काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा सञ्चालनमा रहेका २८ वटा भन्सार नाकामध्ये अधिकांश आयातका लागि मात्रै प्रयोगमा रहेको पाइएको छ ।
चालु आर्थिक वर्ष २०८१\८२ को ११ महिना (साउन–जेठ) को अवधिमा २८ वटा नाकाबाट आयात हुँदा १८ वटा नाकाबाट निर्यात भएको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अन्तर्राष्ट्रिय व्यापारका लागि सञ्चालनमा रहेका सबै नाकाबाट आयात हुन्छ । तर, १० वटा भन्सार नाकाबाट निर्यात शून्य छ ।
सो अवधिमा चोभार, गौतमबुद्ध विमानस्थल, जनकपुर, महेशपुर, राजविराज, सुनसरी, सुथौली, तातोपानी, टाँढी र त्रिवेणी नाकाबाट शून्यनिर्यात छ ।जबकियी नाकाबाट आयात भने उल्लेख्य छ ।
शून्य निर्यात भएका नाकामध्ये तातोपानी नाकाबाट ४६ अर्ब ८९ करोड रुपैयाँको आयात भएको छ । यस्तै, सुथौली नाकाबाट ४ अर्ब ५८ करोड र सुनसरी भन्सारबाट १ अर्ब ९६ करोड रुपैयाँको आयात भएको छ भने चोभार भन्सारबाट १ अर्ब ५२ करोड रुपैयाँको वस्तु आयात हुँदा जनकपुर नाकाबाट १ अर्ब ५१ करोड रुपैयाँको वस्तु आयात भएको हो ।
त्यसैगरी, महेशपुर नाकाबाट ५२ करोड ६७ लाख रुपैयाँको वस्तु आएको छ भने राजविराज नाकाबाट १९ करोड ६० लाख रुपैयाँको वस्तु भित्रिएको छ । यस्तै गौतमबुद्ध विमानस्थलबाट ७ करोड ९९ लाख रुपैयाँ, टाँढीबाट २ करोड ४१ लाख रुपैयाँ र त्रिवेणी भन्सारबाट २ लाख रुपैयाँभन्दा बढीको आयात भएको छ ।
यी हुन् धेरै मात्रामा आयात हुने भन्सार
भन्सार विभागको तथ्यांक अनुसार नेपालले आयात गर्ने खर्बौं रुपैयाँको वस्तुमध्ये सबैभन्दा धेरै वीरगन्ज नाकाबाट आउँछ । चालु आर्थिक वर्षको ११ महिनामा कुल १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको सामान आयात हुँदा ५ खर्ब ६४ अर्ब ७५ करोड रुपैयाँको सोही नाकाबाट आयात भएको छ ।
यसपछि भैरहवा नाकाबाट २ खर्ब ४० अर्ब ४८ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ड्राइपोर्ट भन्सारबाट २ खर्ब ४अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात भएको छ ।
त्यस्तै, विराटनगरबाट १ खर्ब ८९ अर्ब ८६ करोड रुपैयाँ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ३० अर्ब ५६ करोड रुपैयाँको वस्तु आयात भएको छ ।
धेरै मात्रामा निर्यात हुने भन्सार
चालु आवको ११ महिनामा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड बराबरको वस्तु बाहिरिएको छ । त्यसमा आयात जस्तै वीरगन्ज नाकाबाटै सबैभन्दा धेरै वस्तु बाहिरिएको छ । तथ्यांक अनुसार ११ महिनाको अवधिमा वीरगन्ज नाकाबाट ९१ अर्ब ५० करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
त्यस्तै, विराटनगर भन्सारबाट ६५ अर्ब १८ करोड रुपैयाँको सामान बाहिरिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३२ अर्ब २९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।
मेची भन्सारबाट २३ अर्ब २८ करोड रुपैयाँको र भैरहवा भन्सारबाट १८ अर्ब ५८ करोड रुपैयाँको वस्तु तथा सामान बाहिरिएको छ ।
प्रतिक्रिया