असोजमा ब्याजदर घट्ने, संस्थागत निक्षेप परिपक्क भएका केही बैंकहरुले भने बढाउन सक्ने

0
Shares

चालु आर्थिक वर्षको असोज महीनामा बैंकहरुले ब्याजदर घटाउने भएका छन् । बैंकिङ प्रणालीमा थपिएको निक्षेप तथा ठप्प जस्तै रहेको कर्जाको मागका कारण असोज महीनामा ब्याजदर घट्ने निश्चित भएको हो ।

चालु आर्थिक वर्षको दोस्रो महीना भदौको २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब कर्जा लगानी गरेको अवस्था छ । तर, बैंक वित्तीय संस्थाले सो अवधिमा ७४ अर्ब रुपैयाँ निक्षेप बढाएका छन् । भदौ महीनामा बैंक वित्तीय संस्थाको कुल कर्जा लगानीको दोब्बरले निक्षेप थपिएको छ ।

वित्तीय प्रणालीमा उल्लेख्य निक्षेप थपिएको र कर्जाको माग बढ्न नसक्दा असोज महीनाका लागि ब्याजदर घट्ने निश्चित छ ।

त्यसैगरी वित्तीय प्रणालीमा थपिएको स्रोतका कारण ट्रेजरी बिल्सको ‘डिस्काउन्ट रेट’ साढे ६ प्रतिशतको हाराहारीमा तथा विकास ऋणपत्रको ‘कट अफ रेट’ मा ७ प्रतिशतमा कायम रहेको छ । त्यसका साथै अन्तर बैंक करोबार दर समेत ६.१६ प्रतिशतमा झरेको छ ।

यी तथ्यका आधारमा पनि ब्याजदर घट्ने निश्चित छ । तर, असोज महीनामा केही बैंकहरुको ठूलो आकारको संस्थागत निक्षेप परिपक्क हुने अवस्था छ । त्यसले गर्दा खुला छाडिएको अवस्थामा केही बैंकहरुले ब्याजदर बढाउनसक्ने नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । “बजारमा देखिएको तरलताले ब्याजदर घट्ने देखिन्छ,” उनले भने,“संस्थागत निक्षेप परिपक्क हुने अवस्था भएकाले केही बैंकहरुले निक्षेप जोगाउनका लागि भएपनि ब्याजदर बढाउन सक्ने अवस्था छ ।”

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले असोजमा ब्याजदर बढाउँदा पनि भदौ महीनामा तोकिएको ब्याजदरको १० प्रतिशतले मात्र वृद्धि गर्न सक्छन् । भदौ महीना बैंकहरुको बचतको औसत ब्याजदर ५.५ प्रतिशत छ भने मुद्दती निक्षेपको औसत ब्याजदर १०.३० प्रतिशत छ । सिजन आएपनि कर्जाको माग बढ्न नसकेकाले ब्याजदर घट्नुपर्ने शर्माको भनाई छ । स्थानिय तहको सञ्चितिलाई ६० प्रतिशतसम्म निक्षेपमा गणना गर्न पाउने व्यवस्था पनि भएको बताउँदै उनले भने, “तर, ठूलो आकारको संस्थागत निक्षेप परिपक्क हुने र ब्याजदर नबढाउँदा निक्षेप अर्को संस्थामा जाने जोखिम हुने भएकाले सबै बैंकले घटाउँछन् भनेर भन्न नसकिने अवस्था छ ।” कर्जाको माग नहुँदा पनि भएको निक्षेप बाहिरिँदा बैंकहरुलाई नियामकीय सीमाहरु कायम गर्न गाह्रो हुने भएकाले केही बैंकले अलिकति बढाउन सक्ने सम्भावना रहेको उनको बुझाई छ ।

भदौ महीनाको अन्तिम सोमबार मात्रै बैंकिङ प्रणालीका ४३ अर्ब निक्षेप थपिएको छ । यो पैसा स्थानिय तहको सञ्चितिलाई निक्षेपमा गणना गर्दा बढेको हो । उक्त निक्षेप थपिएसँगै बैंक वित्तीय संस्थाको कुल निक्षेप ५६ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी सोही दिन बैंक वित्तीय संस्थाबाट ४ अर्ब कर्जा लगानी बढेर कुल कर्जा ४८ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । यो साताको सोमबार बैंक तथा वित्तीय संस्थाको औसत कर्जा निक्षेप (सीडी) अनुपात पनि घटेर ८३.१४ प्रतिशतमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।