाट यो सुविधा लिएका अन्य निक्षेप सदस्य, ब्रोकर लगायतका संस्थामा खाता खोल्नु परेमा उक्त नम्बरको प्रयोग गरि सजिलै खाता खोल्न सकिनेछ । यसले पुनः अर्को फारम भर्नुपर्ने झन्झटबाट ग्राहकहरुलाई मुक्ति दिएको छ । यसरी खोलिएका खाताहरुको विवरण समेत अनलाईन लगईन मार्फत ग्राहक आफैँले हेर्न पाउने व्यवस्था समेत छ ।

केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (केवाईसी) सेवा सम्बन्धी कार्यसञ्चालन निर्देशका, २०७७ बमोजिम सीडीएससीले साउन १ गतेदेखि यो प्रणाली तयार गरी लागू गरेको हो । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २०७७ मा एक निर्देशिका जारी गर्दै सीडीएसीलाई सेन्ट्रल डिजीटल केवाईसी लागू गर्न निर्देशन दिएको थियो । त्यसपछि सीडीएससीले सोही निर्देशिका अन्तरगत सेन्ट्रल डिजीटल केवाईसी लागू गर्ने प्रक्रिया अघि बढाएर कार्यान्वयनमा ल्याएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।