बैंकिङ क्षेत्रको कुल कर्जा अपलेखनमा इन्भेष्टमेन्ट मेगा बैंकको मात्रै ४६ प्रतिशत हिस्सा


बैंक तथा वित्तीय संस्थाको कुल कर्जा अपलेखनमा नेपाल इन्भेष्टेमन्ट मेगा बैंकको हिस्सा कुल अपलेखनको झण्डै आधा पुगेको छ । गत आर्थिक वर्षको कुल कर्जा अपलेखन २ अर्ब ८२ करोड २९ लाख रुपैयाँ रहेकोमा नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै एक अर्ब १० करोड रुपैयाँ बराबर देखिएको हो ।

गत आर्थिक वर्षमा बैंकहरुको कर्जा अपलेखन २ अर्ब ८२ करोड ३० लाख रुपैयाँ बराबर रहेको छ । यो कर्जा अपलेखन रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ७५.६६ प्रतिशतले धेरै हो । अघिल्लो आवमा बैंक तथा वित्तीय संस्थाको कर्जा अपलेखन एक अर्ब ६० करोड ७० लाख रुपैयाँ बराबरको थियो ।

बैंक तथा वित्तीय संस्थाले कर्जा असुली नहुँदा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्ने व्यवस्था छ । संस्थाले कर्जा असुल गर्ने सिलसिलामा धितो लिलामी गर्दा लिलाम बिक्री नभएमा आफैँले सकार गर्नुपर्नेछ । यसरी बैंक वित्तीय संस्थाले सकारेको सम्पत्तिलाई गैर बैंकिङ सम्पत्ति भनिन्छ । बैंकहरुले सकार गरेको गैर बैंकिङ्ग सम्पत्तिमा सकार गरेकै मितिदेखि शतप्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्ने हुन्छ । गैर बैंकिङ्ग सम्पत्ति बिक्री भएको अवस्थामा मात्र त्यस्तो सम्पत्तिका लागि सिर्जना गरिएको नोक्सानी व्यवस्थाको आवश्यक हिसाव मिलान गर्नुपर्छ ।

तर, बैंक तथा वित्तीय संस्थाले कर्जा खराब वर्गमा परी १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था भई सकेको, कर्जा असूलीको लागि प्रचलित ऐन तथा नीति बमोजिम धितो सुरक्षणको लिलाम बिक्रीको प्रक्रिया सम्पन्न गरेको र कर्जाको धितो सुरक्षण लिलाम बिक्री हुन नसकेको अवस्थामा अनिवार्य रुपमा धितो सकार गरेर अपलेखन गर्न सक्छन् । बैंक वित्तीय संस्थाले असुल हुन नसक्ने कर्जा निर्धारण गर्ने आधार तयार गरी अपलेखन गर्न सक्छन् । त्यसैगरी खराब कर्जाले भाखा नाघेको मितिले ५ वर्षभन्दा धेरै समय बितेको हुनुपर्छ ।

बैंक तथा वित्तीय संस्थाले लोन राइट अफ गरेर असुल उपर गर्नुपर्ने कुनै कर्जाको बक्यौता रकमलाई त्यस कर्जाको लागि व्यवस्था गरिएको कर्जा नोक्सानी व्यवस्था रकम खर्च गर्ने गरी वा कर्जा नोक्सानी व्यवस्था नभएकोमा वा अपुग भएकोमा नाफा÷नोक्सान हिसाबमा खर्च लेखी हिसाव मिलान गरी आफनो लेखाबाट पूर्ण वा आंशिक रुपमा कटाउने कार्य हो ।

बैंकहरुले कर्जा पनि नउठ्ने र प्रोभिजनिङ गरेको रकमलाई आयमा फिर्ता गर्नका लागि कर्जा अपलेखन गर्छन् । यसले गर्दा बैंकहरुको आम्दानी धेरै देखिन्छ भने खराब कर्जाको अंश घट्न जाने एक बैंकरले नोटबजारलाई बताए । बैंकहरुले खराब कर्जाको अंश धेरै नदेखाउनका लागि कर्जा अपलेखनलाई बढावा दिएको हुन सक्ने ती बैंकरको भनाई छ ।

गत आर्थिक वर्षमा बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै कर्जा अपलेखन गर्ने संस्थामा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । सो अवधिमा बैंकले एक अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा अपलेखन गरेको छ । अघिल्लो आवमा इन्भेष्टमेन्ट बैंकले मात्रै ९० करोड ४१ लाख रुपैयाँ कर्जा अपलेखन गरेको थियो । मेगा बैंकले १२ करोड ४७ लाख रुपैयाँ बरावरको कर्जा अपलेखन गरेको थियो । अघिल्लो आवमा अलग संस्थाको रुपमा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक गत आवमा मर्जर भइ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रुपमा सञ्चालनमा आएको हो ।

अघिल्लो आर्थिक वर्षको दुबै संस्थाको कर्जा अपलेखनमा जोड्दा १ अर्ब २ करोड ८८ लाख रुपैयाँ बराबरको थियो । गत आवमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा अपलेखन बढेर १ अर्ब ३० करोड पुगेको छ । अघिल्लो आवको तुलनामा गत आवमा बैंकको कर्जा अपलेखन २७ करोड २२ लाख अर्थात २६ प्रतिशतले धेरै हो ।

त्यसैगरी गत आवमा कर्जा अपलेखन नगर्ने बैंक तथा वित्तीय संस्थाको संख्या ३४ रहेको छ । गत आवमा ७ वाणिज्य बैंक, १० विकास बैंक र १५ फाइनान्स कम्पनीले कर्जा अपलेखन गरेका छैनन् । बैंक तथा वित्तीय संस्थालाई जग्गा ग्रहण गर्ने सीमाका कारण कर्जा अपलेखन कम भएको हो । सरकारले बैंक वित्तीय संस्थालाई १५० रोपनी जग्गा मात्र ग्रहण गर्न सक्ने सीमा नराखेको भए गैर बैंकिङ सम्पत्ति तथा कर्जा अपलेखन उल्लेख्य बढ्ने अवस्था थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।